३३ वर्षिय युवाको काँधमा पैंयुको जिम्मेवारी- पैंयु क्षेत्रको पूर्वाधार विकासमा मेरो मुख्य जोड ः अध्यक्ष ठकुरी - News site from Nepal

पर्वत : २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनबाट केही बढी युवाहरू जिल्लाका विभिन्न स्थानीय तहको निर्वाचनमा पुगेका छन् । दलीय राजनीति भन्दा केही माथि उठेर मतदाताले पनि युवाहरूलाई निर्वाचित गरेका छन् । राजनीतिक संस्कारको विकास, समानुपातिक समृद्धि, युवाहरूको मागको सम्बोधन लगायतका कुरामा आम नागरिकले युवा जनप्रतिनिधिबाट आसा गरेका छन् ।
नेतृत्वमा पुगेका युवा जनप्रतिनिधिहरूले पनि आफूहरू भर्खरै निर्वाचित भएको र अब विज्ञहरूको सुझावको आधारमा चुनावी घोषणापत्र अनुसारको कामहरूको थालनी गर्ने बताएका छन् । यसैमध्येका एक जना हुन पर्वतको पैयुँ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ३३ वर्षिय तोरण मल्ल ठकुरी ।

निर्वाचित भएसँगै उनले पूर्वाधार निर्माणको कामलाई तिब्रता दिँदै नागरिकको जनजीवीकालाई सहज बनाउन थप काम गर्ने बताएका छन् । बर्खा याममा वर्षाका कारण अवरोध हुने सडकका कारण नागरिकले दुःख पाएकाले आउँदै गरेको बर्खा याममा यसको सही व्यवस्थापन गरी पहिलो कामको थालनी गर्ने उनको योजना छ । सबै ठाउँमा सडकको विस्तार भए पनि सडक बिग्रिँदा खाद्यान्न ओसारपसार, सरकारी निकायमा आउजाउ, स्वास्थ्य संस्थामा पुग्नुपर्ने अवस्था लगायतका समस्या हुने भएकोले पूर्वाधार निर्माण अन्तर्गतको यो कामलाई प्राथमिकतामा राखेको उनको भनाई छ ।
‘पूर्वाधारका कारण नागरिकले दुःख पाउनुपरेको छ । धेरै ठुलो योजनाभन्दा पनि नागरिकले सजिलो भएको महसुस गर्ने काम पहिले गर्नुपर्छ । सडक जीवनको आधार बनेको छ फेरि गरिहाल्न सकिने काम पनि हो,’ उनले भनेका छन्, ‘वडा कार्यालयको सेवालाई प्रभावकारी बनाउने, स्वास्थ्य र शिक्षामा गुणस्तर, हरेक नागरिकलाई उत्पादनसँग जोडेर बेरोजगारी समस्याको हल गर्ने कुरा पनि मेरो प्राथमिकतामा छन् ।’
उत्पादन र रोजगारीसँग हरेक नागरिकलाई जोडेर बेरोजगारी र परनिर्भरताको समस्यालाई हटाउन आफूले योजनाहरु ल्याउने ठकुरीको भनाई छ । सरकारी कार्यालयबाट प्रवाह हुँदै आएका सेवाहरुलाई झनै छिटो र छरितो बनाउने, दिगो विकास र दिगो परियोनाका माध्यमबाट गाउँपालिकालाई समृद्ध र नमूना स्थानीय तह निर्माण गर्न आफ्नो सिंगो समूह लागीपर्ने प्रतिबद्धता पनि उनले ब्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!