फलेवास नगरपालिकामा नगर प्रमुख र उप प्रमुखको पदभार ग्रहण - News site from Nepal
फलेवास नगरपालिकामा नगर प्रमुख र उप प्रमुखको पदभार ग्रहण

रामचन्द्र भुसाल,
पर्वत – फलेवास नगरपालिकामा नव निर्वाचित नगर प्रमुख र उप प्रमुखले पदभार ग्रहण गर्नुभएको छ । शुक्रबार नव निर्वाचित नगर प्रमुख गंगाधर तिवारी र उप प्रमुख शोभा क्षेत्रीले पद बहाली गर्नुभएको हो ।
पद बहाली सँगै नगर प्रमुख तिवारीले जनताहरुलाई सरल तरिकाबाट सेवा दिनको लागि नागरिक सहायता कक्ष स्थापना गर्ने प्रतिवद्धता जनाउनुभएको छ । स साना कामहरु गरे जनताहरुको समस्या समाधान हुने भन्दै उहाँले अब जन–जनको आवश्यकता हेरेर काम गर्ने बताउनुभयो ।
साथै उहाँले आँफु नगरप्रमुख भएपछि पाउने सेवासुविधाहरु जनताका नाममा लगानि गर्ने कुरामा जोड दिँदै आफु जनताको सेवक भएर काम गर्ने प्रष्ट पार्नुभयो । पद बहाली पछि उप–प्रमुख शोभा क्षेत्रीले नगरपालिकामा सञ्चालन हुने योजनाको चुस्त दुरुस्त रुपमा अनुगमन गरिने र न्याय क्षेत्रमा फलेवास वासिहरुलाई ढुक्क र सुरक्षित हुने वातावरण सिर्जना गर्ने जानकारी दिनुभयो ।
आफ्नो अधिकार क्षेत्रभित्र परेका काम कर्तव्य र अधिकारलाई आफूले भरपुर सदुपयोग गरी नागरिकहरुलाई सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाउँदै उहाँले सवै पक्षका गुनासाहरुलाई आत्मसात गरेर अगाडि बढ्ने बताउनुभयो ।
नव निर्वाचित नगर प्रमुख तिवारीले नगर उप प्रमुख शोभा क्षेत्री सहित ११ वटै वडाका वडाध्यक्ष, खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको हो । सपथ ग्रहण पछि सबै जनप्रतिनिधिहरुले एक आपसमा हातेमालो गर्दै जनताको सेवा गर्ने प्रतिवद्धता जनाएका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल बिहिबार राति १२ बजेदेखि सकिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!