पर्वतको पैयू गाउँपालिकाको आगामी बजेट ४१ करोड ६३ लाख (पुर्ण पाठ सहित) - News site from Nepal

पर्वत – जिल्लाको पैयू गाउँपालिकाको आगामी बजेट ४१ करोड ६३ लाख ४६ हजार ३ सय ५० रुपैंया प्रस्ताव गरिएको छ । गाउँपालिकाका सातौ गाउँ सभामा उपाध्यक्ष जसमति गुरुङले उक्त बजेट प्रस्तुत गरेकी हुन ।

गाउँ सभामा प्रस्तुत भएको उक्त बजेटको विषयमा गाउँ सभाका सदस्यहरु वीच छलफल भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतवहादुर रानाले जानकारी दिए । प्रस्तुत भएको बजेटको विषयमा गाउँ सभाका सदस्यहरु वीच छफलफल गरी आगामी असार २८ गते पुनः गाउँ सभा मार्फत बजेट पास गर्ने गरी तयारी भईरहेको रानाको भनाई छ ।

गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले यस अघि गाउँ सभामा आगामी बर्षको नीति तथा कार्यक्रम पेश गरेका थिए । नीति तथा कार्यक्रम पेश गर्दै अध्यक्ष तिवारीले गाउँपालिकाको आर्थिक विकासको पहिलो मेरुढण्ड कृषि र पशुपालन ब्यवसाय भएको भन्दै त्यस तर्फ लक्षित कार्यक्रमहरु सञ्चालन गरिने बताएका थिए । उनले कृषि सडकको स्तरोउन्नती गर्ने, स्वास्थ्य र शिक्षा क्षेत्रको विकास गर्ने गरी आगामी नीति तथा कार्यक्रमहरु ल्याउन थिए ।

अध्यक्ष तिवारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले सवै प्रकारका मानिसहरुको आधारभूत आवश्यकता परिपूर्ति गर्ने गरी विकासका आयोजनाहरुका खाका तयार हुने कुरा उल्लेख गरिएको छ ।

पैयूँ गाउँपालिकाको आ.व २०७७।०७८ को वार्षिक नीति तथा कार्यक्रम

यस गाउँसभामा उपस्थित हुनु भएका उपाध्यक्षज्यू, वडाध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु तथा  सम्पूर्ण सदस्यज्यूहरु तथा कर्मचारीहरुमा हार्दिक नमस्कार ।

सर्वप्रथम, कोरोना भाईरस कोभिड-१९ महामारीको वर्तमान असहज परिस्थितीमा सबै पैयूँबासी जनता, मुलुकभित्र र बाहिर रहनुभएका नेपाली जनसमुदाय र विश्वभर रहेका सम्पूर्ण मानवजातीहरुको स्वास्थ्य र सुरक्षाको कामना गर्दछु ।

  • पैयूँ गाउँपालिकाको यस गरिमामय गाउँसभामा आ.व २०७७।०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस गरेको छु ।
  • मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना र देशभक्तिपूर्ण आन्दोलनमा मुलुक र जनताको लागि प्राण उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात, अज्ञात सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।
  • हाल महामारीका रुपमा फैलिएको कोरोना भाईरसको यस महाविपदको घडीमा अहोरात्र खटिनुहुने सम्पूर्ण स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मी, प्रहरी, कर्मचारी, राजनैतिक दल, जनप्रतिनिधिहरु तथा यस कठिन घडीमा गाउँपालिकालाई सहयोग गर्नुहुने सम्पूर्ण महानुभवहरुका साथै नेपाल सरकारबाट जारी लकडाउन (बन्दाबन्दी) को पूर्ण पालना गरी सहयोग गर्नुहुने सबै पैयूँबासीहरुमा विशेष आभार प्रकट गर्दछु ।
  • समग्र राष्ट्र र गाउँपालिकाको विकासमा सदा सर्वदा विभिन्न तह र तप्काबाट सहयोग पुर्याउनुहुने सम्पूर्ण पैयूँ बासी आदरणीय आमा दिदि बहिनी तथा दाजुभाईहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।

४. पैयूँ गाउँपालिका गण्डकी प्रदेश, पर्वत जिल्ला अन्तरगत रहेको साविकको टकलाक, त्रिवेणी,बेउलीबास, हुवास, सरौंखोला र भोर्ले गा.वि.स हरु मिलेर बनेको कुल ४२.५ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको छ ।संघीयता र परिवर्तित राज्य व्यवस्थालाई जनताको सबै भन्दा नजिक रहेर व्यवहारिक रुपमा अनुभुति गराउने जिम्मेवारी गाउँपालिकाको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा  नेपालकको संविधान, २०७२ द्वारा प्रदत्त स्थानीय तहको अधिकार र जिम्मावारीहरु मध्ये एक महत्वपूर्ण कार्य गाउँपालिकाको वार्षिक नीति, बजेट तथा कार्यक्रम तर्जुमा हो ।

सर्वप्रथम म आ.व २०७६।०७७ को वार्षिक समिक्षा प्रस्तुत गर्ने अनुमती  चाहन्छु ।

कोरोना भाईरसको महामारी, कर्मचारी समायोजन प्रक्रियाआदिका कारण आ.व २०७६।०७७ को वार्षिक नीति तथा कार्यक्रमले निर्दिष्ट गरेका उद्देश्यहरु प्राप्ती र बजेट तथा योजना कार्यान्वयनमा प्रत्यक्षरुपमा असर पारेको तथ्य हामी सबै बीच प्रष्ट छ । तथापी, यस  प्रतिकुल परिस्थितिका बाबजुद गाउँपालिकाले आ.व २०७६।०७७ मा सम्पादन गरेका केही महत्वपूर्ण कार्यहरु यस सभामा जानकारी गराउँन चाहन्छु ।

१. कोरोना महामारीका कारण सिर्जित जटिल अवस्थालाई मध्यनजर गरी गाउँपालिका भित्र रहेका श्रमिक, मजदुर तथा अति विपन्न नागरिकहरुलाई २५,१,४५ के.जी चामल, ८७७ के.जी दाल, १,७५४ प्याकेट नुन, १,२७५.५ लिटर खाने तेल, १,७५४ गोटा साबुन, लगायतका राहत सामाग्री वितरण गरिएको छ ।जसका लागि आ.व २०७६।०७७ मा विनियोजित विभिन्न शिर्षकबाट रकम रकमान्तर गरी रु २५ लाखको कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन कोषको स्थापना गरिएको छ।

२. गाउँपालिका स्तरीय १ र ७ वटै वडामा क्वारेन्टाईन स्थल निर्माण गरिएको छ । विभिन्न मुलुकहरुबाट आएका व्यक्तिहरु सहित जम्मा५५जनाको आर. डी. टी गरिएको छ। त्यस्तै, जिल्ला विपद व्यवस्थापन समितिको निर्णयानुसार जिल्लामा स्थापना गरिएको कोरोना अस्पताल( आईसोलेसन सेन्टर ) स्थापना र जिल्ला स्तरीय क्वारेन्टाईन स्थल निर्माण तथा क्वारेन्टाईन र आईसोलेसनमा रहने गाउँपालिकाका नागरिकहरुको खर्चका लागि रकम उपलब्ध गराउनुका साथै विभिन्न नाकाहरुबाट जिल्ला र जिल्ला बाट गाउँपालिका सम्म ल्याउन लैजाने प्रयोजनार्थ सदरमुकाममा १ वटा गाडी भाडामा प्रबन्ध गरीएको छ र विभिन्न नाकाहरुबाटा गाउँपालिका नागरिकहरुलाई उद्दार गरिइको छ।  यसका साथै अधिकृत स्तरको १ जना र स्वास्थ्य तर्फको १ जना गरी २ जना कर्मचारीहरुलाई सदरमुकाममा खटाईएको छ।

३. पिपिई, मास्क, स्यानिटाईजर, डिसईन्फेक्टेन्ट लगायत अत्यावश्यक औषधिको व्यवस्था गरी सम्पूर्ण पैयूँबासीहरुलाई कोरोनाको महामारीबाट सुरक्षित बनाउन अधिकतम प्रयास भएको छ ।

४. प्रदेश र संघबाट हस्तान्तरित लगभग सबै योजनाहरु कार्यान्वयन गरिएको छ जसमध्य केही ठूला र महत्वपूर्ण योजनाहरु मध्य सहीद स्मृती भवन निर्माण, बयरघारी-ठुलीभञ्ज्याङ्ग- हुवास सडक योजना  स्तरोन्नती, जेष्ठ नागरिक दिवा सेवा केन्द्र , सौर्य सडक बत्ती (स्ट्रीट लाईट) जडान योजना, साना सिंचाई योजना, भकारो सुधार, कोखे, धरमपानी सडक स्तरोन्नती योजना, प्रधानमन्त्री रोजगार योजना अन्तरगतका १५ वटा योजनाहरु, हिले खोप कन्द्र स्थापना लागायत वडा नं ५ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको लागि कर्मचारी व्यवस्थापन गरी सेवा आरम्भ गरिएको छ ।

५. सामुदायिक विद्यालयहरुमा दिवा खाजा कार्यक्रम मार्फत गाउँपालिका भित्रका सामुदायिक विद्यालयका बालविकास केन्द्र देखि कक्षा ५ सम्मका सबै विद्यार्थीहरु लाभान्वित भएका छन ।

६. घुमाउने घर संरक्षण कार्यक्रम  तर्फ ५वटा घरलाई अनुदान प्रदान गरिएको छ र खरको छानो विस्थापित कार्यक्रम अन्तरगत ११ वटा घरपरिवारलाई निशूल्क जस्तापाता वितरण गरिएको छ ।

७.पाडापाडी संरक्षण कार्यक्रम कार्यान्वयन गरी गाउँपालिका भित्रका कृषकहरुलाई अनुदान प्रदान गरिएको छ ।

८. कक्षा १ देखि ३ सम्म अनिवार्य र ५ कक्षा सम्म अंग्रेजी माध्यममा पठनपाठन शुरु गरेका गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा निशूल्क रुपमा अंग्रेजी माध्यमको पाठ्यपुस्तक प्रदान गरिएको छ ।

९. त्रिवेणी स्वास्थ्यचौकीमा ल्याब सेवा सञ्चालन गर्नुका साथै सबै स्वास्थ्य चौकीहरु, सामुदायिक स्वास्थ्य ईकाई  र बर्थिङ्ग सेन्टरहरुलाई थप व्यवस्थित बनाईएको छ ।

१०. परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण गर्ने उद्देश्यका साथ यस आ.व मा कृषकहरुलाई जम्मा १७ वटा हाते ट्रयाक्टरका साथै १५वटा कुटानी पिसानी मिल प्रदान गरिएको छ ।

११. गाउँपालिकाको प्रशासकीय भवन निर्माणर्थ निशूल्क जग्गा प्राप्ती गरिएको छ र यथाशीघ्र भवन निर्माणको कार्य अगाडी बढाउन लागिएको छ ।

१२. वडा नं ५ को वडा कार्यालय निर्माण सम्पन्न भई आफ्नै भवनबाट सेवा प्रवाहको थालनी भएको छ।

१३. गाउँपालिका न्यायिक समिति मार्फत गाउँपालिकामा परेका उजुरीका आधारमा विभिन्न विवाद तथा असमझदारीहरुलाई समाधान गरी स्थानीयबासीहरु बीच मेलमिलाप र सौहार्दपूर्ण वातावरण कायम गर्ने कार्य भएको छ ।

अब म आर्थिक वर्ष २०७७।०७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमतीचाहन्छु ।

२.१ दीर्घकालीन सोंच, लक्ष्य, उद्देश्य र अपेक्षित उपलब्धी

दीर्घकालीन सोंच

कृषि, प्रविधि, पर्यटन र पूर्वाधार पैयूँबासीको सम्वृद्धिको आधार

लक्ष्य

दिगो, एकिकृत र सन्तुलित विकासका माध्यमबाट सम्पूर्ण स्थानीय जनताको जीवन स्तरमा सुधार ल्याउने ।

 

उद्देश्य

  • हाल विद्यमान कोरोना भाईरस ( Covid-19) महामारीबाट सिर्जित प्रतिकुल अवस्थामा समग्र पैयूँबासीहरुलाई सचेत गराई सुरक्षित राख्ने व्यवस्था गर्ने,
  • पूर्वाधार विकासमा जोड दिदैं एकीकृत विकास ( Integrated Development) को अवधारणलाई अवलम्वन गर्ने,
  • आर्थिक र सामाजिक रुपमा पछाडी परेका समुदायलाई विशेष जोड दिई सामाजिक न्यायको विकास गर्ने,
  • मौलिक साहित्य, संगित तथा कलाको संरक्षण र प्रवर्द्धन गर्ने,
  • प्राकृतिक सौन्दर्य, सरसफाइ र पर्यावरणीय प्रवर्द्धनमा जोड दिने,
  • स्थानीय स्रोत साधनहरुको समुचित सदुपयोग गरी लगानीको वातावरण तयार गर्ने,
  • पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन गरी रोजगारीको अवसर सिर्जना गर्ने,
  • आधुनिकीकरण सहितको कृषि र पशुपालन तथा जडिबुटी उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवर्द्धन गर्ने।

अपेक्षित उपलब्धीः

सिमित स्रोत साधन र बढ्दो जन अपेक्षाका माझ एकै आ.व भित्र पूर्ण रुपमा अपेक्षित परिवर्तन सम्भव नहुन सक्छ तथापी गाउँपालिकाले चालू आ.व २०७७।०७८ मा देहायका उपलब्धीहरु हासिल गरेको हुनेछः

  • हाल विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट सम्पूर्ण पैयूँबासीहरुलाई सुरक्षित राख्न विशेष व्यवस्थाहरु गरिएको हुनेछ ।
  • हाल विद्यमान सडक संजालको प्राथमिकताका आधारमा स्तरोन्नती हुनेछ ।
  • स्थानीय बासिन्दाहरुको जीवनस्तरमा गुणात्मक परिवर्तनको प्रयास हुनेछ ।
  • विकास निर्माणमा स्थानीय जनताको रचनात्मक सहयोग र सहभागिता वृद्धि हुनेछ ।
  • कृषिको आधुनिकरणको माध्यमबाट कृषिमा आत्मनिर्भरताको सृजना हुनेछ ।
  • सबै वडा कार्यालयहरुबाट Online System बाट प्रशासनिक कार्यहरु सञ्चालन हुनेछ ।
  • आधारभूत स्वास्थ्य क्षेत्रमा सबैको समान पहुँच पुग्नेछ ।
  • शैक्षिक क्षेत्रको वर्तमान स्थितिमा गुणात्मक सुधार आउनेछ ।
  • गाउँपालिकाको आर्थिक विकासको सम्भाव्यताको सुक्ष्म अध्ययन गरी विकासले नयाँ गति लिनेछ ।
  • बालमैत्री, अपाङ्ग मैत्री गाउँपालिका बन्नेछ ।
  • व्यवसायिक कृषि तथा पशुपालनलाई प्रोत्साहन गरिनेछ ।
  • स्वरोजगार तथा युवा रोजगारमुखी कार्यक्रम कृषि,पशुपालन, पर्यटन, नर्सरी, मौरी र माछा पालनलाई प्राथमिकता दिइनेछ ।
  • १ घर १ धारा मार्फत सबै जनतालाई सफा र स्वच्छ खानेपानीको सुविधाको पहल हुनेछ ।
  • जेष्ठ नागरिक सम्मान तथा निःशूल्क स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरिनेछ ।
  • समग्र गाउँपालिका आर्थिक तथा सामाजिक रूपमा समुन्नत हुनेछ ।

 

२.२ वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा अवलम्बन गरिएका प्रमुख नीति तथा आधारहरु

२.२.१ समग्र नीति तथा आधारहरुः

  • नेपालको संविधान, २०७२
  • राष्ट्रिय योजना आयोगको मार्गदर्शन,
  • नेपाल सरकारको पन्ध्रौं योजनाले परिलक्षित गरेका अवधारणाहरु,
  • स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४ (परिमार्जित)
  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४
  • अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४
  • संघ तथा प्रदेश सरकारबाट प्राप्त मार्गदर्शन,
  • नागरिक समाजबाट प्राप्त सुझावहरु,

 

२.१ क्षेत्रगत नीति तथा आधारहरु

क) आर्थिक क्षेत्र

  • कृषि विकास
  • जल, जंगल, उर्वर भूमि, जैविक विविधताका प्राचुर्यताका कारण कृषिलाई पहिलो प्राथमिकता दिई गाउँपालिकाका विभिन्न वडाको माटो, हावापानी ‍,चरन क्षेत्रको पहिचान गरि पशुपालन, तरकारी, माछापालन, फलफूल खेति, मौरीपालन, कुखुरापालन आदि पकेट क्षेत्रको विकास गरिनेछ ।
  • परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई क्रमशः व्यवसायिकरण र आधुनिकिकरणद्वारा विस्थापित गरिनेछ ।
  • गाउँपालिका भित्र आवश्यकतानुसार सिंचाई कुलोहरुको निर्माण तथा मर्मत गरी कृषि जन्य जग्गाहरुमा बर्षै भरी सिंचाइको सुविधा पुर्याइनेछ ।
  • कृषि विज्ञहरुको परामर्श लिई माटो परीक्षण कार्यक्रम सञ्चालन गरी माटो अनुकुलको उत्पादन क्षेत्रको पहिचान गरिनेछ ।
  • ‘जनताको उत्पादन गाउँपालिकाको योगदान कार्यक्रम’ मार्फत कृषकहरुलाईनिश्चित उत्पादन र उद्यमशिलताका आधारमा बिउ,मल,कृषि औजार, ढुवानी लगायत विभिन्न प्रकारका कृषि अनुदानको व्यवस्था गरिनेछ ।
  • गाउँपालिकाभित्र रहेका बाँझो जमिनको एकीकृत लगत संकलन गरी भूमि बैंकको स्थापना गरिनेछ र बाँझो जमिनको उपयोग गरी कृषि उत्पादन वृद्धि गर्नका लागि उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिनेछ ।
  • व्यवसायिक खेती तथा नगदेबाली प्रवर्द्धन गर्ने आयोजनाहरु संचालन गरी कृषि व्यवसाय प्रवर्द्धनका माध्यमबाट रोजगारी सिर्जना गर्ने नीति लिईनेछ ।
  • खाद्यान्नको पर्याप्त उत्पादनलाई प्रोहोत्सान गरी खाद्यान्नमा आत्मनिर्भरताका साथै खाद्य सुरक्षामा टेवा पुर्याइनेछ ।
  • स्थानीय कृषि उपजहरुको विक्री वितरणका लागि मासिक रुपमा हाटबजारको व्यवस्था गरिनेछ साथै कृषि उपज संकलन केन्द्र स्थापनको थालनी गरिनेछ।
  • निर्यातयोग्य एवं उच्च मूल्यका कृषिजन्य बालि/वस्तुहरुको उत्पादन प्रवर्द्धन गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्ने नीति अख्तियार गरिनेछ ।
  • कृषि उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि विकसित प्रविधिहरुको प्रचार प्रसार र प्राविधिक सेवा सर्वसुलभ रूपमा प्रदान गरि कृषकहरुलाई कृषि विकास गर्न सक्षम बनाइनेछ।
  • कृषि तथा पशुमा व्यवसायिकरण, बजारीकरण र सामाजिक सम्मानको वातावरण सृजना गरिनेछ ।
  • खेती योग्य जमिनमा हुने प्लटिङ कार्य वा बस्ती निर्माण कार्यलाई निरुत्साहित पार्ने नीति लिइनेछ ।
  • हाम्रा रैथाने बिउ विजनहरुलाई संरक्षण गर्नका लागि बिज बैंक (SEED BANK)को स्थापना गरिनेछ ।
  • कृषि तथा पशु विकासमा कृषक समुह/समिति/सहकारी/गैरसरकारी संस्था र स्थानीय सरोकारवालाहरुसँग साझेदारी गर्ने नीति अवलम्वन गरिनेछ ।
  • बाँझो र उपयोगहीन जग्गामा सामुहिक रुपमा व्यवसायिक खेती गर्ने कृषक तथा कृषि समुहलाई प्रोहोत्सान गरिनेछ ।
  • कृषक दर्ता कार्यक्रम मार्फत आधाकारिक रुपमा कृषकहरु, पशुपंक्षी सम्बन्धी तथ्याङ्क अभिलेख तयार गरिनेछ साथै गाउँपालिकामा रहेका पशु
  • बाँझो र उपयोगविहीन जग्गाहरुको उपयोग गरी आर्थिक विकासको पहल गरिनेछ जसको लागि गाउँपालिकाले नमुना कृषि क्षेत्र स्थापना गर्नेछ ।
  • पर्यटन
  • पर्यटनलाई गाउँपालिकाको आर्थिक विकासको आधारका रुपमा विकास गर्नका लागी पर्यटन प्रवर्द्धन सम्बन्धी पूर्वाधार विकासमा जोड दिईनेछ।
  • आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी गाउँपालिका भित्र होमस्टे सञ्चालनको थप व्यवस्था गरिनेछ।
  • ऐतिहासिक पैयूँकोट, नायक सायब थान, पालुस्थान, चालालुङ्ग,शिवपुरी धाम, चन्द्रेश्वर शिवालय मन्दिर, लगायतका गाउँपालिकाका पर्यटकीय स्थलहरुलाई थप पूर्वाधारयूक्त बनाईनेछ ।
  • पर्यटन पूर्वाधारहरुको स्थापना गरी पर्यटकीय सम्भावनाको बिस्तार गरिनेछ ।
  • गाउँपालिकाभित्र रहेका हरिया वनजंगल र जिवजन्तुहरुको प्राचुर्यतालाई मध्यनजर गरी जैविक पर्यटनको विकास गरिनेछ ।

 

  • उद्योग, उद्यमशिलता तथा सहकारीता
  • स्थानीय साधनस्रोत र थोरै लगानीमा सञ्चालन गर्न सकिने घरेलु उद्योग सञ्चालनमा जोड दिईनेछ।
  • औद्योगिक विकास बिनाको आर्थिक समुन्नती असम्भव हुने हुदा गाउँपालिकाले आगामी आ.व बाट नै यस सम्बन्धी ठोस प्रयास शुरु गरिनेछ ।
  • गाउँपालिका भित्र सञ्चालित विभिन्न फर्निचर, ग्रिल, पोल्ट्री फर्म व्यवसायलाई थप व्यवस्थित गराईनेछ ।
  • गाउँपालिकाको औद्यौगिक विकासलाई सुदृढीकरण गर्नका लागि औद्योगिक विकास रणनीति निर्माण गरी लागू गरिनेछ ।
  • १ वडा १ सहकारीको नीति अवलम्बन गरिनेछ ।
  • हाउस वयरिङ, कपाल काट्ने, सिकर्मी, डकर्मी सिलाइ कटाइ जस्ता थोरै लगानीमा सञ्चालन गर्न सीपमूलक तालिम सञ्चालन गरी स्वरोजगारीको अवसर सिर्जना गरिनेछ ।
  • संघ तथा प्रदेश सरकारसँग समन्वय गरी औद्योगिक ग्राम स्थापनाको प्रक्रिया अघि बढाईनेछ ।
  • गाउँपालिका भित्र रहेका सहकारीहरुलाई थप व्यवस्थित र सुदृढिकरण गरिनेछ ।

ख) सामाजिक क्षेत्र

शिक्षा तथा सामाजिक सुधार सम्बन्धी

  • हाल विद्यमान कोरोना भाईरसको महामारीका कारण सिर्जित असहज स्थितिमा वैकल्पिक शिक्षण विधिको प्रयोग गरी शैक्षिक क्रियाकलाप सञ्चालनको व्यवस्था गरिनेछ ।
  • कोभिड-१९ का कारण बालबालिकामा परेको नकरात्मक प्रभावलाई न्यूनिकरण गर्नका लागि मनोसामाजिक तथा उत्प्रेरणामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
  • गाउँपालिका भित्रका विद्यालयहरुको अवस्थामा सुधार ल्याई शैक्षिक गुणस्तरमा वृद्धि गरिनुका साथै गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तीको व्यवस्था गरिनेछ ।
  • संघीय सरकारबाट निर्धारित कार्यविधि र मापदण्डको अधिनमा रही गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरु मर्ज गरी सामुदायिक विद्यालको शिक्षालाई थप गुणस्तरीय बनाईनेछ ।
  • उत्कृष्ट नतिजाका साथ शैक्षिक क्षेत्रमा उल्लेखीय सुधार ल्याउने विद्यालयलाई गाउँपालिकाले प्रोहोत्सान स्वरूप आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउने नीति अवलम्वन गरिनेछ ।
  • सामुदायिक विद्यालहरुको शैक्षिक गुणस्तरमा वृद्धि गर्नुका साथै क्रमशः १ वडा १ सामुदायिक नमुना विद्यालयको विकास गर्ने नीति अवलम्बन गरिनेछ ।
  • फरक क्षमताका बालबालिकाका साथै बालमैत्री तथा छात्रामैत्री विद्यालयको रुपमा विकास गर्ने गरी विद्यालयहरुको भौतिक संरचनाहरुमा क्रमशः सुधार गरिनेछ ।
  • कमजोर आर्थिक स्थितिकै कारण शिक्षाको अवसर बाट वञ्चित हुनुपर्ने स्थितिलाई अन्त्य गर्नका लागि विशेष पहल गरिनेछ ।
  • शिक्षा क्षेत्रमा कार्य गर्ने गैरसरकारी संघसंस्थाहरुसँग आवश्यक समन्वय गरी यस गाउँपालिकाको शैक्षिक विकासमा एकीकृत कार्यक्रम सञ्चालन गरिनेछ ।
  • सुचना प्रविधिको वर्तमान युगलाई मध्यनजर गर्दै शिक्षा क्षेत्रमा आधुनिकीकरण गर्दै समय सापेक्ष बनाउनका लागि सबै विद्यालयहरुमा क्रमशः कम्प्युटर र प्रोजेक्टरका माध्यमद्वारा शिक्षण गर्ने व्यवस्था मिलाइने छ ।
  • दलित, महिला, आदिवासी जनजाती एवं सिमान्तकृत वर्गलाई शैक्षिक अवसरहरुको सुनिश्चितता प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।
  • एस. ई. ई लगायत विभिन्न तहमा गाउँपालिकाबाट सर्वोत्कृष्ट नतिजा ल्याउने छात्र छात्राहरुलाई सम्मान गरिनेछ ।
  • गाउँपालिकाको शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याउने शिक्षक, शिक्षिकाहरुलाईदिर्घ सेवा सम्मान पुरस्कारको व्यवस्था गरिनेछ ।
  • जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावक सहितको संयुक्त उपस्थितिमा एक अर्कालाई उत्तरदायी बनाउनुका साथै सामुदायिक विद्यालयको शिक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ विद्यार्थी सँग अध्यक्ष कार्यक्रम सञ्चालन गरिनेछ ।
  • आ.वि हरुको हकमा कक्षा ८ को परीक्षाको नतिजा र मा. वि हरुको हकमा एस.ई.ई परीक्षाको नतिजाका साथै विद्यालयको समग्र शैक्षिक वातावरण तथा व्यवस्थापन लगायतका आधारमा मूल्याङ्कन गरी हरेक वर्ष उत्कृष्ट वर्ष विद्यालय (School Of the Year) का रुपमा सम्मान तथा पुरस्कारको व्यवस्थ गरिनेछ ।
  • गाउँपालिकाको समग्र शैक्षिक विकासका लागि नीजि क्षेत्र, गैसस लगायत सम्पूर्ण सरोकारवाल निकायसँग सहकार्य गरिनेछ ।
  • गाउँपालिकाको शैक्षिक क्षेत्रमा थप सुधार ल्याउनका लागि गाउँपालिकाशिक्षा सुधार रणनीति निर्माण गरी कार्यान्वयन गरिनेछ ।
  • समाजमा विद्यमान जातीय विभेद, दाइजोप्रथा,बालविवाह, जाँड रक्सी, जुवातास,लागू औषध दुर्व्यसनी जस्ता कुप्रथालाई निरुत्साहित गर्ने ।
  • सामुदायिक विद्यालयहरुमा सामुदायिक खाजा कार्यक्रमलाई थप व्यवस्थित गरिनेछ ।

 

स्वास्थ्य सम्बन्धी

  • कोरोना भाईरस महामारीका कारण सिर्जित वर्तमान परिस्थितिमा सम्पूर्ण पैयूँबासीहरुलाई कोभिड-१९ बाट सुरक्षित राख्नका लागि पर्याप्त व्यवस्था गरिनेछ ।
  • गाउँपालिका तथा वडा स्तरमा सञ्चालित क्वारेन्टाईनलाई थप व्यवस्थित गरिनुका साथै सम्पूर्ण स्वास्थ्यकर्मीहरुका लागि आवश्यक सुरक्षण सामाग्रीहरु पी.पी.ई, मास्क, स्यानिटाईजर, ग्लोब्स आदिको पर्याप्त प्रबन्ध गरिनेछ ।
  • आधारभूत स्वास्थ्य नागरिकको मौलिक हकका रुपमा रहेकाले स्वास्थ्य चौकी, औषधालय, निःशूल्क स्वास्थ्य सेवा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा स्वास्थ्यकर्मीहरुको सेवालाई नियमित र पहुँचयोग्य तुल्याईनेछ ।
  • महिलाहरुको पाठेघर र स्तन क्यान्सर रोकथाम, २ वर्ष मुनिका बालबालिकाहरुको पोषण स्थितिमा सुधार लगायत स्वास्थ्य सम्बन्धी पर्याप्त जनचेतनामूलक कार्यक्रमहरु संचालन गरिनेछ ।
  • गाउँपालिका भित्र ‍अत्यावश्यक औषधिको वर्षभरी नै अभाव हुन दिईने छैन ।
  • सुरक्षित प्रसुतीसेवाका माध्यमबाट मातृ शिशु मृत्यदरलाई न्यूनिकरण गर्नका लागि गाउँपालिका भित्र सञ्चालित सबै बर्थिङ सेन्टरहरुलाई थप साधनस्रोत सम्पन्न र व्यवस्थित बनाइनेछ।
  • विभिन्न सरुवा रोगहरु तथा महामरी रोकथामाका निम्ति जनचेतनामूलक कार्यक्रमको व्यवस्था गरिनेछ साथै आयुर्वेद चिकित्सा पद्धति तर्फ नागरिकहरुलाई प्रोहोत्साहित गरिनेछ।
  • महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुलाई लक्षित गरी एकिकृत विशेषज्ञ स्वास्थ्य शिविरहरुको आयोजना गिरिनेछ ।
  • एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरि सबै स्थानीय बासिन्दाहरुलाई लाभावन्वित गराईनेछ।
  • गाउँपालिका भित्रका बर्थिङ्ग सेन्टर\ स्वास्थ्य संस्थाहरुमा नियमित चेकजाँच गराई गाउँपालिकाको स्वास्थ्य संस्थाबाट नै प्रसुती सेवा लिने आमाहरुलाई लक्षित गरी प्रोहोत्सान कार्यक्रमको व्यवस्था गरिनेछ ।
  • संघ तथा प्रदेश सरकारसँग सहकार्य गरी गाउँपालिकामा एक १५-२५ शैया अस्पताल स्थापना गरी स्वास्थ्य सेवालाई विस्तार गरिनेछ ।
  • जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरुलाई आवश्यकतानुसार ह्वील चियर, वैशाखी, बेड, ईयर डिभाईस लगायतका सामग्रीहरुको व्यस्था गरिनेछ ।

भाषा संस्कृती ,लैङ्गिक समनता तथा सामाजिक समावेशिकरण

  • सबै किसिमका हिंसाहरु जातीय तथा लैङ्गिक विभेद, छुवाछुत कुप्रथा मुक्त गाउँपालिका निर्माण गर्ने नीति अवलम्बन गरिनेछ ।
  • विपन्न तथा पिछडिएका वर्गका महिलाहरुलाई लक्षित गरी समग्र महिलाहरुको सशक्तिकरण सम्बन्धी कार्यक्रमहरु संचालन गरिनेछ ।
  • श्रमिक, किसान एकल महिला लगायत विपन्न वर्गका जनताहरुको लागि आयमूलक एवं क्षमता विकास सम्बन्धी क्रियाकलापहरु सञ्चालन गरिनेछ ।
  • सवै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास एवं उनिहरुको सामाजिक सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउदै लैजाने नीति लिईनेछ।
  • निर्णय प्रक्रियामा महिलाहरुको सहभागिता प्रवर्द्धन गर्ने कार्यक्रमम संचालन गरी सहभागिताको सुनिश्चितत गरिनेछ ।
  • बालबालिका सम्बन्धी बाल क्लब संजाल एवं बालबालिकाको क्षमता विकासका कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ ।
  • निर्माण गरिएका वा गरिने सामाजिक एवं भौतिक पूर्वाधारहरुलाई बालबालिका एवंअपाङ्गमैत्री बनाउँदै लगिनेछ ।

 जेष्ठ नागरिकहरुको सामाजिक पहिचान, सम्मान एवं सामाजिक सुरक्षामा विशेष जोड दिने नीति लिइनेछ ।

  • लक्षित वर्गका लागि सञ्चालन गरिने कार्यक्रमहरुमा सो समुहका सिमित टाठाबाठा व्यक्तिको हालिमुहाली (Ellite Capture) निरुत्साहित गरिनेछ ।
  • आदिवासी जनजाती लगायत स्थानीय मौलिक भाषा संस्कृति तथा परम्पराहरुको संरक्षण एवं सम्बर्द्धन गरिनेछ। साथै गाउँपालिकाका सबै जातजातीको मौलिक सँस्कृतिको संरक्षण गर्नका लागि १ संस्कृती घरको स्थापना गरिनेछ ।
  • परम्परागत शैलीमा निर्मित संरचना जस्तैः घुमाउने छानो सहितको घर आदिको संरक्षणमा जोड दिईनेछ।
  • गाउँपालिका भित्रका आर्थिक तथा सामाजिक रुपले पिछडिएका तथा लोपोन्मुख जातीहरुको संरक्षणका लागि ठोस कदम चालिनेछ।
  • सुरक्षित छानो कार्यक्रम सञ्चालित संघ तथा प्रदेश सरकारसँग समन्वय गरी आर्थिक तथा समाजिक रुपमा विपन्न नागरिकहरुको खरको छानो विस्थापन गरी जस्तापाताको व्यवस्था गरिनेछ ।
  • गाउँपालिकाभित्र परम्परागत रुपमा सञ्चालित मेला तथा जात्राहरुलाई संरक्षण तथा सम्वर्द्धन गरिनेछ।
  • सामाजिक न्यायलाई जनस्तरमा पुर्याउन वडास्तरमा मेलपिलाप केन्द्रको विस्तार गर्नुका साथै न्यायिक समितिलाई थप प्रभावकारी बनाईनेछ ।

 खानेपानी तथा सरसफाई

  • गाउँपालिकाको सबै घरहरुमा सफा र स्वच्छ खानेपानीको सहज पहुँचको आवश्यक व्यवस्था गरिनेछ।
  • पूर्ण सरसफाई सम्बन्धी राष्ट्रिय रणनीति कार्यान्वयनको व्यवस्था गरिनेछ साथै सरसफाईको क्षेत्रमा नमुना गाउँपालिकाको रूपमा स्थापित गरिनेछ।
  • १ घर १ धाराको नीति लिई क्रमशः लागू गरिनेछ ।
  • पूर्ण सरसफाई सम्बन्धी जनचेतना अभिवृद्धि गरिनुका साथै गाउँपालिका अन्तरगतका सहरोन्मुख क्षेत्रहरुमा आवश्यकतानुसार डस्टविन तथा सार्वजनिक शौचालयहरुको व्यवस्था गरिनेछ ।
  • स्वच्छ एवं गुणस्तरीय खानेपानीको आपूर्तीलाई व्यवस्थित गर्न पुराना खानेपानी योजनाहरुको दिगो संरक्षण, मुहानको खोजी र संरक्षण गरी पर्याप्त खानेपानीको आपूर्तीको व्यवस्था गरिनेछ ।
  • परम्परागत रुपमा निर्मित कुवा, ढुंगेधारा, पोखरीहरुको संरक्षण एवं प्रवर्द्धन गरिनेछ ।
  • फोहोरलाई मोहरमा परिवर्तन गर्न
  • फोहोर व्यवस्थापनका लागि गाउँपालिकाभित्र ल्याण्डफिल्ड साईटको स्थापना गरिनेछ ।

युवा तथा खेलकुद विकास

  • कोरोना महामारीका कारण ठूलो संख्यामा वैदेशिक रोजगारीमा विभिन्न मुलुकहरुमा गएका युवाहरु गाउँपालिका फर्कन सक्ने स्थितिलाई मध्यनजर गरीयुवाहरुमा उद्यमशिलताको विकास गर्न युवा उद्यमशिलता कार्यक्रमको व्यवस्था गरिनेछ ।
  • वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुमा रहेको सिपलाई उपयोग गर्ने नीति अबलम्बन गरिनेछ ।
  • युवा लक्षित सिपमूलक तालिम संचालन गरी स्वरोजगारीको अवसर सिर्जना गर्दै विदेश पलायनको वर्तमान स्थितिमा सुधार ल्याइनेछ।
  • विभिन्न युवा क्लबहरु तथा युवा लक्षित संघ संस्थाहरुसंग सहकार्य गर्दै युवाहरुमा नेतृत्व विकासको अवसरहरु प्रदान गरिनेछ ।
  • खेलकुदलाई मनोरञ्जन र स्वास्थ्यसँग आवद्ध गरी यसको विकास गरिनेछ साथै गाउँपालिका भित्र रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई सम्मान र प्रोहोत्सान गरिनेछ ।
  • खेलकुद विकासलाई जोड दिंदै गाउँपालिका स्तरीय रंगशाला निर्माण लगायत खेलकुद सम्बन्धी पूर्वाधार निर्माणको शुरुवात गरिनेछ ।
  • गाउँपालिकामा खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनलाई प्रोहोत्साहित गर्ने नीति अवलम्बन गरिनेछ ।
  • युवाहरुलाई दुर्व्यसनीबाट मुक्त दिलाउन आवश्यक कदम चालिनेछ ।
  • गाउँपालिका भित्र रहेका विभिन्न युवा क्लवहरुलाई समाज सुधार तथा विकास कार्यमा आवद्ध गराउने नीति अवलम्बन गरिनेछ ।
  • युवाहरुलाई उद्यमशिलता तर्फ उन्मूख गराउनका लागि प्रोहोत्सान मूलक कार्यक्रमहरुको व्यवस्था गरिनेछ ।
  • खेलकुद क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै क्रमशः१ वडा १ खेल मैदानको व्यवस्था गरिनेछ ।

(ग)पूर्वाधार क्षेत्र

  • जथाभावी नयाँ ट्र्याकहरु खोल्ने कार्यलाई निरुत्साहित गर्दै संचालनमा रहेका सडकहरुको स्तरोन्नती गरी सबै र सधैंका लागि सडक को मूल मर्मलाई आत्मसात गरिनेछ ।
  • सडक विकासलाई व्यवस्थित गर्नका लागि गाउँपालिकाको यातायात गुरु योजना निर्माण गरिनेछ ।
  • सडक,पुलजस्ता भौतिक पूर्वाधार निर्माणमा आर्थिक, वातावरणीय, सामाजिक पक्षको मूल्याङ्कन एवं अध्ययनको आधारमा गुणस्तरीय एवं वातावरण मैत्री भौतिक पूर्वाधार निर्माणमा जोड दिइनेछ ।
  • गाउँपालिकाको केन्द्र, सदरमुकाम र वडा कार्यालयहरुको सम्पर्क सडकहरुको स्तरोन्नतीमा जोड दिईनेछ ।
  • ग्रामीण तथा कृषि सडकहरु निर्माण गर्दा स्थानीयस्तरमा हुने कृषि उत्पादनका आधारमा प्राथमिकता दिइनेछ।
  • गाउँपालिका भित्रका सडकहरुलाई वर्षैभरी सञ्चालनमा राख्न तथा पूर्वाधार सम्बन्धी संरचनाहरुको नियमित मर्मत संभारका लागि एक मर्मत सम्भार कोष स्थापना गरिनेछ ।
  • सहरोन्मुख क्षेत्रहरुमा व्यवस्थित बस्ती विकासको थालनी गर्नुका साथै बसपार्कको व्यवस्था गरिनेछ।
  • सडक लगायत कुनैपनि विकासका पूर्वाधार सम्बन्धी योजनाहरु कार्यन्वयनका चरणमा अनावश्यक विवाद, ढिला सुस्ती र अनियमितता  गर्ने उपभोक्त समिति, निर्माण व्यवसायी लगायत सबैलाई निरुत्साहित  गर्ने नीति अवलम्बन गरिनेछ ।
  • गाउँपालिकाभित्रका सार्वजनिक जग्गाको लगत संकलन गरी नियमानुसार सार्वजनिक हितका विभिन्न पूर्वाधार निर्माणमा उपयोग गरिनेछ ।

 

उर्जा एवं विद्युतिकरण सम्बन्धी

  • गाउँपालिकामा विद्यमान काठेपोल विस्थापन योजनालाई निरन्तरता दिईनुका साथै विद्युतीय तार व्यस्थापन गरिनेछ ।
  • गाउँपालिकाभित्रका सहरोन्मूख क्षेत्रहरुमा सौर्य सडक बत्तीको व्यवस्था गरिनेछ ।
  • जल विद्युत उत्पादन कार्यमा निजी तथा सरकारी सहकार्यको नीति अवलम्बन गरिनेछ ।
  • वैकल्पिक उर्जाको विकासमा जोड दिईनेछ ।

सञ्चार

  • गाउँपालिका क्षेत्रलाई आधार मानेर पत्रकारिता गर्ने तथा पत्रकारहरुलाई सम्मान गरिनेछ ।
  • गाउँपालिका भित्र सञ्चालित एफ एम रेडियो लगायत छापा माध्यमबाट सूचना प्रसारण गर्ने संघसंस्थाहरुलाई आवश्यकतानुसार सहयोग गरिनेछ ।
  • सबै संचार माध्यम संग समदुरीको नीति अख्तियार गरिनेछ ।
  • लाईनफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक पहल गरिनेछ ।

 (घ) वातावरण तथा विपद व्यवस्थापन

 विभिन्न प्रकारका विपदबाट सिर्जित संकटपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै विपद व्यवस्थापन कोषमा थप बजेटको व्यवस्था गरिनेछ ।

  • कोरोना भाईरसबाट सिर्जित वर्तमान स्थितिमा आवश्यक व्यवस्था गर्नका लागि कोरोना कोषमा थप रकम व्यवस्था गरिनेछ ।
  • संघ तथा प्रदेश सरकारसँग सहकार्य गरी सेतीखोलामा तटबन्धको प्रबन्ध गरिनेछ ।
  • स्थानीय जनताको सहभागिताको माध्यमबाट वनको संरक्षण, दिगो व्यवस्थापन तथा संस्थागत सुदृढीकरण गरी दैनिक जनजीवनमा आवश्यक वन पैदवारको सुलभ आपुर्ति गर्ने व्यवस्था मिलाइनेछ,

 सामुदायिक वन तथा खाली जग्गामा वर पिपल तथा समी तथा रुद्राक्षका रूखहरु रोपिने छ ।

  • गाउँपालिकाभित्र बढ्दै गरेको सहरीकरण र फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समाधानका लागि गाउँपालिकामा १ ल्याण्डफिल्ड साईटको निर्माण कार्य अगाडी बढाईनेछ ,
  • लोपोन्मूख वनस्पति र वन्यजन्तुहरुको पहिचान, संरक्षण र सम्वर्द्धन गरिनेछ,
  • भू-संरक्षण तथा जलाधार व्यवस्थापन कार्यमा तत्काल कार्य अघि बढाइनेछ,
  • जलवायु परिवर्तन अनुकुलन तथा वातावरण संरक्षणमा टेवा पुर्याउने कर्यक्रमलाई जोड दिईनेछ,

 

  • प्राकृतिक वा मानवद्वारा सिर्जित विपदका कारण गाउँपालिकाभित्रका जनताहरुलाई तत्काल आर्थिक सहायता प्रदान गर्नका लागि विपद व्यवस्थापन कोषमा थप रकमको व्यवस्था गरिनेछ,
  • गाउँपालिका भित्र रहेका विपद जोखिम युक्त स्थानहरुको पहिचान गर्नुका साथै बाढी, पहिरो, भूकम्प लगायतका विभिन्न प्राकृतिक विपदका क्रममा प्रयोग गर्न सकिने गाउँपालिका भित्रका सुरक्षित स्थलहरुको पूर्व पहिचान गरी सबैलाई जानकारी गराईनेछ,
  • विभिन्न सरोकारवाला निकायहरुसँग सहकार्य गरि विवपद पूर्वको पुर्व तयारी सम्बन्धी जनचेतना फैलाउनका लागि विद्यालयहरुमा तत सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिनेछ ,
  • गाउँपालिकामा विद्यमान वन्यजन्तु अतिक्रमण विशेषतः बाँदर आतंकालाई मध्यनजर गरी बाँदर नियन्त्रणको दीर्घकालीन समाधानका लागि सामुदायिक तथा निजी वन र खुला जमिनहरुमा छिट्टै फल्ने फलफूलहरु रोप्ने कार्यक्रमको व्यवस्था गरिनेछ । साथै अल्पकालीन र तत्कालीन उपाय समेत अवलम्बन गरिनेछ ।
  • गाउँपालिका भित्र रहेका जोखिम युक्त स्थानहरुको पहिचान गर्नुका साथै विपदका क्रममा उपयोग हुन सक्ने

 

  • विपदको समयमा तत्काल उद्धार गर्नका लागि गाउँपालिका स्तरीय एकीकृत Rapid Response Team ( RRT) को व्यवस्था गरिनेछ,

ङ) संस्थागत विकास, सेवा प्रवाह र सुशासन

  • गाउँ कार्यपालिकाको कार्यालय भवन निर्माणको थालनी गर्नुका साथै आफ्नै वडा कार्यालय भवन नभएका वडा कार्यालयहरुको निर्माण गरिनेछ,
  • गाउँपालिका स्तरीय एक सभाहलका साथै १ वडा १ सभाहल निर्माण कार्यको थालनी गरिनेछ ।
  • सेवा प्रवाहमा जेष्ठ नागरिक, फरक क्षमताका व्यक्तिहरु, महिला तथा बालबालिकाहरुलाई प्राथमिकता दिईनेछ,
  • सामाजिक सुरक्षा भत्ता तथा व्यक्तिगत घट्ना दर्ता प्रणालीलाई अनलाईन प्रविधि मार्फत सञ्चालन गरिनेछ साथै सम्पूर्ण अभिलेखहरुलाई डिजिटलाईजेशन गर्ने कार्य थालनी गरिनेछ,
  • गाउँपालिका भित्रका सबै सार्वजनिक सेवा प्रदायक निकायहरुमा ( First Come First Serve) को नीति अवलम्बन गरिनेछ
  • सेवा प्रवाहमा सुचना तथा संचार प्रविधि (ICT)  को प्रयोग मार्फत सार्वजनिक सेवा प्रवाहलाई थप छिटो छरितो र सहज बनाईनेछ,
  • भ्रष्टचार विरुद्ध शून्य सहनशिलताको नीति लिई पारदर्शिता, जवाफदेहीता, र सुशासन वृद्धिको लागि आधुनिक सफ्टवयर प्रणालीको प्रयोग गरिनेछ ।
  • गाउँपालिकाबाट सम्पादन हुने कार्यहरुलाई नियमानुसार सार्वजनिक गर्दै सार्वजनिक सुनुवाईलाई थप प्रभावकारी बनाईनेछ,
  • सबै वडा कार्यालयबाट online System बाट प्रशासनिक सेवा प्रवाहको थालनी गरिनेछ,
  • पञ्जीकरण, जिन्सी व्यवस्थापन, लेखा लगायत सँग सम्बन्धित कार्यहरुलाई थप व्यवस्थित बनाउनका लागि विभिन्न Software तथा Application हरुको व्यवस्था गरिनेछ ।
  • कर्मचारीहरुलाई सेवा प्रवाह सम्बन्धी विभिन्न तालिमको व्यवस्था गरिनेछ ।
  • कर्चारीहरुको मनोबल उच्च राख्नका लागि हरेक वर्ष उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रमको व्यवस्था गरिनेछ ।
  • जनउत्तरदायी, पारदर्शी, निष्पक्ष र नतिजामुखी प्रशासन निर्माण गरिनेछ।
  • चौमासिक रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरिनेछ ।
  • शिक्षा, स्वास्थ्य, पशु स्वास्थ्य लगायत गाउँपालिका बाट प्रवाह गरिने सेवाहरुलाई जनताको घर दैलो सम्म पुर्याउन यथासम्भव एकीकृत घुम्ती सेवा शिविरको आयोजना गरिनेछ।

अन्य क्षेत्रहरु

सुरक्षा व्यवस्थापन

  • गाउँपालिकाको सुरक्षा व्यवस्थापनलाई थप मजबुत गराईनेछ,
  • गाउँपालिकाका सबै वडाहरुमा प्रहरी चौकीको व्यवस्था गर्न आवश्यक पहल गरिनेछ,
  • गाउँपालिका भित्र शान्ति सुव्यवस्थ कायम गर्न जिल्ला र गाउँपालिका भित्रका सबै सुरक्षा निकायहरु सँग समुचित समन्वय कायम गरिनेछ

निजी तथा गैसस

  • गाउँपालिकाको विभिन्न क्षेत्रहरुमा विकास गर्नका लागि निजी तथा गैरसरकारी संघ संस्थाहरुसँग सहकार्य गरिनेछ ।
  • निजी तथा गैरसरकारी संघ संस्थाहरुको क्रियाकलापलाप थप व्यवस्थित गर्दै आवश्यक सहयोग र समन्वय गरिनेछ।
  • निजी क्षेत्र सँग रहेको पुँजीलाई गाउँपालिका भित्र परिचालन गर्ने वातावरण निर्माण गरिनु का साथै सामाजिक उत्तरदायित्व (Social Corporate Responsibility)  बहन तर्फ उन्मुख गराईनेछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!