सरकारको आदेश लत्याउँदै पर्वतको कुश्मा नगरपालिकाले विद्यालय बन्द नगर्ने - News site from Nepal

पर्वत- सङ्घीय सरकारले माघ १५ सम्म देशभरका शैक्षिक संस्था बन्द गर्न भने पनि कुश्मा नगरपालिकाले भने विद्यालय नगर्ने भएको छ ।
कोभिड-१९ को संक्रमण बढ्दै गएपछि संघीय सरकारले देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेको थियो । बिहीबार कुश्मा नगरपालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकलाई छलफलका लागि बोलाएर नगरपालिका विद्यालय बन्द नगर्ने निणर्यमा पुगेको हो ।
मन्त्रालयको आदेशअनुसार बन्द गर्ने वा नगर्ने भन्ने विषयमा छलफलका लागि बोलाइएको बैठकमा सबै प्रधानाध्यापक विद्यालय बन्द नगर्ने पक्षमा उभिएका कारण विद्यालय बन्द नगर्ने निणर्य भएको कुश्मा नगरपालिकाको नगर शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले बताउनुभयो ।
‘अहिले विद्यालय बन्द नगर्ने, इसिडीका शिक्षक पनि चार बजेसम्म नै विद्यालयमा बस्ने निणर्य भयो । सङ्क्रमित भइहाले तत्कालै प्रअले एक हप्ताका लागि विद्यालय बन्द गरेर नगरपालिकालाई फोन गरेर जानकारी दिन सकिने नियम बनाइएको छ’, उहाँले भन्नुभयो, ‘वार्षिक बिदाबाट कट्टी हुने गरी बन्द गर्ने भनिएका कारण उनीहरू विद्यालय बन्द नगर्ने कुरामा एकमत भए ।’
जिल्ला प्रशासन कार्यालयले भने यसअघि नै सूचना निकालेर बढीमा २५ जनाभन्दा भेला हुन नपाउने गरी निर्देशन दिइसकेको छ । जब कि सदरमुकाममा रहेको नारायण माध्यमिक विद्यालयमा करिब १३ सय र शिवालय माध्यमिक विद्यालयमा झन्डै पाँच सय विद्यार्थी एकैपटक भेला हुन्छन् ।
प्रशासनले २५ जनाभन्दा बढी भेला हुन नपाउने भनेर दिएको आदेश उल्लङ्घन हुने बारेको प्रसङ्गमा नगर शिक्षा अधिकारी तिवारीले विद्यार्थीलाई सामाजिक दुरी कायम गरेर पठनपाठन गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सार्वजनिक ठाउँमा त अभिभावक, हामी अरू पनि २५ जनाभन्दा भेला भइन्न । अब विद्यालयमा त एसेम्बली नगर्ने कुरा भएको छ । विद्यार्थीहरू एउटा कोठामा ४०/५० जना त भइहाल्छन् नि ।’
उता प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले भेला नहुन र मन्त्रालयको आदेशअनुसार गर्ने भनेर निर्देशन दिइएको तथा त्यसको व्यवस्थापन स्थानीय तहलाई नै गर्न भनिएको बताउनुभयो । ‘उहाँहरूले माथिको निणर्य मान्नुपर्ने हो । यो कुरा सुन्दा साथ मैले मेयर साबलाई बोलाएर पनि कुराकानी गरेँ । जवाफमा उहाँले प्रअहरूले विद्यार्थी छ्ट्टाछुट्टै राखेर जिम्मा लिएर सञ्चालन गर्छौँ भनेर बन्द गर्न मानेन भन्नुभयो । समस्या आइहाले तत्कालै तपाईँहरूले आदेश दिए मान्छौँ भन्नुभएको छ’, उहाँले भन्नुभयो, ‘हामीबीच समन्वय भएन कि भनेर पनि उहाँसँग कुरा गरेँ ।
विद्यालयमा सयौँ विद्यार्थी भौतिक रूपमा उपस्थित भएको वेला साना खालका मेला वा पिकनिक कार्यक्रम गर्न नजिर बस्ला नि भन्ने प्रश्नमा प्रजिअ खत्रीले विद्यालयको बारेमा माथिबाट नै आदेश आएका कारण सोहीअनुसार गर्ने भनिएको र यहाँबाट छुट्टै आदेश दिनु नपरेको बताउनुभयो ।
अभिभावकहरूले भने विद्यालय जाने १२ वर्षमुनिका बालबालिकाले खोप नलगाएका कारण अहिले समुदायको सबैभन्दा जोखिम क्षेत्र विद्यालय नै रहेको बताएका छन् । सरकार र स्थानीय प्रशासनले विज्ञहरूकै सुझावअनुसार विद्यालय बन्द गर्न भनेकाले विज्ञहरूले दिएको सुझाव गलत नहुने उनीहरूको भनाइ छ ।
ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीको बाक्लो चाप नहुने तथा बाहिरी जिल्लाबाट विद्यार्थीहरू खासै नजाने भए पनि सदरमुकाममा रहेका विद्यालयमा भने विद्यार्थीको चाप उच्च हुनाले सङ्क्रमण बढ्न सक्ने स्वास्थ्यकर्मीहरूको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!