कुश्मा – ज्ञादी झोलुङ्गे पुलमा माघ १९ गतेसम्म बाईक तार्न निषेध - News site from Nepal

पर्वत : पर्वतको कुस्मा नगरपालिका ५ बडागाउँ र कुस्मा नगरपालिका ९ कटुवाचौपारी जोड्ने गरी मोदी खोलामाथि निर्माण गरिएको झोलुङ्गे पुलमा माघ १९ गतेसम्म मोटसाईकल वारपार गर्न बन्देज लगाइएको छ ।

बिहीवारदेखि सुरु भएको छैटौँ पर्वत महोत्सवलाई ख्याल गरेर महोत्सव अवधिभर पुलबाट मोटरसाईकलहरु वारपार गर्न बन्देज गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामबहादुर भट्ट क्षेत्रीले जानकारी दिनुभयो । पुलकै मुखमा राखिएको महोत्सव अवलोकन गर्नका लागि कटुवाचौपारी, बितलव, ठूलीपोखरी, शंकरपोखरी क्षेत्रका स्थानीयहरु सोही पुलको प्रयोग गर्दै आउने भएकोले पैदलयात्रीहरुको समस्यालाई ध्यानमा राखेर मोटरसाईकल हाल्न निषेध गरिएको क्षेत्रीको भनाई छ । महोत्सव सकिएको भोलीपल्ट माघ २० गतेबाट भने साविककै व्यवस्था अनुसार मोटरसाईकलहरु वारपार गराउन सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

पुलबाट दैनिक सयौँको संख्यामा मोटरसाईकलहरु वारपार गर्दै आइरहेका छन् । साँघुरो पुलमा मोटरसाईकल र पैदलयात्रीहरु एकै पटक ओहरदोहर गर्दा पुलमा नै जाम पर्ने तथा दुर्घट्नाको जोखिम समेत हुने भएकोले यो निर्णय गर्नुपरेको महोत्सव मूल आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!