पर्वतको महाशिलाका युवा सिंगो गाउँ व्यवसायिक बनाउन सक्रिय बन्दै - News site from Nepal

पर्वत – वैदेशिक रोजगारी र स्वदेशभित्रै पनि लामो समय गैरसरकारी संस्थामा काम गरेका युवाले सामुहिक कृषि फर्म खोलेर गाउँका किसानलाई व्यवसायिक बनाउने अभियान थालेका छन् ।
पर्वतको महाशिला गाउँपालिका ५ लुंखुका ५ युवा मिलेर सिंगो गाउँलाई अर्गानिक उत्पादनमा लगाउने, हरेक किसानलाई व्यवसायमा जोड्ने र उनीहरुको उत्पादनको सहज बजारमा पहुँच बढाउने उद्धेश्यले कृषि फर्म संचालनमा ल्याएका हुन् ।
गैरसरकारी संस्था र बैंकमा जागिरे भएका तिलक जैसी, वैदेशिक रोजगारीमा कतारमा काम गरेर फर्केका बिष्णु अधिकारी, कोरियाबाट फर्केका सागर थापा र स्थानीय सुवास शर्मा तथा प्रकाश अधिकारी मिलेर गाउँमै नयाँ प्रकारको कृषि फर्म थालेका हुन् ।
लुंखु बजारदेखि १ किमी दक्षिणमा रहेको एफएफ अर्गानिक कृषि फर्म अहिले लुंखुबासीको पहिचानको रुपमा विकास हुन थालेको छ । यो फर्ममा अहिले अत्याधिक धेरै पशु तथा कृषि उत्पादन छैन । तर जुन लक्ष र उद्धेश्यले खोलिएको छ त्यो फराकिलो छ ।
‘हामीले आफ्नो उत्पादन मात्र हैन, हरेक घरको एउटा फर्सी पनि बजार पठाउने योजना बनाएका छौं’ जैसीले भने, ‘त्यसका लागि सहकारी मोडल बनेको छ ।’ एफएफ अर्गानिक कृषि तथा बहुउद्धेश्यीय सहकारी संस्थामार्फत कृषि फसल संकलन र बजारीकरणको काम सुरु भएको हो ।
यहाँका मानिसको आउजाउ पोखरामा छ । तीन घण्टामा पोखरा पुग्न सकिन्छ । फर्ममा युवाहरुले हरेक दिन प्रत्येक घरको कृषि फसल संकलन गर्छन् र पोखरा पठाउँछन् । उनीहरुले दैनिक ५ टनसम्म तरकारी र दूध बजार पठाउने लक्ष राखेका छन् । दैनिक कम्तिमा ५ सय लीटर दूध, १ सय केजी खसीबोका पोखरा पठाउने क्रम सुरु भैसकेको जैसीले बताए ।
‘यहाँका कम्तिमा एक हजार घरलाई हामीले व्यवसायिक बनाउने लक्ष राखेका छौं’ जैसीले भने, ‘ती घरमा हुर्केका खसीबोकाको बजार हामीले खेजीदिन्छौं ।’ सहकारीमार्फत गाउँमै पसल र रेष्टुरेन्ट संचालनमा छ । उक्त पसलमा दैनिक उपभोग्य वस्तु किन्नुपर्ने किसानले दुइचार केजी काउली लिएर आयो भने किनेर मूल्य दिने तथा सोही मूल्यको सामान विनिमय गराउने मोडलको फर्म बनेको हो । एउटा कुशुरा बेच्नुपर्ने किसानले पनि विनिमय गरेर रकम वा अन्य सामान लैजान सक्ने व्यवस्था गरिएको उनले बताए ।
‘चार सयको तरकारी वा एक हजारको कुखुरा उत्पादन भएको किसानले बजार पठाउन सक्दैन, तर हामीले त्यस्ता २० देखि ५० वटा संकलन गरेर पोखराको बजारमा लगिदिन्छौं’ जैसीले भने, ‘त्यसको मूल्य किसानले घर छेवैमा पाउँछ ।’ वैदेशिक रोजगारीमा गएकाहरुले पठाएको रेमिट्यान्स सटहीको काम पनि थाल्दैछौं । यो अभियानमा जैसीलाई बढी साथ दिने बिष्णु अधिकारी र सागर थापालगायतले आलोपालो बजारीकरणमा काम गरेका छन् । अहिलेसम्म उनीहरुले डेढ करोड लगानी गरेर भैसी गोठ, कुखुराको टहरा, खानेपानीको व्यवस्थापन, रिसोर्ट तथा रेष्टुरेन्ट खोली सकेको बताए ।
अर्गानिक रेष्टुरेन्टसहित बजार क्षेत्रबाट आउने १० देखि २० जनासम्म पाहुनालाई एकरात बसाइ, खाना तथा क्याम्प फाएर गर्ने गरी व्यवस्थापन भएको अधिकारीले बताए । गाउँपालिकाकै धुँवाकोटस्थित ऐतिहासिक स्थलमा होमस्टेको मज्जा लिने र क्याम्प फाएरसहित बस्ने व्यवस्था समेत गरिएको हो । आएका पहुनाले अर्गानिक खाना र साँस्कृतिक कला अनुभव गर्न पाउने व्यवस्था भएको उनले बताए । स्थानीय बासिन्दासँग सांस्कृतिक कार्यक्रमका लागि पनि सम्झौता भएको उनले सुनाए ।
लुंखुदेखि हुवाससम्म बस सेवा पनि संचालनमा छ । यो प्रदेश सरकारको मुख्य सडक अन्र्तगत पर्छ । कुश्मादेखि लुंखुहुँदै हुवास जाने सडकले स्याङजाको गल्याङ र सेतीवेणी जोड्छ । पर्यटकीय दृष्टीले एकदुइ रात बिताउने लक्षले हिडेका पाहुना पनि एकरात बस्न सक्ने स्थान भएकोले उनीहरुले लगानी बढाउने तथा थप व्यवस्थापनमा जोड दिएका छन् ।
समूहमा लागेका सबै युवाले गाडि चलाउन सक्छन् । ‘चालक नभएमा काम रोकिने अबस्था नआओस भनेर सबैले सबैको बिकल्प बनाएका छौं’ अधिकारीले भने, ‘भर्खर हेर्दा सामान्य जस्तो लागेपनि दिर्घकालिन रुपमा गाउँलेलाइ धनी र व्यवसायिक बनाउने लक्ष हो ।’ अहिले दुइचार केजी तरकारी बेच्न पाएको किसानले अर्को बर्ष क्विन्टल फलाउने जोश निकाल्न साथ दिने उनीहरुले बताए ।
‘गाउँमा निर्वाहमुखी उत्पादन गरिरहेका किसान अब व्यवसायिक बन्नुपर्छ, बजारीकरणमा हामीले काम गर्छौ’ अर्का युवा सागर थापाले भने ‘किसानले गरेको हरेक दुःख मूल्यमा परिणत हुनुपर्छ ।’ अहिलेसम्म निर्वाहमुखी भएकै कारण आवस्यक पर्दा पैसा निकाल्न नसक्ने अबस्था भएको उनले बताए । सहकारी मोडल भएकोले दैनिक बचत तथा ऋणको काम पनि गर्दा गाउँमा व्यवसायमा लगानी बढाउन सकिने, सानो काममा सदरमुकाम र पोखरा धाइरहनु नपर्ने जस्ता सजिलो समेत बन्दै गएको वडा अध्यक्ष जीवन उचै ठकुरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!