पर्वतमा जीप दुर्घटनामा घाइते थप १ जनाको ज्यान गयो आफन्तद्वारा पोखरा-पर्वत सडकखण्ड अवरुद्ध - News site from Nepal

पर्वत –  पर्वतको कुश्मा नगरपालिका-८ चुवाको परादी नजिकै बुधबार भएको जीप दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । घाइते यात्रुको ज्यान गएपछि मृतकका आफन्तहरुले मध्यपहाडी लोकमार्गको पोखरा पर्वत खण्ड अवरुद्ध गरेका छन् ।
बिहिबार साँझ ५ बजेदेखि सडक अबरुद्ध हुँदा लामो तथा छोटो दुरीका यात्रुहरु गन्तव्यसम्म पुग्न नपाएपछि सडकमा नै अलपत्र अवस्थामा रहेका छन् । मृतकका आफन्तहरुले क्षतिपूर्ति सहित समयमा दोषीलाई कारबाहीको माग गर्दै सडक बन्द गरेका हुन् ।
बुधबार बाग्लुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको जीप पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बससँग जुध्दा दुर्घटना भएको थियो । दुर्घटनामा बाग्लुङ जिल्ला काठेखोला गाउँपालिका वडा नं. ४ तंग्रामका ३१ वर्षीय लालबहादुर थापाको पर्वत अस्पतालमा ल्याउँदै गर्दा बुधबार नै ज्यान गएको थियो भने बिहिबार पोखरामा उपचारका क्रममा त्यही ठाउँकी २५ वर्षीया प्रतिक्षा पुनको ज्यान गएको हो । अन्य १२ जना यात्रुहरु उपचाररत रहेका छन् । उपचाररत केही घाइते यात्रुको अवस्था अझै गम्भीर रहेको छ ।
घाइतेहरुलाई उपचारका लागि रोटरी क्लब अफ पर्वतको एम्बुलेन्समा रोटरी क्लब पर्वतका संस्थापक अध्यक्ष सहितको टोलीले पोखरासम्म उद्धार गरेको थियो । ट्राफिक प्रहरी कार्यालय पर्वतका हवल्दार कमल क्षेत्रीका अनुसार बस गलत लेनमा रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!