पर्वतको विहादी गाउँपालिकाको वहाकीमा प्रहरी चौकी स्थापना - News site from Nepal
पर्वतको विहादी गाउँपालिकाको वहाकीमा प्रहरी चौकी स्थापना

पर्वत- पर्वतको विकट पालिकाको रुपमा रहेको विहादी गाउँपालिका वडा नं. ४ वहाकीठाँटीमा प्रहरी चौकी स्थापना गरिएको छ ।
गाउँपालिकाको केन्द्र समेत रहेको वहाकीठाँटीमा शान्ति, सुरक्षा कायम गर्नका लागि प्रहरी चौकी स्थापना गरिएको हो । यस अघि पालिका अन्तर्गत वडा नं. ३ रानीपानी, वठा नं. ६ शालिग्राम र वडा नं. १ बाच्छामा प्रहरी चौकी रहेपनि पालिकाको केन्द्र रहेको स्थानमा जनघनत्व बढ्दै गएको, विभिन्न वित्तिय संस्थाहरुको शाखा स्थापना, लगायतको सुरक्षा, सामाजिक झैझगडा र गैरकानूनी क्रियाकपको न्यूनिकरणका लागि प्रहरी चौकी थप गरिएको पर्वतका प्रहरी नायब उपरिक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो ।
प्रहरी चौकीको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै रेग्मीले जिल्लाका सवै क्षेत्रका नागरिहरुको सुरक्षाका लागि प्रहरी प्रशासन तयार रहेको बताउँदै समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रहरी र नागरिकहरुबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रहरीलाई आवश्यक सहयोग गर्न गाउँपालिकावासीहरुलाई आग्रह समेत गर्नुभयो ।
विहादी गाउपालिकाका अध्यक्ष कमलप्रसाद भुषालले बढ्दो चहलपहल र जनघनत्वलाई मध्यनजर गर्दै गाउँपालिकाको केन्द्रमा प्रहरी चौकी स्थापना गर्न सहयोग गर्ने सवैमा धन्यवाद दिनुभयो । उहाँले शान्ति सुरक्षाको प्रत्याभुती भएपछि गाउँ समाजको विकास तीब्र गतिमा हुने बताउँदै पालिका र प्रहरीबीच आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी बल गण नं. २५ का सशस्त्र प्रहरी उपरीक्षक बिजय के.सी, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक बिश्वराज अधिकारी, सिचाई डिभिजन कार्यालय पर्वतका प्रमुख थल बहादुर तामाङ लगायत गाउँपालिकाका जनप्रतिनिधीहरु र समाजसेवहीहरुको सहभागिता थियो ।
वहाकीठाँटीमा बढ्दो जनघनत्वसँगै हुन सक्ने गैरकानुनी गतिविधि रोकथाम एवम् बढ्दो सहारीकरणलाई व्यवस्थापनका लागि प्रहरी चौकीको स्थापना गर्न मन्त्रीपरिषदको २०७६ साल असोज ७ गतेको वैठकले स्वीकृति दिएको थियो । स्वीकृति पाएको ठिक एक वर्षमा जग्गा र भवनको व्यवस्थापन गरेर प्रहरी चौकी स्थापना गरिएको प्रहरी नायब उपरिक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!