पर्वतमा बालविवाह र बहुविवाह न्यूनिकरणका लागि ब्राम्हण, पुरोहितसँग अन्तरक्रिया - News site from Nepal

पर्वत-बालविवाह र बहुविवाह न्यूनिकरणका लागि ब्राम्हण, पुरोहितहरुको भूमिका महत्वपुणर् हुने सोमवार कुश्मामा आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतले पहिलोपटक आयोजना गरेको बालविवाह र बहुविवाह सम्वन्धि अन्तरक्रियामा सहभागिहरुले हरेक विवाहहरुमा केटा र केटीबीचको सम्वन्ध स्थापित गर्ने, लगन जुराउने, साईत हेर्नेजस्ता काम पण्डितहरुले नै गर्ने भएकाले उहाँहरुको मुख्य भूमिका रहने बताईएको हो । विवाह कर्म गर्दा बेहुला र बेहुलीको उमेर २० वर्ष नाघेको छ वा छैन, अथवा पहिलो विवाह हो या दोस्रो तेस्रो विवाह हो भनेर सोधपुछ गर्न सकेमा बढ्दो बालविवाह र बहुबिवाहका घटना न्यूनिकरणमा टेवा पुग्ने विश्वास गरिएको छ ।
कानूनले २० वर्ष अघिको विवाहलाई बदर गरेको छ । केटा केटीको उमेर २० वर्ष नपुग्दै विवाह बन्धनमा बाँधिएमा वा बालविवाह गरेमा कानून अनुसार ३ वर्षसम्म कैद र ३० हजार रुपैयासम्म जरिवानाको व्यवस्था रहेको छ । त्यसैगरी बहुबिवाह गर्ने वा गराउनेलाई १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैया सम्म जरिवानाको व्यवस्था रहेको छ ।
बालविवाह पछि भविष्यमा थुप्रै खालका घरलु तथा लैंगिक हिंसाहरु बढ्दै गएका छन् । पण्डितहरुले विवाह गराउँदै गर्दा २० वर्ष पार गरेको छ कि छैन निक्र्यौल गर्ने र यदि नपुगेको भए उनिहरुलाई विवाह बन्धनमा नवाधिँन सल्लाह दिनुपर्ने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । कानूनले बर्जित गरेका कुराहरुलाई समाजका प्रतिष्ठित र बौद्धिक व्यक्तिको रुपमा रहेका पण्डितहरुले निस्तेज गर्नुपर्ने बताउँदै त्यस्तो विवाह गर्दै गरेको जानकारी पाएमा प्रहरीलाई सुचना दिन समेत आग्रह गर्नुभयो ।
प्रहरी नायब उपरिक्षक विश्वराज अधिकारीले बालविवाह हो भन्ने थाहा पाएपछि त्यसलाई रोक्न पहल गर्ने, बाल विवाह र बहुविवाह सामाजिक कुरिती हुन भन्ने कुराको चेतना अभिबृद्धि गर्न र यस्तो गरेमा परिवार र व्यक्तिलाई हुने नकारात्मक परिणामको जानकारी दिन पण्डितहरुलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा विश्व हिन्दु महासंघका पर्वतका सभापति लोकनाथ आचार्य, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, महिला अधिकारकर्मीहरु कमला पन्त, मुना शर्मा लामिछाने, मनरुपा सुवेदी लगायले बोल्नुभएको थियो । सो अवसरमा बाल विवाह र बहुविवाहको कानूनी अवस्थाका बारेमा प्रहरी नायब उपरिक्षक विश्वराज अधिकारीले जानकारी गराउनुभएको थियो । कार्यक्रमको संचालन प्रहरि निरिक्षक प्रदिप पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!