मुख्य समाचार

पर्वतको बनौमा गाउँ आवतजावतमा रोक, अग्लो पुल पनि बन्द

By लोकतन्त्र अनलाईन

March 30, 2020

पर्वत– विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट गाउँलाई सुरक्षित राख्न पर्वतको जलजला गाउँपालिका वडा नं. ९ बनौ गाउँमा आवजावतमा रोक लगाईएको छ । गाउँका मानिसलाई पनि बाहिर जान नदिने र बाहिरवाट आउनेलाई पनि गाउँमा प्रवेश गर्न नदिनेगरी आवतजावतमा रोक लगाईएको वडा अध्यक्ष गौबहादुर पुनले जानकारी दिनुभयो । सरकारले लागु गरेको लकडाउनलाई पुर्ण रुपमा सफल बनाउन र बाह्य व्यक्तिको प्रवेशवाट गाउँहरु संक्रमण नहोउन भनेर यस्तो गरिएको अध्यक्ष पुनले बताउनुभयो । स्थानीय जनप्रतिनिधि र सामाजिक क्षेत्रमा सक्रिय क्लवका पदाधिकारीहरुले गाउँका सम्पूर्ण स्थानहरुलाई लक डाउन गरि बाहिरबाट आउने मान्छेहरुलाई रोक लगाउने र यहाँको मान्छेहरूलाई पनि बाहिर जान नदिने कार्य गरिरहेको उहाँले बताउनुभयो । अध्यक्ष पुनले बनौबासी साथै सम्पुर्ण जलजला बासीहरुलाई घरमै बसी एक अर्कासँग सम्पर्क नगरी यो रोगलाई निराकरण गर्न सहयोग गर्न आग्रह पनि गर्नुभएको छ ।

त्यसैगरी मुलुककै अग्लो र लामो पुल वडागाउँ–कैया झोलुङ्गे पुल पनि बन्द गरिएको छ । छिमेकी जिल्ला बागलुङको बलेवास्थित बागलुङ नगरपालिका वडा नं. १४ ले पुल बन्द गर्ने निर्णय गरेको हो । कुश्माबजारवाट पुल हुँदै यात्रा गर्ने यात्रुहरुका कारण गाउँ असुरक्षित हुने भन्दै पुलमा जाली लगाएर बन्द गरिएको स्थानीय भरत सुवेदीले जानकारी दिनुभयो । त्यसैगरी बाग्लुङ नगरपालिका वडा नं. १२ अमलाचौरले पनि गाउँका सवै सिमा नाका बन्द गरेको छ । उक्त वडामा कोहि पनि प्रवेश नगर्न र वडावासीहरुलाई पनि बाहिर नजान आग्रह गर्दै वडालाई लकडाउन गरिएको वडा अध्यक्ष गुरुदत्त पाठकले जानकारी दिनुभयो ।