आज अक्षय तृतीया : जौको सातु र सर्वत खाएर मनाइँदै - News site from Nepal
आज अक्षय तृतीया : जौको सातु र सर्वत खाएर मनाइँदै

पर्वत- वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ ।
आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षयअर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको सुरुवात भएको मानिन्छ ।

यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदिन र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ ।

जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुसी हुनुहुने धार्मिक विश्वास छ ।

यस अवसरमा निराहार व्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने मत्यस्य पुराणमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!