पर्वतको कुश्माबजारका पसल अनुगमन, उपभोग्यीय सामाग्री पर्याप्त - News site from Nepal
पर्वतको कुश्माबजारका पसल अनुगमन, उपभोग्यीय सामाग्री पर्याप्त

पर्वत– पर्वत जिल्लामा दैनिक उपभोग्यि सामाग्रीको मौज्दात पर्याप्त रहेको छ । शुक्रवार सदरमुकाम कुश्माबजारमा गरिएको अनुगमनमा सवैजसो होलसेल पसलहरुमा दैनिक उपभोग्यीय बस्तुहरुको मौज्दात पर्याप्त रहेको भेटिएको हो ।
दैनिक उपभोग्यीय बस्तुहरु चामल, दाल, नुन, तेल, जीरा र खाना पकाउने एलपी ग्याँस लगायत दलहन र गेडागुडी, मैदा लगायतको पर्याप्त मौज्दात भेटिएको पाईएको हो । गण्डकी प्रदेशको उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनाल पोखरा र जिल्ला प्रशासन कार्यालय पर्वतको संयुक्त टोलीले गरेको अनुगमनमा एक महिना भन्दा लामो समयको लकडाउनका बीचमा पनि बजार सामान्य स्थितमै रहेको निर्देशनालयका निर्देशक गोकुल शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार बजारमा कुनैपनि बस्तुको अभाव देखिएन भने मुल्य समेत सामान्य रहेको पाईएको छ । बजारका थोक विक्रेताको पसलहरुमा अनुगमन गरिएको हो । त्यसैगरी तरकारी पसलहरु अनुगमन गर्दा बमौसमी तरकारी र फलफुलको केहि कमि देखिएको हो । तराई लगायत भारतवाट आउने तरकारीमा निरुत्साहित गर्ने सहमतिपछि बजारमा ताजा तरकारी र फलफुलको भने अभाव देखिएको छ । त्यसैगरी औषधी पसलहरुमा पनि आवश्यक स्वास्थ्य सामाग्री र औषधीहरुको उपलव्धता सामान्य अवस्थामै रहेको अनुगमन टोलीमा सहभागि जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी विमल गौतमले जानकारी दिनुभयो ।
टोलीले कुश्माबजारका झण्डै एक दर्जन थोक बिक्रेताको पसल तथा गोदाम निरिक्षण गरेको थियो । अझै केहि समय लकडाउन भएपनि खाद्यान्नको अभाव हुने अवस्था नदेखिएको पर्वत उद्योग बाणिज्य संघका महासचिब गणेश लामिछानेले जानकारी दिनुभयो ।
नोबेल कोरोना भाईरसको संक्रमण न्यूनिकरणका लागि सरकारले आव्हान गरेको लक डाउन एक महिना नाघिसकेको छ । यस्तो अवस्थामा नागरिकहरुलाई दैनिक उपभोग्यीय बस्तुको अभाव नहोस, बजारमा कृत्रिम अभाव सिर्जना गर्न नदिन र मुल्य बृद्धि नहोस् भनेर अनुगमन गरिएको निर्देशनालयले जनाएको छ ।
पर्वतका सातवटै स्थानीय तहले झण्डै सात हजार परिवारलाई राहत समेत वितरण गरिसकेका छन् । २ करोड भन्दा बढिको राहत वितरण गरिएको स्थानीय तहहरुले जनाएका छन् भने अलपत्र मजदुरहरुलाई खाना खुवाउनका लागि जिल्लाका पाँच स्थानीय तहमा मेस समेत संचालन गरिएको छ । यस्तो अवस्थामा जिल्लामा खाद्य संकट आउँछकी भनेर अनावश्यक बस्तु तथा सामान खरिद गरेर संचय नगर्न समेत जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।
अनुगमन टोलीमा निर्देशनालयका अधिकारीहरुसँगै जिल्ला प्रशासन कार्यालय पर्वत, उपभोक्ता हित संरक्षण मञ्च, पत्रकार र सरक्षा निकायको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!