पर्वत – पर्वतको फलेवास नगरपालिकाले स्थायी केन्द्र तोकेको छ । अस्थाई रुपमा फलेवास ५ खानीगाउँमा रहेको केन्द्र सोहि वडाको झकलकमा सरेको हो । कार्यपालिकाको वहुमतको आधारमा केन्द्र सार्ने निर्णय गरेको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो । सभाको दुई तिहाई सहमतीका आधारमा पिप्लेमा रहेको केन्द्र झललकमा सारिएको शर्माले बताउनुभएको छ ।
नगरपालिका स्थापना भएपछि लामो समय भाडाको घरमा र त्यपछि फलेवास सिंचाई आयोजनाको कार्यालयमा स्थानान्तरण गरेर संचालन गरिँदै आएको थियो । हाल रहेको अस्थाई केन्द्र बाट नयाँ स्थानन्तरण हुने झकलक झण्डै १ किलोमिटरको दुरीमा रहेको छ । उक्त स्थानमा ६० दशमलव ८ रोपनी जग्गा उपलव्ध भएको छ ।
उक्त जग्गा मध्ये अधिकांस स्थानीय नागरिकले नगरपालिकालाई अनुदान दिएका हुन् । जम्मा ३ रोपनी क्षेत्रफलमा रहेको सिँचाईको भवनमा कार्यालय सञ्चालन गर्न समस्या भएको र आफ्नो स्वामित्वमा नभएका कारण अन्य भौतिक पूर्वाधारहरु समेत थप गर्न कठिनाई भएपछि नयाँ स्थानमा केन्द्र र प्रशासनिक भवन निर्माण गर्ने निर्णय भएको नगरप्रमुख शर्माले जानकारी दिनुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ मा नगर तथा गाउँपालिकाको स्थायी केन्द्र बनाउन आफ्नै स्वामित्वको जग्गा हुनुपर्ने र उक्त जग्गा नगरपालिकाको हकमा कम्तीमा ८ रोपनी र गाउँपालिकाको हकमा क्रम्तीमा ६ रोपनी हुनुपर्ने उल्लेख छ ।
नगरप्रमुख शर्माका अनुसार नगरपालिकाको मुख्य प्रशासनिक भवन, विषयगत शाखाका भवनहरु लगायत बजार क्षेत्रको विस्तार लगायत नगरपालिकाको केन्द्रका लागि आवश्यक पूर्वाधारहरु झकलकमा निर्माणकार्य अघि बढाईने भएको छ । स्थानीयले नगरपालिकालाई जग्गाको लालपूर्जा समेत दिईसकेका छन् ।
मुख्य प्रशानिक भवन निर्माणको काम चालु आर्थिक वर्षभित्रनै शुरु गरिने पनि नगरप्रमुखले बताउनुभयो । नगरपालिकाको दिर्घकालीन विकासका लागि अहिले स्थानान्तरण गर्न लागिको स्थान सवैभन्दा उपयुक्त रहेको कार्यपालिका सदस्यहरुको ठहर छ ।
खानेपानी, सञ्चार, विद्युत तथा यातायातको सुविधा हुनुपर्ने पनि ऐनको दफामा उल्लेख छ । नगरपालिकाको केन्द्र सार्ने निर्णयमा नगरउपप्रमुख मञ्जु अधिकारीको भने असहमती छ । नगरसभामा उपस्थित सबैले निर्णयमा सहमती जनाएपनि उपप्रमुख अधिकारीले नोट अफ डिसेण्ट लेख्नुभएको छ ।