पर्वतको फलेवासकी उपमेयर अधिकारीले आफै हलो जोतेपछि …………………! - News site from Nepal
पर्वतको फलेवासकी उपमेयर अधिकारीले आफै हलो जोतेपछि …………………!

पर्वत –  नेपाली समाजमा महिलाले हलो जोत्नु हुँदैन भन्ने मान्यता छ । महिलाले हलो जोतेपछि अशुभ हुने भनाई र मान्यताका आधारमा पुरुषहरुले नै हलो जोत्ने गरेको पाईन्छ ।
तर सोमवार पर्वतको फलेवास नगरपालिका वडा नं. ७ चिर्दिखोला स्थित खेतको दृष्य भने फरक थियो । जहाँ फलेवास नगरपालिकाकी उपप्रमुख मञ्जु अधिकारीले धान रोप्नका लागि खेतमा आफै हलगोरु नारेर हलो जोतिरहनु भएको थियो ।
महिलाले यसरी हलो जोतेको देखेर मेलामा गएकाहरु दंग परेर खासखुस पनि गरिरहेका थिए । लौ महिलाहरु पनि हलो जोत्न थाले भन्दै ।
सन्दर्भ थियो १७ औं धान दिवसको । दिवसको अवसर पारेर फलेवास नगरपालिकाको आयोजना र कृषि ज्ञान केन्द्र पर्वतको समन्वयमा रोपाइ महोत्सव आयोजना गरिएको हो । नोबेल कोरोना भाईरसको संक्रमणका बीच भौतीक दुरी कायम गर्दै महोत्सव गरिएको हो ।
आफुले हलो जोतेको, बाउसो खनेको देखेपछि दंग परेका सहभागिहरुलाई सम्वोधन गर्दै उपप्रमुख अधिकारीले महिलाहरु पनि हरेक काम गर्न सक्षम हुन्छन भन्ने उदाहरण पेस गर्न र महिलाले हलो जोत्नु हुन्न भन्ने समाजको अन्धविश्वास तोड्नका लागि आफुले जीवनमा पहिलोपटक हलो जोतेको बताउनुभयो । महिलाहरू पनि आत्मबल बढाएर म पनि गर्न सक्छु है भनेर लागि परेमा जुनसुकै काम गर्न सकिने उहाँले भनाई रहेको छ ।


पुरुषले भन्दा महिलाले धेरै काम गर्न सक्छन्, महिलाहरु बहुआयामीक हुन्छन् उहाँले भन्नुभयो-‘अबको युगमा हामीले पुरानो अन्धविश्वास र कुरिती हटाउनु पर्दछ ।’ अधिकारीले फलेवासमा धान खेती लगायत अन्य कृषि उत्पादन वृद्धि गर्नको लागि आधुनिकीकरण र प्रविधिकरणमा जोड दिएको बताउनुभएको छ । कृषकहरु माटोसँग मन जोडेर कृषि उत्पादनमा लागेमा मेहनत अनुसारको फल प्राप्त हुने बताउँदै उत्पादनमा वृद्धि गर्न नगरपालिकाले मल, बिउ र सिँचाइको व्यावस्था गरिएको बताउनुभयो ।
कोरोना भाइरस रोकथामका लागि नेपालमा लकडाउन भैरहेका वेला नगरमा खाद्यन्नको संकट नहोस् भनि बाँझो जमिनको सदुपयोग गरि उत्पादनमा लाग्न कृषकहरूलाई अनुरोध गर्दै बाँझो जमिनमा खेती गर्ने कृषकहरुलाई नगरले अनुदानको व्यवस्था गरेको उहाँको भनाई छ ।
त्यस्तै कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले सहि समयको सदुपयोग गर्दै उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । अहिलेको महामारीमा बिदेशबाट गाउँ फर्किएका युवाहरूलाई गाउँमै रमाउने वातावरण सृजना गर्दै कृषि मार्फत जिविकोपार्जन र आयस्रोत बढाउन नगरपालिकाले कृषिका विभिन्न कार्यक्रम संचालन गरेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान बल्क अन्तर्गत फलेवास नगरपालिकाको वडा नं. ४, ६, १०मा धान उत्पादन कार्यक्रम समेत जारी रहेको छ ।


पर्वतका अन्य स्थानीय तहमा भने लकडाउनका कारण औपचारिक कार्यक्रम गरिएको थिएन । पर्वतमा हालसम्म २० प्रतिशत खेतमा रोपाई भएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari