गाउँपालिकामा कार्यरत विषयगत शाखाका कर्मचारीहरु र प्रशासकीय अधिकृतका वीचमा गाउँपालिकाले विनियोजन गरेका योजनाहरुको काम सम्पन्न गर्ने विषयमा द्धयपक्षिय सम्झौता सोमबार सम्पन्न भएको हो । विषयगत शाखाहरुका प्रमुख र प्रशासकीय अधिकृत वीच भएको सम्झौतामा मासिक उपलब्धिका आधारमा कर्मचारीको मूल्यांकन गरिनेछ ।
आर्थिक बर्षमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने रणनीति समेत अबलम्बन गरिएको प्रशासकीय अधिकृत किसान क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार विषयगत शाखाहरुको वीचमा समेत आफ्ना योजनाहरु सम्पन्न गर्न प्रतिस्पर्धा होस् भनेर यस्तो सम्झौता गरिएको हो ।
सम्झौतामा विनियोजीत बजेट र कार्यक्रम कार्यान्वयन गर्न समस्या परेको त्यसको अग्रीम जानकारी गाउँपालिकालाई कर्मचारीले दिनुपर्नेछ । मासिक प्रतिवेदन पेश गरी कार्य प्रगतिको समेत मूल्यांकन आवधिक रुपमा गरिने गरी सम्झौता गरिएको छ । कार्यालयको कामलाई चुस्त, दुरुस्त, पारदर्शी, छिटो, छरितो बनाई कर्मचारीको भूमिका अझै प्रभावकारी बनाउनका लागि उक्त सम्झौता गरिएको प्रशासकीय अधिकृत क्षेत्रीले जानकारी दिए ।
गाउँपालिकामा रहेका पशु शाखा, स्वास्थ्य शाखा, महिला विकास शाखा, शिक्षा शाखा, वातावरण तथा विपद शाखा, उद्यम शाखा लगाएतका शाखाहरुका प्रमुखहरुले सम्झौतामा हस्ताक्षर गरेका छन । यसले सेवाग्राही प्रति कर्मचारीलाई थप उत्तरदायी र जवाफदेहि बनाउने क्षेत्रीले विश्वास ब्यक्त गरे ।