लमाएखोला स्थित बिसेको चापट देखि काईला पन्तीको बगरमा टंकि राखेर पानी तान्ने योजना स्वरुप लिफ्ट प्रविधिको सिँचाई आयोजनाको काम शुरु भएको हो । नगरप्रमुख पदमपाणी शर्माले आज उक्त आयोजनाको शिलन्यास गर्नुभएको छ ।

आयोजना शिलन्यास गर्दै नगरप्रमुख शर्माले फलेवास उर्वर भूमी भएर पनि सिँचाईको अभावले बाँझै पल्टिएको बताउँदै अव हिउँदमा खेतवारी बाँझो नहुने बताउनुभयो । राज्यले कृषिमा आधुनिकिकरण, प्रविधिकरण र व्यवसायिककरणको परिकल्पना गरेको बताउँदै शर्माले फलेवासको समृद्धि कृषिबाटै संभव रहेको दाबी गर्नुभयो । उहाँले बाह्य हस्तक्षेपकारी अवस्था बिस्तारै कम भईरहेको अवस्था सिर्जना भईरहेकोले कृषि क्रान्ति मार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यमा लाग्नुपर्ने बताउनुभएको छ । कृषि मार्फत नगरको अर्थतन्त्र माथि उकासिने भएकोले आयातमा परनिर्भरताले प्रतिस्थापन गरी निर्यातको बातावरणलाई बढाउन नगरपालिका लागिपरेको जिकिर गर्नुभयो ।

किसानहरुलाई पर्ने आवश्यक सिँचाई, बजारीकरण, प्रशिक्षण लगायतका कुरामा सहयोग गर्न नगरपालिका तयार रहेको प्रमुख शर्माले बताउनुभयो । फलेवास धान व्लक सञ्चालक समितिको प्रस्तावमा कृषि ज्ञान केन्द्र पर्वत मार्फत कार्यान्वयन हुने गरि बजेटको व्यवस्था गरिएको छ । सिँचाई सुविधाका लागि एक करोड ३१ लाखको डिपिआर बनाएर काम शुरु भएको हो ।

प्रदेश सरकारले बजेटको व्यवस्था गर्ने र अपुग रकम नगरपालिकाले व्यहोर्ने गरि काम शुरु गरिएको धान व्लक सञ्चालक समितिका अध्यक्ष वलराम भुसालले जानकारी दिनुभयो । वर्खामा फलेवास वहृत नहरकै पानी प्रर्याप्त भएपनि हिउँदमा भने कुलोमा पानी आउँदैन । हिउँदका लागि लिफ्ट मार्फत सिँचाई भएपछि किसानलाई राहात हुने भुसालले बताउनुभयो । यो आयोजनाले मुडिकुवा, खानीगाउँ र देबिस्थानका करिव ५ हजार जनसंख्या लाभन्वित हुने अनुमान गरिएको फलेवासका प्रवक्ता टिकाराम गौँडेलले बताउनुभयो ।

भोलीबाट निर्माणको काम शुरु भएपछि अर्को आर्थिक वर्षको हिउँद सम्म काम सम्पन्न गर्ने लक्ष्य रहेको गौँडेलले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्रले चालु वर्ष फलेवासको मुडिकुवा, खानीगाउँ, देविस्थान र कुर्घा समेटेर धान व्लक क्षेत्र घोषणा गरेको छ ।