कागती खेति यसरी गर्नुहोस - News site from Nepal
कागती खेति यसरी गर्नुहोस
  • सुरेश सिंखडा

कागती (Citrusaurantiifolia) नेपालमा पाइने सुन्तला जातको फलफुल मध्ये व्यवसायिक खेति गरिने एक प्रमुख फल हो| यसको बोट साधारणत ३-४ मीटर अग्लो र झ्याम्म परेको हुन्छ तर जात अनुसार फरक पर्न सक्छन्| फूलहरु साना सेता हुन्छन् र फल सुरुको अवस्थामा सानो हरियो हुन्छन् भने पछि बिस्तारै पहेलो रंगमा परिवर्तीत हुन्छन्| बोक्रा पातलो र गुदीसंग टासिने हुनाले सुन्तला जस्तो हातले नै बोक्रा निकाल्न सकिदैन| कागतीमा भिटामिन सी प्रचुर मात्रामा पाइने र यसमा पाइने प्राकृतिक लवणले रगतको मात्रा बढाउनुको साथै रगतलाई शुद्ध पनि बनाउँछ| कागतीको सेवनले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने, कोलेस्ट्रोलको मात्रा घटाउने र एन्टी-अक्सिडन्टको कम गर्ने हुनाले आजभोली कागतीको उपयोग र माग दिनाहुदिन बढिरहेको छ|

हावापानी र माटो

कागती खेतिको लागि बर्ष भरी नै न्यानो र ओसिलो हावापानी भएको, दक्षिण पूर्बी मोहोडा भएको, दिनमा कमसेकम ८-१० घण्टा सूर्यको प्रकाश पर्ने, बार्षिक ८००-१२०० मिलि मीटर पानि पर्ने र १०- ३५ डी. से बीचको तापक्रम भएको उष्ण र सम-उष्ण क्षेत्र उपयुक्त मानिन्छ|नेपालमा व्यवसायिक कागती खेती गरि गुणस्तरीय फल उत्पादनको लागि तराई र भित्रि मधेसको पानि नजम्ने १०० देखि १४०० मीटर सम्म उचाई भएको क्षेत्र राम्रो मानिन्छ| माटोको कुरा गर्नु पर्दा कागती धेरै प्रकारको माटोमा सफल खेति गरिदै आएको छ तापनि हलुका दोमट पानी नजम्ने माटो पि. एच. ५.५ – ७ सम्म भएको उत्तम मानिन्छ| यसरी हेर्दा नेपालको उच्च पहाडी जिल्ला बाहेक अन्य जिल्लाहरुमा कागतीको व्यवसायिक खेति गर्न सकिन्छ|

नेपालका लागि उपयुत जातहरु

नेपालमा व्यवसायिक कागती खेतीको लागि बिभिन्न जातहरु जस्तै तेह्रथुम स्थानीय, सुनकागती १, सुन कागती २, यूरेका,बनारसी,सिडलेस यन सि आर पि- ५३आदिको प्रयोग गर्दा राम्रो हुन्छ| यी बाहेक पनि केहि व्यवसायिक किसनहरुले भारत लगायत देशबाट आफै विभिन्न जातहरु आयात गरि खेति गर्दै आएका छन्| किसानले जात र बिरुवा छनोट गर्दा सकेसम्म बिजु भन्दा कलमी बिरुवाको प्रयोग गर्नु पर्दछ|

कलमी बिरुवा तयार गर्नको लागि तीनपाते सुन्तला अथवा सीट्रेन्ज रुटस्टकको आवश्यकतापर्दछ| रुटस्टकक बिरुवालाई ब्याडमा हुर्काइन्छ र यसरी हुर्काएको एक बर्षको रुटस्टकमा चाहेको जातको साएन प्रयोग गरेर बडिङ वा ग्राफटिङ् बिधिद्वारा कलमी बिरुवा तयार गरिन्छ| बडिङ साउन-भदौ र ग्राफटिङ् मंग्सिर- माघ महिनामा गरिन्छ| कलमी गर्नु भन्दा अगाडी रुटस्टकको ब्याडलाई राम्रोसंग पानीले भिजाएर चिसो बनाउनुपर्छ र रुटस्टकको टुप्पोलाई सिकेचरले काट्नु पर्दछ|त्यसपछि धारिलो ग्राफटिङ् चक्कुले रुटस्टकको माथिल्लो र सायनको तल्लो भागमा उस्तै कोण बनाएर ताछ्नु पर्दछ| रुटस्टक र सायनको ताछिएको सतह राम्रोसंग टासिने गरी राखेर प्लास्टिकले बेरेर बाध्नु पर्दछ|कलमी गरेर तयार पारिएको बिरुवालाई गुमोजमा राख्नु पर्दछ| एक महिनापछि कलमी जोडिदै जान्छ र बिस्तारै गर्मी बढ्दै जादा प्लास्टिक हटाउदै जानुपर्छ| यसरी मंग्सिर- माघमा कलमी गरिएको बिरुवा असार-साउनमा सार्नको लागि तयार हुन्छ|

जग्गा तयारी र रेखांकन

बगैचा स्थापना गर्ने वा बिरुवा लगाउने स्थानको निश्चित भै सकेपछि र रेखांकन गर्नु अगाडी जग्गाको तयारी गर्नु जरुरी हुन्छ| बगैचा स्थापना गर्ने जग्गामा खेति गरी खनजोत गरिएको छ भने जग्गाको खास सुधार आवश्यक पर्दैन अन्यथा फडानी, खनजोत गर्ने लगायत सम्माउने जस्ता जमिन सुधारका कार्यहरु गर्नु पर्दछ| त्यसै गरी रेखांकन गर्नु पूर्व बिरुवा लगाउने दूरी निश्चित गर्नु पर्दछ|दूरी निश्चित गर्दा आफूले रोप्ने बिरुवाको किसिम (बिजु वा कलमी) र रुटस्टक कुन प्रयोग भएको छ थाहा पाउनु पर्दछ र सोहि अनुसार दूरी कायम गर्नु पर्दछ| बिजु बिरुवा भए ५× ५ मीटर र तीनपाते  सुन्तलामा कलमी गरिएको बिरुवा भएमा ४ × ४ मीटर बोट देखि बोट र हार देखि हारको दूरी कायम गर्नु पर्दछ|तर यदि सघन रुपमा बगैचा स्थापना गर्ने हो भने ३ × ३ मीटर को दूरी कायम गर्नु उपयुक्त हुन्छ| रेखांकन गर्न जग्गा हेरी विभिन्न तरिका अबलम्बन गर्न सकिन्छ र कागती विशेष गरी  बर्गाकर तरिकाले लगाउने गरिन्छ|

खाडल खन्ने र भर्ने

रेखांकन गरिसकेपछि चिन्ह लगाएको स्थानहरुमा बिरुवा रोप्नु भन्दा २-३ महिना पहिले (वैशाख महिनामा) ३ फिट (१ मि.) लम्बाई चौडाई र गहिराई भएको खाडल खन्नु पर्दछ| खाडल खन्दा खाडलको माथिल्लो भागको मलिलो माटो एकतिर र तल्लो भागको माटो अर्कोतिर छुट्टाछुट्टै थुपार्नु पर्दछ जसले गर्दा माथिको माटोसंग पछि मल मिसाएर खाडल भर्न सजिलो होस्|

बिरुवा रोप्नु भन्दा एक महिना अगाडी (जेठमा) खाडल माथिको माटो र मलले भर्नु पर्दछ| भर्नु पूर्व खाडलमा सुकेका पतकर र स्याउला राखेर जलाउन पनि सकिन्छ जसले गर्दा खाडलमा भएका किरा तथा अन्य रोगका जीवाणुहरु नष्ट हुन्छन्| माटोमा मल मिसाउदा प्रति खाडल ५० केजी (२ डोको) राम्ररी पाकेको गोबर वा कम्पोस्ट मल, ५० ग्राम डीएपि, ५० ग्राम यूरिया र २५ ग्राम एमओपिको मात्रा मिलाई भर्नु पर्दछ| मल र माटोको मिश्रणले खाडल भर्दा जमिनको सतह भन्दा करिब ६ ईन्च माथिसम्म खादी खादी भर्नु पर्दछ जसले गर्दा बिरुवा रोपिसकेपछि माटो बस्न गइ सतह बराबर हुन आउँछ|

बिरुवा रोप्ने समय र तरिका

कागतीको बिरुवा बिशेषत असर साउनमा रोप्दा सजिलै हुर्किने गर्दछ| तर सिचाईको राम्रो सुविधा भएको ठाउँमा चैत्र बैशाखमा पनि सार्न सकिन्छ| बिरुवा लगाउदा जात र किसिम स्पष्ट खुलेको भरपर्दो नर्सरीबाट रोगकिरा मुक्त बिरुवा छनोट गर्नु पर्दछ| बिजू बिरुवाको तुलनामा छिट्टै फल लाग्ने र फलको गुणस्तर पनि राम्रो हुने हुँदा सकेसम्म कलमी बिरुवाको प्रयोग गर्नुपर्दछ|

बिरुवा रोप्दा कलमी गरेको भाग माटो देखि १०-१५ सेमी माथि रहने गरि जराको राम्रोसंग पुरेर खाडलको बिचमा रोप्नु पर्दछ| रोपे लगतै वरिपरी राम्रोसंग हातले माटो थिची सिचाई दिनुपर्छ| बर्षा यामको समयमा खासै छापोको (मल्चिंग)आबस्यकता नपरे पनि रोपेको नयाँ बिरुवामा खासगरी पौष- जेठको सुख्खा समयमा माटोको चिस्यान बचाई राख्न छापो हाल्नु पर्दछ|

सिचाई र मलखाद व्यवस्थापन 

कागतीको बगैँचा ब्यबस्थापनमा महत्वपूर्ण काम सिंचाई र मलखाद ब्यबस्थापन हो| बिशेष कागतीमा फूल फुल्ने, पालुवा आउने, फल लाग्ने (फ्रुट सेट), फल छिप्पिने अवस्था र फल टिपिसकेपछी पनि सिचाई दिनुपर्छ|त्यसैले कागतीमा सिचाई गर्ने समय भनेको पौष देखि जेठ सम्मको अवधि हो| तर सिंचाई गर्दा कुनै पनि हालतमा पानी जम्न दिनु हुँदैन|वर्षायाममा पानी जम्ने जोखिम हुने हुदासमयमा नै उचित व्यवस्था गरि पानीको निकासको प्रबन्ध मिलाउनु पर्छ|

बिरुवाको उमेर, अवस्था, माटोको उर्बराशक्ति र सिजन अनुसार मलखाद प्रयोग फरक फरक हुन्छ| सामन्यतया फल टिपी सकेपछि अर्को बर्षको उत्पादन राम्रो होस् भनेर मलखादको प्रयोग गर्नुपर्छ| कागतीलाई माघ र फाल्गुन महिना भित्र (फूल फुल्ने समय अगाडी) मलखाद दिनुपर्दछ | तर यसबेला माटोमा चिस्यानको मात्रा कम हुने हुनाले सिंचाई दिएर मात्रै मलखाद दिनुपर्छ|साधारणतया प्रतिबोट १५ केजी गोबर मल, ५०ग्राम यूरिया, २५ ग्राम डी.ए.पि र ५० ग्राम म्यूरेट अफ पोटास प्रतिबर्ष उमेरको दरले प्रयोग गर्दा राम्रो उत्पादन लिन सकिन्छ| यसबाहेक कागतीलाई सुक्ष्म खाद्येतत्व जस्तै जिन्क, बोरोन, फलाम, म्याग्नेसियम आदिको आवस्यकता पर्ने हुनाले बिरुवाको लक्षणहेरेर फूल फुल्ने समय अगाडि नै दिसक्नुपर्छ| मलखाद दिँदा र सिंचाई गर्दा बिरुवाको वरिपरी रिंग बेसिन बनाएर दिनुपर्छ| साथै बर्षको एक दुई पटक बोडो स्प्रे गरेमा उत्पादन बढ्ने र फलको गुणस्तर पनि राम्रो हुने गर्दछ|यदि समयमा नै उचित मलखाद र सिंचाई दिइएन  भने कागतीमा पछि फल झर्ने र फुट्ने समस्या देखिन सक्छ|

तालिम र काँटछाँट 

बिशेष गरी उच्च गुणस्तरको फल फलाउन तथा बगैँचा स्वस्थ राख्न र रोगकिरा लागेको भागहरु हटाउन निरन्तर रुपमा कागतिमा काँटछाँट तथा तालिम गरी रहनु पर्दछ| बिरुवा रोपेको दोस्रो बर्ष देखि नै बिरुवालाई तालिम दिने कार्य शुरू गर्नुपर्दछ| सामान्यतया कागतीमा वर्षको एक पटक पुस-माघ महिनामा वा फल टिपी सकेपछि काँटछाँट गर्नुपर्दछ| तालिम र काँटछाँट गर्दा जमिनबाट १ मीटर भन्दा तलका हाँगाहरु, रुटस्टकमा आएका हाँगा, रोग किरा लागेका हाँगा, लुलो लाछिने र भित्रपटि जान लागेको हाँगा, चोर/ पानी हाँगाहरु र बढी भएका बाक्ला हाँगाहरु हटाउनु पर्दछ र काटेको ठाउँमा बोडोपेस्ट लगाई दिनुपर्छ | काँटछाँट गर्दा सकेसम्म सिकेचर र प्रुनिङ सको प्रयोग गर्नुपर्दछ| कागतीको बोटले व्यवसायिक उत्पादन दिन कम्तिमा नि तिन बर्ष लाग्ने हुनाले त्यस अघि नै फल लागेमा तिनीहरुलाई टिपेर फाल्दिदा बिरुवाको बृद्धि विकास राम्रो हुन्छ|

अन्तरवाली ब्यबस्थापन

कागतीको बोटले व्यवसायिक उत्पादन दिन कम्तिमा नि तिन बर्ष लाग्ने हुनाले उत्पादन नदिँदासम्म बगैँचामा कागतीको बिचमा अन्तरवाली लगाउदा फाइदा लिन सकिन्छ| अन्तरवाली लगाउँदा सकेसम्म छिटो उत्पादन दिने, धेरै जमिन ढाक्ने लहरे तरकारी र कोसेवाली लगाउनु पर्छ|बगैँचालाई झारपात मुक्त राख्नको लागि बेला बेलामा गोडमेल गर्ने र छापो दिने काम गर्नुपर्छ|

रोग किरा ब्यबस्थापन

कागतिमा कत्ले किरा, गवारो, पात खन्ने किरा, पतेरो, सीट्रस सिल्ला आदि किराहरुले आक्रमणग गर्ने गर्दछन् भने फेद र जरा कुहिने, खोटो निस्कने, खटिरा आउने, ग्रिनिंग आदि रोगहरु लाग्ने गर्दछ| रोग तथा किराको बेलैमा नियन्त्रण गरे मात्र कागती खेतीबाट फाइदा लिन सकिन्छ| त्यसैले बगैँचालाई सधै सफा राख्ने,किराहरु देखे मार्ने र रोगकिरा लागेको हाँगाहरु काटेर फाल्ने गर्नुपर्छ| कत्ले किरार पात खन्ने किराको लागि सर्बो एग्रो स्प्रे एम (१५ एम एल/ लि.) वा मोनोसिल (२ एम एल/ लि.), गवारोको लागि पेट्रोल मट्टीतेल, सीट्रस सिल्लार र पतेरोको लागि रोगर वा थायोडान (२ एम एल/ लि.) को प्रयोग गर्न सकिन्छ|त्यसैगरी कागतिका धेरै जसो रोगको नियन्त्रणका लागि बोडोपेस्ट र बोडो स्प्रेको प्रयोग गर्न सकिन्छ|

फल टिप्ने समय र भण्डारण

फलका बोक्रा चिल्लो भएपछि र फलमा राम्ररी रस भरिएपछि कागती टिप्न सकिन्छ| बजारको दूरी, माग र मूल्यलाई ध्यानमा राखी फलको बोक्राको रंग पहेंलो हुन्जेलसम्म पनि फललाई बोटमा नै राख्न पनि सकिन्छ| तर टाढाको बजारको लागि बोक्रा चिल्लो भएपछि हरियो वा हल्का पहेंलो अवस्थामा नै टिप्नु पर्दछ|सकेसम्म कागती बेलुकाको समयमा टिपेर र भोलिपल्ट विहान बजार पठाउनु पर्छ|टिपेको कागतिलाई यदि बजार पठाउन नसकिएमा ८-१० डी. से.मा भण्डारण गर्नुपर्दछ|

– हाल माटेदेवल जनसहयोगी मावि फलेवास– ४ मुडिकुवा पर्वत

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!