पर्वतको धाईरिङ बस्ने हिंसापिडित युवतीलाई इन्सेकको पहलमा सुरक्षित घर - News site from Nepal

पर्वत- पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ बस्ने २२ बर्षीया हिंसापिडित युवतीलाई इन्सेकको सहयोगमा सुरक्षित घरमा व्यवस्थापन गरिएको छ । मजदुरी काम गर्दा गर्दै यौन जन्य हिंसाबाट पिडित बनेकी युवतीलाई पर्वतका इन्सेक प्रतिनिधि सन्तोष थापाको सहयोगमा सुरक्षित घरमा व्यवस्थापन गरिएको हो ।
पिडित युवतीले जिल्ला प्रहरी कार्यालय पर्वतमा आफु यौन जन्य हिंसाबाट पिडित बनेको भन्दै असार ५ गते उजुरी दिएकी थिइन् । उनले आफुलाई ०७७ जेठ १५ गते रविन जिसीले बलात्कार गरेको भन्दै उजुरी दिएकी हुन् । अस्थायी रुपमा पर्वतमा रहेर उजुरी पश्चात् संरक्षकत्वविहिन बनेकी युवतीलाई सुरक्षित घरमा राखिएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतले इन्सेक प्रतिनिधिलाई सहयोग गरिदिन आग्रह गरेपछि पिडित युवतीलाई पोखरा स्थित कोपिला नेपालद्वारा सञ्चालित सुरक्षित घरमा व्यवस्थापन गरिएको इन्सेक प्रतिनिधि थापाले जानकारी दिनुभयो ।
असार ८ गते नै महिलालाई सुरक्षित घरमा राख्नका लागि पठाइएपनि कोरोना भाइरसको महामारीका कोरोना परिक्षण गर्नुपर्ने भएकोले रिपोर्ट आउने अवधि सम्मका लागि सोडेक नेपालको सहयोगमा गुडनेवर्स इन्टरनेशनल नेपालले पुलिङ क्वारेण्टिनको व्यवस्था गरेको थियो । ८ दिन सम्मको पुलिङ क्वारेण्टिन पश्चात् रिपोर्ट नेगेटिभ आएपछि पिडित युवतीलाई सुरक्षित घरमा पठाइएको हो ।
पिडित युवतीलाई जबजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले जलजला गाउँपालिका ४ मल्लाजका २७ बर्षिय रविन जिसीलाई गिरफ्तार गरी अनुसन्धान अघि बढाएको छ । आरोपितलाई हिरासतमा नै राखेर मुद्धा थप अनुसन्धानका लागि पर्वत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको इन्सपेक्टर बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari