पर्वत– पर्वतका उद्योगी, व्यावसायीहरुको छाता संगठन पर्वत उद्योग बाणिज्य संघ स्थापना भएको ४४ वर्ष पुगेको छ ।
२०३२ साल फागुन १२ गते तत्कालीन पर्वत व्यापार संघको नाममा स्थापना भएको संघ अहिले ४४ औ वर्षमा पुगेको हो । स्थापनाको ४४ वर्षमा पहिलोपटक संघले सोमवार स्थापना दिवस मनाएको हो । हालसम्म संघका १६ जना अध्यक्षले कार्यकाल सम्हालेपनि स्थापना भएको दिन अन्यौलमा हुँदा मनाउन सकिएको थिएन ।
अहिलेको कार्यसमितिले स्थापना भएको दिनको खोजी गर्दा फागुन १२ गते भएको पाईएकाले पहिलोपटक स्थापना दिवस मनाईएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिनुभयो ।
स्थापना दिवसको अवसरमा संस्थापक देखि निवर्तमान अध्यक्षसम्मलाई सम्मान गरेर र केक काटेर स्थापना दिवस मनाईएको हो । स्थापना कालदेखि पूर्व अध्यक्ष सम्मलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले पूर्व अध्यक्षहरुलाई सम्मान गर्नुभएको हो । सो अवसरमा बोल्दै प्रजिअ नेपालले उद्योग बाणिज्य संघ निजि क्षेत्रको सवैभन्दा अब्बल संस्था भएको बताउनुभयो । उहाँले मुलुकको आर्थिक विकासमा निजि क्षेत्रकै सवैभन्दा ठुलो भूमिका रहेको बताउँदै निजि क्षेत्र र सरकारबीचको आपसी समन्वय र सहकार्यवाट मात्रै मुलुकको विकास अघि बढ्ने बताउनुभयो । उहाँले यस्ता संस्थाहरु जति धेरै पुराना भए त्यति धेरै जिम्मेवार र विश्वसनिय हुने बताउँदै जिल्लाको समग्र विकासमा हातेमालो गरेर अघि बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष हरिओम शर्मा लामिछाने, पूर्व अध्यक्ष रामकृष्ण कर्माचार्य, होमनारायण श्रेष्ठ, मिनप्रसाद श्रेष्ठ, दुर्गाप्रसाद श्रेष्ठ, हरिप्रसाद आचार्य, लक्ष्मीकान्त आचार्य, काशीकुमार जोशी, पूर्व केन्द्रिय सदस्य बलराम कर्माचार्य लगायतले संस्थाको स्थापना काल र हालसम्म आ–आफ्नो कार्यकालमा भएका गतिविधिहरुको बारेमा बोल्नुभएको थियो ।
पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले जिल्लाकै अब्बल संस्थाको रुपमा रहेको पर्वत उद्योग बाणिज्य संघ स्थापना कालमा अग्रजहरुले गरेको योगदानलाई स्मरण गर्न र संस्थाको गरिमालाई अझै बढाउन स्थापना दिवस मनाउन थालिएको बताउनुभयो । उहाँले आगामी वर्षहरुमा अन्य सामाजिक गतिविधि समेत संचालन गरिने बताउनुभयो ।
अध्यक्ष शर्माको अध्यक्षता तथा स्वागतमा सम्पन्न कार्यक्रममा धन्यवाद मन्तव्य बरिष्ठ उपाध्यक्ष गोपि अधिकारी र संचालन महासचिब गणेश लामिछानेले गर्नुभएको थियो ।