प्रमुख समाचार

पर्वतमा नेपाली काँग्रेसको चुनावी चहलपहल बढ्यो

By लोकतन्त्र अनलाईन

August 29, 2021

पर्वत – नेपाली काँग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत वडा तहको निर्वाचन भदौ १८ गते गर्ने निश्चित भएपछि जिल्लामा काँग्रेस कार्यकर्ताहरुको भेटघाट र छलफल बाक्लिन थालेको छ । वडा समितिका वैठकहरु शनिवारबाटै शुरु भएका छन् । पार्टीको महाधिबेशनको मिति पटकपटक सर्ने गरेकोमा धेरैलाई महाधिबेशन हुँदैन कि भन्ने आशंका थियो । शनिवार पार्टीले भदौ १८ मा वडाको अधिबेशन गर्ने सुनिश्चित गरेपछि जिल्लामा चुनावी रौनक एक्कासी तातेको हो । वडाको अधिवेशन आउन अब ५ दिन बाँकी रहेको हुनाले हतारहतारमा भेला र छलफल हुन थालेका हुन् । कुश्मा नगरपालिका ७ ले शनिवार आमभेला डाँकेर भदौ १४ गते पुनः छलफल गरि आगामी नेतृत्वको बारेमा ठोस निणर्य गर्ने निणर्य गरेको छ । पार्टी सभापति सागर गिरीले वडा समितिको बैठक डाँकेर महाधिबेशनको तयारी शुरु भएको बताउनुभयो । कुश्मा नगरपालिका ५ ले पनि शनिवारनै आगामी महाधिबेशनका बारेमा क्रियाशिल सदस्यहरु बिच छलफल गरेको छ । फलेवास ३ शंकरपोखरीमा पनि चुनावी छलफलका लागि भदौ १५ गते आमभेला डाँकिएको वडा सभापति अर्जुनवहादुर कार्कीले जानकारी दिनुभयो । जलजला गाउँपालिका-८ नाग्लीवाङमा शनिवारबाटै तयारी शुरु भएको सभापति रामप्रसाद क्षेत्रीले जानकारी दिनुभयो । कुश्मा, जलजला र फलेवासमा मात्रै हैन जिल्लाका ७ स्थानीय तहका ६१ वटै वडामा काँग्रेसको महाधिबेशनको तयारी शुरु भएको हो । सहमती हुने ठाउँमा सहमती र सहमती नभएको खण्डमा निर्वाचन गरेर नेतृत्व चयन गरिने जिल्ला सभापति खिमप्रसाद भुसालले जानकारी दिनुभयो । वडागत रुपमा छानिने पदाधिकारी र जिल्ला अधिबेशनमा सहभागी हुने प्रतिनिधी चयन गर्ने बारेमा गाउँमा छलफलहरु शुरु भएका छन् । नेपाली काँग्रेसको महाधिबेशनका लागि केन्द्रले जिल्ला निर्वाचन अधिकारी तोकिसकेको छ । निर्वाचनका लागि आवश्यक कागजात तथा सामाग्रीहरु केन्द्रले जिल्लाहरुमा पठाउन शुरु गरेको छ । काँग्रेसको अवको नेतृत्व कस्तो बनाउने भन्नेबारेमा गाउँ देखि जिल्ला सदरमुकाममा आजबाट चर्चा परिचर्चा बढ्न शुरु भएको छ । जिल्लाका ६१ वटा वडा, दुई निर्वाचन क्षेत्रका क्षेत्रीय कार्यसमिति, सातै स्थानीय तहका नगर तथा गाउँ कार्यसमिति र जिल्ला कार्यसमिति चयनका लागि क्रियाशिल सक्रिय बनेका छन् ।