मालढुङ्गा-बेनी सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने - News site from Nepal
मालढुङ्गा-बेनी सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने

पर्वत-ः हिमालपारीको जिल्ला मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडक दैनिक चार घण्टा बन्द हुने भएको छ ।
स्तरोन्नती भैरहेको मालढुङ्गा-बेनी सडक चौडा गर्न चट्टान काट्नपर्ने भएकाले दैनिक चार घण्टा बन्द गर्न लागिएको कालीगण्डकी करिडोर बेनी जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतीले जानकारी दिनुभयो । निर्माणको कामलाई सहज रुपमा गति दिन आगामी आज असार ३ गतेदेखि असार ३२ गतेसम्म दैनिक चार घण्टा सवारी आवत जावत बन्द गर्ने निणर्य भएको प्रजापतीले जानकारी दिनु्भयो ।
आयोजना कार्यालयले बुधवार सूचना जारी गर्दै असार ३२ गतेसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजे सम्म मालढुङ्गा-बेनी सडकमा यातायात बन्द गर्ने निणर्य भएको जानकारी दिएको छ । सवारी साधनको चापले सडक बिस्तारको काम प्रभाबित बनेपछि बेनी-जोमसोम-कोरला सडक आयोजनाले प्रशासनको अनुमतीमा सडक बन्द गर्ने सूचना जारी गरेको हो । १३ किलोमिटर दुरिको सडक स्तरोन्नती र कलोपत्रेको काम भैरहेको छ । सवारी आवत जावत बन्द गरिएको अवधिमा सवारी साधनको डाइभर्सन र ब्यवस्थापनका लागि सुरक्षा निकाय तथा सहजिकरणका लागि पर्वत, म्याग्दी, बागलुङ र कास्की जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिने भएको छ ।
एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा बिकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजिकरण गरिने भएको छ । मालढुङ्गा-बेनी सडक बन्द भएको समयमा बागलुङ-रत्नेचौर-बेनी हुँदै बैकल्पिक सडक प्रयोग गर्न सकिन्छ ।
एपेक्स-खड्का कृष्ण जेभीको सहायक ठेकेदार कम्पनी ओमकारेश्वरका सञ्चालक अमृत दाहालले वर्षायाम शुरु भएपनि सडक निर्माणलाई तिब्रता दिन सवारी साधन रोकेर काम गर्न समय मागिएको बताउनुभयो ।
कुश्मा नगरपालिका-१ मा पर्ने मालढुङ्गा देखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक बिस्तार, सुधार गरि दुई लेनको बनाउन लागिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ । मालढुङ्गा-बेनी सडक चिन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी कोरीडोर अन्तरगत पर्छ ।
२०७७ चैतमा रु. ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले बिभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरेर सडक बिस्तार, पर्खाल र नाली निर्माणको काम गरिरहेको छ । हाल पिच सहित करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रबिधीको कालोपत्रे गर्न लागिएको हो ।
बि.स. २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्तरगत शुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्रे भएको मालढुङ्गा-बेनी सडक पछिल्लो समय जिणर् अवस्थामा थियो । सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले सवारी साधन आवत जावत प्रभावित हुने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!