पर्वतको ठुलीपोखरीमा झण्डै २ करोडमा बनेको सिंचाई आयोजना असफल, कृषक निरास - News site from Nepal

पर्वत- पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा निर्माण सम्पन्न भएको सिंचाई आयोजना दुई वर्ष नहुँदै असफल बनेको छ ।
साबिक ठूलीपोखरीको वडा नं. २ स्थित बुमी र टारमा रहेको खेतवारीमा सिंचाई सुविधा उपलव्ध गराउने उद्धेश्यले निर्माण गरिएको बुढीखोला-तिजुखोला सिंचाइ आयोजना असफल भएको हो । गण्डकी प्रदेशको भौतीक पूर्वाधार मन्त्रालय अन्तर्गतको जलश्रोत तथा सिंचाई विकास डिभीजन कार्यालयबाट आर्थिक वर्ष ०७५/७६ मा निर्माण भएको सिंचाई नहर गलत डिजाईनका कारण असफल बनेको स्थानीको गुनासो छ । सिंचाई नहरको मुहानवाट खेतवारीसम्म पानी पास नभएपछि आयोजना प्रयोगबिहीन बनेको स्थानीय दिपक शर्माले जानकारी दिए ।
उक्त आयोजना रु.१ करोड ८२ लाख रुपैयाको लागतमा पर्वतमाला कन्ट्रक्सन प्रालिले निर्माण गरेको हो । आयोजनाको झण्डै २ किलोमिटर नहर मध्ये बीच भागमा निर्माण गरिएको ट्यांकीवाट खेततर्फको भागमा पानी नचढेको हो । ट्यांकीभन्दा नहर उच्च भागवाट खनिएका कारण सिंचाई गर्ने खेतसम्म पानी आउन नसकेको कृषकहरुको गुनासो रहेको छ । त्यस्तै अन्य ठाउँमा पनि नहर भत्किने, चुहिने, पाईप विच्छ्याईएका ठाउँहरुमा पाईप बगाउने र बुझिने समस्या रहेको उनले बताए ।
उक्त आयोजनाको मुल नहर दुई किलोमिटर र शाखा नरह १ किलोमिटर रहेको छ । जसमध्ये ८ सय मिटर आरसीसी र १२ सय मिटर पाईपमार्फत ट्यांकीसम्म पानी ल्याईएको थियो । सिंचाई आयोजनाबाट साविक ठुलीपोखरी गाविस वडा नं. २ का एक सय भन्दा बढि घरपरिवारको झण्डै १ हजार हेक्टर जमिनमा सिंचाई गर्ने लक्ष्य राखेर निर्माण गरिएपनि गलत नहरवाट पानी सुचारु नभएका कारण समस्या भएको उपभोक्ताहरुको दुःखेसो छ ।
सिंचाईको अभावमा अहिले मुस्किलले एक खेती मात्रै हुँदै आएको उक्त फाँटमा आयोजना निर्माण पश्चात तीन खेती अन्न र व्यावासायिक रुपमा तरकारी उत्पादन गर्न सकिने लक्ष्य रहेपनि आयोजना असफल भएपछि स्थानीय निरास बनेका छन् ।
यता जलश्रोत तथा सिंचाई विकास डिभीजन कार्यालयले भने स्थानीय उपभोक्ताहरुले नै निर्माण गरेको आयोजना भएकाले कार्यालयलाई दोषारोपण गर्न नहुने जनाएको छ । कार्यालय प्रमुख थलबहादुर तामाङले सामान्य रुपमा पाईप तथा नहर बुझिएर पानी नचलेको भए उपभोक्ताहरुलेनै मर्मत गर्न सक्ने बताउँदै डिजाईनको हिसावले कुनै समस्या नरहेको बताए । उनले सामान्य खालको मर्मत उपभोक्ता समितिलेनै गर्न सक्ने बताउँदै थप मर्मत गर्नुपर्ने भएमा अनुगमन र मुल्यांकनपछि निणर्य गर्न सकिने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!