जिसस पर्वतद्धारा महिलाहरुका लागि लोकसेवा तयारी कक्षा संचालन, ६० भन्दा बढि सहभागि - News site from Nepal

पर्वत- महिलाहरुलाई निजामती सेवातर्फ आकर्षित गर्ने उद्धेश्यले पर्वतमा लोकसेवा कक्षा संचालन गरिएको छ ।
जिल्ला समन्वय समिति पर्वतले जिल्लाका पिछडिएका महिलाहरुलाई लक्षित गरी १५ दिने निःशुल्क तयारी कक्षा संचालन गरेको हो । विशेषगरी निजामती सेवा तर्फ जान इच्छुक महिलाहरुलाई लोकसेवा मार्फत लिईने परिक्षाको प्रारम्भिक ज्ञान तथा लोकसेवाको परिक्षा प्रणाली र नमुना प्रश्नोत्तर तथा विषयबस्तुका बारेमा जानकारी दिने उद्धेश्यले सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा तालिम संचालन भएको हो ।
आइतवारदेखि संचालन भएको तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहरबी पौडेलले राज्यको स्थायी सरकारको रुपमा रहेको निजामती क्षेत्रमा महिलाहरुको सहभागिता बृद्धि गर्ने र महिलाहरुको हक अधिकार स्थापित गर्न टेवा पुगोस भन्ने उद्धेश्यले यस्तो खालको तालिम संचालन गरिएको बताउनुभयो । उहाँले यो एउटा समाजवादको सुचक भएकाले पनि अब समाजमा पछाडि पारिएका बर्गको उत्थानका निम्त महिलाहरुको शसक्तिकरणमा जोड दिनुभएको छ । गत वर्ष कोभीड-१९ को संक्रमणका कारण भएको लकडाउनले लोकसेवा कक्षा संचालन गर्न नसकिएको बताउँदै यसवर्षवाट निरन्तर संचालन गरिने उहाँले बताउनुभयो । १५ दिने कक्षा आफैमा पुणर् नभएकाले यसवाट प्रारम्भिक ज्ञान लिएर निरन्तर यसको पढाई तथा क्षमता अभिबृद्धिमा लाग्न संयोजक पौडेलले आग्रह गर्नुभयो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले लोकसेवा मार्फत परिक्षा दिएर निजामती सेवामा प्रवेश गर्नको लागि गहन अध्ययन र लगाव आवश्यक पर्ने बताउनुभयो । कतिपय एकदुई पटकको परिक्षापछि सफल हुन सकिएन भनेर निरास हुने गरेको बताउँदै यसमा निरन्तरताको लगाव र मेहेनत आवश्यक हुने बताउनुभयो । कतिपय भाग्यको कुरा पनि हो उहाँले भन्नुभयो तर मेहेनत नगरि हुँदैन । अहिले विभिन्न प्रविधिहरुमार्फत पनि लोकसेवा सम्वन्धि अध्ययन सामाग्रीहरु पाईने बताउँदै निजामति क्षेत्रतर्फ लाग्नेहरु सवै विषयमा दक्षता हासिल गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले यो निरन्तरको पढाई, सिकाई र बुझाईवाट नै गन्तव्यमा पुग्न सकिने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख यामकुमारी रानाले पनि नियमित रुपमा कक्षा लिएर आफ्नो क्षमताको विकास गर्न आग्रह गर्नुभयो ।
जिल्ला समन्वय अधिकारी सुरेश ढकालले सामाजिक विकास मन्त्रालयले महिलाहरुलाई लोकसेवा तर्फ आकर्षित गर्ने उद्धेश्यले यस्ता खालको कक्षा संचालन गरेको बताउँदै नछुटाईकन अध्ययन गर्न आग्रह गर्नुभयो । उहाँले ३५ जनाको कोटा भएपनि महिलाहरुको संख्या उल्लेख्य भएकाले ६० जना भन्दा बढिलाई सहभागि गराईएको बताउनुभयो । कोहिपनि बञ्चित हुन नपरोस भनेर अतिरिक्त श्रोतको व्यवस्थापन गर्नेगरी सवैलाई समावेश गरिएको उहाँको भनाई छ ।
तालिममा जिल्लाका विभिन्न स्थानीय तहवाट महिला तथा युवतीहरु सहभागि भएका छन् । उक्त तालिमको सहजिकरण नेपाल सरकारका उपसचिब तथा शाखा अधिकृतहरुले गर्नुहुने भएको छ । दैनिक ४ओटा कक्षाका दरले ६० वटा कक्षा संचालन हुने जिल्ला समन्वय समितिका खरिदार राजु गौतमले जानकारी दिनुभयो । कार्यक्रमको संचालन जिल्ला समन्वय समितिकी अधिकृत करुणा आचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!