पर्वतमा कोरोनाको उपचारका लागि अस्थायी अस्पताल संचालन, १४ जना विशेषज्ञ डाक्टर तयारी अवस्थामा - News site from Nepal

पर्वत- कोरोना कोभिड १९ नामक रोगको उपचार गर्नका लागि उच्च मनोबलका साथ पर्वतका स्वास्थ्यकर्मीहरु तैनाथी अवस्थामा रहेको पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले बताएका छन ।

पर्वत कोरोना अस्पताल सञ्चालक समिति गठनको अवसरमा डा. देवकोटाले पर्वत जिल्लामा १४ जना विशेषज्ञ डाक्टर कोरोनाको उपचारका लागि तयारी अवस्थामा रहेको जानकारी दिए ।

पर्वत जिल्ला अस्पतालमा १२ जना र दुई वटा प्राथमिक स्वास्थ्य केन्द्रहरुमा १/१ जना विशेषज्ञ डाक्टर तयारी अवस्थामा बसीरहेको जानकारी दिएका हुन ।
जिल्लामा ठुलिपोखरी प्राथमिक स्वास्थ्य केन्द्र र लुंख प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन ।

सरकारले उपलब्ध गराउनुपर्ने ब्यक्तिगत सुरक्षाका सामाग्रीहरुको अभाव रहेका कारण उपचारमा केहि समस्या देखिए पनि सवै स्वास्थ्यकर्मी उच्च मनोबलका साथ उपचारमा सग्लन्न हुने डा. देवकोटाले प्रतिबद्धता ब्यक्त गरे ।

उनले ब्यक्तिगत सुरक्षाका सामाग्रीहरु हालसम्म पनि सरकारबाट भने प्राप्त नभएको समेत जानकारी दिए । सुरक्षाका लागि आवश्यक सामाग्रीहरु अस्थायी रुपमा आफै तयार गरेर प्रयोग गरीरहेको देवकोटाको भनाई छ ।

डा. देवकोटाले भने–‘कतिपय डाक्टर र स्वास्थ्यकर्मीलाई घर फर्कन दवाब छ, तर हामी मैदान छाडेर भाग्ने अवस्थामा छैनौं ।’ उनले थपे–‘क्षमताले सकेसम्मको स्वास्थ्य सेवा प्रदान गछौं’

कोरोना उपचारका लागि कुश्मा नगरपालिका, जिल्ला अस्पताल, जिल्ला प्रशासन कार्यालय र जिल्लाका सवै पालिकाहरुको सहयोगमा अस्थायी १५ शैयाको अस्पताल कुश्मामा तयार गरिएको छ ।

कोरोनाको आशंका गरिएका विरामी आएमा उनीहरुको उपचार सोहि अस्पतालबाट हुनेछ । अस्पतालमा भेन्टिलेटर सहितको सेवा प्रदान गर्ने तयारी गरिएको छ । डा. देवकोटाले भने –‘अक्सिजन र विरामीको उपचारका लागि आवश्यक इक्युमेटहरुको खरिद प्रक्रिया शुरु भईसकेको छ ।’

विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मीले सोहि अस्पतालमा बसेर विरामीहरुको उपचार गर्नेछन । त्यसका लागि डाक्टर र स्वास्थ्यकर्मीको लागि भान्सा घर समेत तयार गरिएको छ ।

गुप्तेश्वर बहुमुखी क्याम्पसमा उक्त अस्थायी अस्पतालको निर्माण गरिएको हो । अस्पतालमा विरामीका लागि छुट्टै भान्साको ब्यवस्थापन हुनेछ । आइसियूमा राख्नपर्ने बाहेकका सवै विरामीको उपचार सोहि अस्पतालबाट गरिने भएको छ ।

विरामीको एक्सरेका लागि नीजि क्लिनिक र जिल्ला अस्पतालको एक्सरे प्रयोग हुनेछ । कोरोनाको ल्याव परिक्षणका लागि नमुना संकलन गरी काठमाण्डांैं पठाउनका लागि एउटा गाडी तयारी अवस्थामा राखिएको छ ।

जिल्ला भरका एम्बुलेन्सलाई हाइहर्डटमा राखिएको डा. देवकोटाले जानकारी दिए । विरामीको उपचार गर्न कुनै कसर आफूहरुले बाँकी नराख्ने तर, सम्भावित जोखिम कम गर्न कोहि पनि घरबाहिर केहि दिनसम्म ननिस्कन देवकोटाले आग्रह गरे ।

अस्थायी अस्पतालको सञ्चालनका लागि कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीको अध्यक्षतामा १७ सदस्यीय सञ्चालक समितिको समेत गठन गरिएको छ ।

समितिको सदस्य सचिवमा डा. देवकोटा रहेका छन । बाँकी सदस्यहरुमा जनप्रतिनिधि तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!