
पर्वत- गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले पर्वत अस्पतालको अवलोकन गर्नुभएको छ । पर्वत अस्पतालमा निर्माणाधिन सुविधा सम्पन्न भवनको कार्यप्रगति र अस्पतालका सेवाहरुको वारेमा जानकारी लिनका लागि अनुगमन गर्नुभएको हो ।
सो अवसरमा मन्त्री पुनले पर्वत अस्पतालले छिट्टै ५० शैयाको मान्यता पाउने बताउनुभयो । उहाँले नागरिकहरुलाई गुणस्तीय सेवा दिनका लागि भौतीक पुर्वाधार पनि अब्बल हुनुपर्ने बताउँदै प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले पर्वत अस्पतालको कार्यप्रगतिवारे सन्तोष व्यस्त गर्दै निकट भविष्यमै पर्वत अस्पतालले ५० शैयाको अस्पतालको दरबन्दीको समेत स्वीकृति पाउने आश्वासन दिनुभएको छ ।
पर्वत जिल्ला अस्पतालमा पछिल्लो समय विभिन्न सेवा सुविधाहरु पनि थपिँदै गएको बताउँदै अब नागरिकहरु सानो तिनो रोगको उपचारका लागि पोखरा, काठमाण्डौ जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताउनुभयो । कोभीड-१९ को कारण स्वास्थ्यका अन्य पूर्वाधारहरु निर्माणमा समस्या परेको बताउँदै अब पालिका स्तरमा र जिल्ला स्तरमा बनेका स्वास्थ्य पूर्वाधारहरुलाई मजबुत गराउँदै लगिने बताउनुभयो ।
सो अवसरमा पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले अस्पतालको समग्र अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । जिल्लामा कोभिडको अवस्था र जिल्ला अस्पतालवाट प्रवाह भैरहेका सेवा सुविधा तथा समस्याका बारेमा जानकारी गराउँदै आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको थियो ।