गण्डकी प्रदेशका मन्त्री लम्साल सहितको टोलीले पर्वतमा कोरोना भाईरसको प्रभाव र रोकथामबारे निरिक्षण , पिसिआर मेशीन छिट्टै आउँदै - News site from Nepal

पर्वत- व्रिश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसले पर्वत जिल्लामा पारेको प्रभावका बारेमा गण्डकी प्रदेश सरकारले अनुगमन तथा निरिक्षण गरेको छ । प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सााल, स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्मा, पर्यटन सचिब दिपक खराल सहितको प्रतिनिधि मण्डलले अनुगमन गरेको हो । सो अवसरमा जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रतिनिधि मण्डलले पर्वतको सिसीएमसीसँग छलफल गरेको छ । छलफलका क्रममा जिल्लामा दैनिकजसो संक्रमणको जोखिम बढ्दै गएको र व्यवस्थापनमा समस्या हुँदै गएकोले प्रदेश सरकारले आवश्यक सहयोग गर्न माग गरिएको छ । सिसिएमसी पर्वतका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले संक्रमितको संख्या थपिँदै जाँदा चुनौती र समस्याहरु पनि बढ्दै गएको बताउँदै श्रोत र साधनले भ्याएसम्म रोकथामका लागि प्रयास गरेको बताउनुभयो ।
सो अवसरमा जिल्लामा स्वास्थ्य सुरक्षाका सामाग्रीहरुको अभाव रहेको, पिसिआर रिपोर्ट ढिला आउँदा स्वास्थ्यकर्मी र अन्य सर्वसाधारणहरुलाई समस्या भएको, एम्लुलेन्स ड्राईभरहरुले संक्रमित विरामीहरुलाई बोक्न आनाकानी गर्ने गरेको लगायतका समस्या राखिएको थियो ।


सो अवसरमा मन्त्री लम्सालले अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशमा कोभिडको व्यवस्थापन प्रभावकारी रहेको बताउँदै सवैले यो समयमा सक्रियता बढाउनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले साविक धौलागिरि अञ्चलका जिल्लाको पिसिआर परिक्षण गर्नेगरी मेशीन ल्याउने तयारी गरेको बताउँदै आवश्यक प्राविधिक जनशक्तिको व्यवस्थापन गरेपनि पर्वतमा पनि उक्त मेशिन ल्याईने बताउनुभयो । उहाँले पर्वतमा मेशीन आएपछि धेरै समस्या समाधान हुने पनि बताउनुभयो । उहाँले कोरोनाको संक्रमण समुदायस्तरमा फैलन नदिनका लागि आवश्यक सुरक्षा व्यवस्थामा कडाई गर्न आग्रह गर्दै जिल्लाको अवस्था हेरेर लकडाउनलाई व्यवस्थापन गर्न समेत निर्देशन दिनुभएको छ ।
मन्त्री लम्सालले जिल्लामा कोभिडको व्यवस्थापनका लागि प्रदेश सरकारले १०/१० लाख रुपैया सहयोग गरेको बताउँदै आगामी दिनमा पनि थप सहयोग गर्नेगरी कार्ययोजना तय भएको बताउनुभयो ।
सो अवसरमा स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले पिसिआर मेशीनको क्षमता भन्दा अत्याधिक बढि स्वाब संकलन भएकोले रिपोर्ट आउन ढिलाई भएको बताउँदै परिक्षण मेशीन थप भएपछि सहज हुने बताउनुभयो । उहाँले समुदायस्तरमा संक्रमण फैलन नदिनका लागि सिसीएमसी र जिल्लाका जनप्रतिनिधिहरु सचेत र चनाखो भएर काम गर्न आग्रह गर्नुभयो ।
मन्त्री लम्साल सहितको टोलीले गुप्तेश्वर क्याम्पसमा रहेको अस्थायी कोरोना अस्पताल, आईशोलेशन र शिवालय क्वारेन्टीन लगायतको अनुगमन समेत गर्नुभएको थियो । सो अवसरमा आईशोलेशन र क्वारेन्टीनमा रहेकाहरुले खानाको गुणस्तर बढाउन र पिसिआर परिक्षणलाई द्रुत गराउन माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!