
पर्वत– विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट गाउँलाई सुरक्षित राख्न पर्वतको जलजला गाउँपालिका वडा नं. ९ बनौ गाउँमा आवजावतमा रोक लगाईएको छ ।
गाउँका मानिसलाई पनि बाहिर जान नदिने र बाहिरवाट आउनेलाई पनि गाउँमा प्रवेश गर्न नदिनेगरी आवतजावतमा रोक लगाईएको वडा अध्यक्ष गौबहादुर पुनले जानकारी दिनुभयो ।
सरकारले लागु गरेको लकडाउनलाई पुर्ण रुपमा सफल बनाउन र बाह्य व्यक्तिको प्रवेशवाट गाउँहरु संक्रमण नहोउन भनेर यस्तो गरिएको अध्यक्ष पुनले बताउनुभयो ।
स्थानीय जनप्रतिनिधि र सामाजिक क्षेत्रमा सक्रिय क्लवका पदाधिकारीहरुले गाउँका सम्पूर्ण स्थानहरुलाई लक डाउन गरि बाहिरबाट आउने मान्छेहरुलाई रोक लगाउने र यहाँको मान्छेहरूलाई पनि बाहिर जान नदिने कार्य गरिरहेको उहाँले बताउनुभयो ।
अध्यक्ष पुनले बनौबासी साथै सम्पुर्ण जलजला बासीहरुलाई घरमै बसी एक अर्कासँग सम्पर्क नगरी यो रोगलाई निराकरण गर्न सहयोग गर्न आग्रह पनि गर्नुभएको छ ।
त्यसैगरी मुलुककै अग्लो र लामो पुल वडागाउँ–कैया झोलुङ्गे पुल पनि बन्द गरिएको छ । छिमेकी जिल्ला बागलुङको बलेवास्थित बागलुङ नगरपालिका वडा नं. १४ ले पुल बन्द गर्ने निर्णय गरेको हो । कुश्माबजारवाट पुल हुँदै यात्रा गर्ने यात्रुहरुका कारण गाउँ असुरक्षित हुने भन्दै पुलमा जाली लगाएर बन्द गरिएको स्थानीय भरत सुवेदीले जानकारी दिनुभयो ।
त्यसैगरी बाग्लुङ नगरपालिका वडा नं. १२ अमलाचौरले पनि गाउँका सवै सिमा नाका बन्द गरेको छ । उक्त वडामा कोहि पनि प्रवेश नगर्न र वडावासीहरुलाई पनि बाहिर नजान आग्रह गर्दै वडालाई लकडाउन गरिएको वडा अध्यक्ष गुरुदत्त पाठकले जानकारी दिनुभयो ।