आज माघे संक्रान्ती, माघी मुलुकभर धुमधामका साथ मनाईदै - News site from Nepal
आज माघे संक्रान्ती, माघी मुलुकभर धुमधामका साथ मनाईदै

पर्वत – आज माघे संक्रान्ति । आजको दिनलाई मकर संक्रान्ति र माघी पनि भनिन्छ । यो नेपालको प्रमुख चाड मध्ये एक हो । यो माघ महिनाको पहिलो दिनमा मनाइन्छ ।

ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरे पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।

यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । तथापि आजभोलि पुस ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन सुरु हुन्छ ।

माघे-मकर संक्रान्तिको अवसरमा आज देशभरका नदी स्नान गरी मन्दिरमा पूजाआजा गरिन्छ । साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर मनाउने गरिन्छ । भविष्य पुराण, विष्णु वचन तथा धर्म सिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिद्धा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोसिलो हुनुका साथै निरोगी हुने उल्लेख छ ।

संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने मान्यता छ । मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ । महाभारत अनुसार भीष्मले यहि दिन मृत्यु रोजेका थिए भने भगिरथले सोही दिन गंगालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए ।

नेपालमा माघे संक्रान्तिलाई भौगोलिक, जातीय र सांस्कृतिक विविधताका कारण भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन छ । यस पर्वलाई थारु जातिले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर जातिले मुख्य रूपमा धुमधामको साथ मनाउने यो पर्वलाई माघ्या-सेर्ल्हेस पनि भनिन्छ । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातिले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!