पर्वत- पर्वतको जलजला गाउँपालिकाका सवै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु भएको छ ।
गाउँपालिका भित्रका ४४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत शिशु कक्षा देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई चालु आर्थिक वर्षको पुसदेखि दिवा खाजा कार्यक्रम संचालन गर्न लागिएको हो । सामुदायिक विद्यालयप्रति विद्यार्थीहरुको आकर्षण बढाउने र विद्यार्थीहरुलाई विद्यालयमा टिकाईराख्ने वातावरणको सिर्जना गर्नका लागि यस्तो कार्यक्रम अघि सारिएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिनुभयो ।
यो कार्यक्रममा दैनिक रु.१५ हजार भन्दा बढि लगानी गर्नुपर्ने अवस्था रहेको छ भने बार्षिक ५० लाख भन्दा बढि दिवा खाजामा खर्च हुने गाउँपालिकाले जनाएको छ ।
उहाँका अनुसार विद्यालय खुलेको दिनमा प्रति दिन रु. १५ रुपैयाका दरले दिवा खाजा खुवाउने गरी गाउँपालिकाले आवश्यक तयारी गरेको छ । गाँउपालिकाले आइतवार देखि सवै विद्यालयका बाल विकास केन्द्र देखि कक्षा ५ सम्मका बालबालिकाहरुलाई पालिकाले तोकेबमोजिमको गुणस्तरको खाजाको व्यवस्था गरिएको मल्लले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिको निणर्यमा खाजा खुवाउने व्यवस्था गर्ने र खाँजा खुवाउँदा आवश्यक मात्रा, स्वच्छता र पोषक तत्व सुनिश्चिततामा ध्यान पुर्याउनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।
अभिभावक, आमा समुह वा क्लव र अन्य व्यावसायिक लगायतको माध्यमवाट स्थानीय स्तरमा उत्पादित खाद्यान्न प्रयोग गरी दिवा खाजा खुवाउन सकिने भएको छ । बजारमा किनिएका सामान र जंक फुडलाई पुणर् रुपमा निषेध गरिएको छ । विद्यालयहरुले मासिक रुपमा खुवाएको खाजाको भुक्तानी आवश्यक विल भरपाईको आधारमा गाउँपालिकाले भुक्तानी गर्ने पनि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शर्माले जानकारी दिनुभयो ।
जलजला गाउँपालिकामा सामुदायिक विद्यालय ४४ वटा रहेका छन् । जसमध्ये १० वटा मावि, चार वटा आधारभुत विद्यालय र अन्य ३० वटा प्रावि तहका विद्यालय रहेका छन् । दिवा खाजा कार्यक्रमले विद्यार्थीहरुलाई पुरै अवधि विद्यालयमा रहने वातावरण सिर्जना गर्नुका साथै अखाद्य वस्तुहरु र जंक फुडको प्रयोगमा कमी ल्याउने गाउँपालिकाका शिक्षा अधिकृत झलकनाथ आचार्यले जानकारी दिनुभयो । यो कार्यक्रमवाट झण्डै एक हजार भन्दा बढि विद्यार्थी लाभान्वित हुने भएका छन् ।
जिल्लामै पहिलोपटक जलजाल गाउँपालिकाले यस्तो कार्यक्रम शुरु गरेको हो । यसवाट निजि विद्यालयमा जस्तै विद्यार्थीहरुको सिकाई स्तर र निरन्तरतामा बृद्धि हुने अपेक्षा गरिएको आचार्यले बताउनुभयो ।