नेपालमा कोरोना संक्रमणको पाँच महिना पूरा : कसरी भित्रियो, कसरी फैलियो ? - News site from Nepal

काठमाडौं – नेपालमा कोरोना संक्रमणको पाँच महिना पूरा भएको छ । दिन गन्तीको हिसाबमा सोमबारसम्म एक सय ५१ दिन पूरा भएको छ । लकडाउन भएकै ९१ दिन पूरा भएको छ ।
यो अवधिमा नेपालमा कोरोना संक्रमितको संख्या नौ हजार पाँच सय ६१ पुगेको छ । यीमध्ये २३ जनाको मृत्यु भएको छ भने दुई हजार एक सय ४२ संक्रमित निको भएका छन् ।
संक्रमण देखिएको पाँच महिना भए पनि पछिल्लो एक महिनामा ह्वात्तै बढेको हो । पहिलो संक्रमण देखिएको दुई महिनापछि मात्रै दोस्रो संक्रमित देखिएकोमा तेस्रो महिना दैनिक दुई–चार जना हुँदै संक्रमित थपिए ।
चौथो महिनासम्म पनि दैनिक संक्रमण दर दुई अंकमै सीमित थियो । तर, पाँचौँ महिना संक्रमितको संख्या दैनिक तीन अंकमा बढ्दै अधिकतम करिब सात सयसम्म पुगेको तथ्यांक छ ।

चौथो महिना पूरा हुँदा देशभर संक्रमितको कुल संख्या पाँच सय १६ मात्रै थियो । तर, पाँचौँ महिनामा मात्रै नौ हजार ४५ बढेर हालसम्म कुल संख्या नौ हजार पाँच सय ६१ पुगेको छ ।

कसरी भित्रियो, कसरी फैलियो ?
२९ डिसेम्बर २०१९ मा चीनको वुहानमा उत्पत्ति भएको कोरोना भाइरस सुरुमा नेपालमा पनि चीनबाटै भित्रियो । चीनबाट फर्किएका एक नेपाली विद्यार्थीमा ९ माघमा कोरोना संक्रमण पुष्टि भएको थियो । तर, उनलाई केही दिनमै निको भएको थियो । त्यसपछि भने चीनबाट हालसम्म नयाँ संक्रमण भित्रिएको छैन ।

पहिलो संक्रमण देखिएको दुई महिनासम्म नेपालमा नयाँ संक्रमित भेटिएनन् । तर, त्यो अवधिसम्म चीन हुँदै विश्वका विभिन्न मुलुकमा संक्रमण तीव्र बनिरहेको थियो । ती देशबाट आउनेहरू नेपाली वा विदेशी यात्रुका कारण नेपाल जुनसुकै वेला जोखिममा थियो ।

तर, सरकारले कुनै ध्यान दिएन । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा पनि कुनै सचेतना अपनाएन । अध्यागमनमा प्रभावकारी थर्मलगन राखेर यात्रुहरूको स्वास्थ्य जाँच गरेन । उनीहरूको तथ्यांक व्यवस्थित रूपमा संकलन गरेन ।

फ्रान्सबाट कतारको दोहा हुँदै आएकी एक नेपाली युवतीले विमानस्थलको यस्तो हालत देखेर सामाजिक सञ्जालमार्फत सचेतसमेत गराएकी थिइन् । तैपनि जिम्मेवार निकायले सम्भावित जोखिमप्रति नजरअन्दाज गरिरह्यो ।

दुर्भाग्य, जसले विमानस्थलको भद्रगोल अवस्थामाथि सचेत गराएकी थिइन्, केही दिनमै उनैलाई कोरोना पुष्टि भयो । पहिलो संक्रमण देखिएको ६०औँ दिन अर्थात् १० चैतमा दोस्रो संक्रमितको रूपमा उनमा कोरोना पुष्टि भयो ।

लगत्तै ११ चैतदेखि सरकारले लकडाउन ग¥यो । विमानस्थलमा पनि उडान बन्द भयो । तर, त्यसअघि तेस्रो मुलुकबाट नेपाल भित्रिएकाहरूबाट जोखिम थियो । १२ चैतमा तेस्रो संक्रमित पनि भेटिए । उनी संयुक्त अरब इमिरेट्स (युएई) बाट आएका थिए ।

बल्ल सरकार सपनाबाट ब्युँझियो । संक्रमितहरूसँगै उडानमा फर्किएकाहरूको खोजी गर्न थाल्यो । परीक्षण ग¥यो । थप केही संक्रमित भेटिए । तर, लकडाउनसँगै उनीहरूको संसर्गमा पुगेका व्यक्तिहरूलाई निगरानीमा राख्दा काठमाडौंमा कोरोनाको जोखिम न्यूनीकरण गर्न सफल भयो ।

तर, काठमाडौंमा जोखिम टर्दै गर्दा भारततिरबाट जोखिमको हुरी हुत्तिँदै थियो । भारतमा कोरोनाले तीव्र गति लिइसकेको थियो । त्यहाँ पनि लकडाउन थियो । मजदुरीका लागि भारत गएका लाखौं नेपालीको बिचल्ली पर्न थाल्यो ।

कैयौं घन्टा हिंडेर उनीहरू देशको सीमामा आए । तर, आफ्ना नागरिकलाई आफ्नै माटोमा स्वागत गरेर सरकारले सही व्यवस्थापन गर्न चाहेन । उनीहरूलाई भित्र्याए कोरोना फैलिने प्रचार गरेर सरकार सीमामै रोक्न उद्यत् रह्यो ।

नागरिकलाई सीमामा छेकेर सरकार काठमाडौंमा कमिसनको धन्दामा रमायो । कोरोनाविरुद्धका उपकरण, औषधि तथा सामग्री खरिदमा मन्त्री र सरकारका अधिकारीहरू अनियमिततामा लागे ।

उता, भोकै–प्यासै मर्ने अवस्था निम्तिएपछि केही नेपाली महाकालीको जोखिमपूर्ण जंघार तरेर देश भित्रिए । लुकिछिपी भित्रिएका उनीहरू राज्यको निगरानीमा परेनन् । त्यसले जोखिम बढायो ।

सयौंको भिडमा घन्टौंसम्म सीमामा रोकिएका केहीलाई भने सरकारले नै विना स्वास्थ्य परीक्षण भित्र्यायो । यसले झन् जोखिम बढायो । उनीहरूसँगै कोरोना भित्रियो । चीन र तेस्रो मुलुकबाट भित्रिएको कोरोना नियन्त्रण भए पनि भारततिरबाट भित्रिएको कोरोना फैलिँदै गयो । दैनिक दुई–चार जना हुँदै संक्रमित बढ्दै गए ।

तेस्रो व्यक्तिमा पुष्टि भएको २३ दिनपछि अर्थात् ५ वैशाखसम्म आइपुग्दा संक्रमितको संख्या ३० पुगेकोमा २५ वैशाखसम्म एक सय नाघे ।

उता, सीमामा नागरिक रोक्ने सरकारी हठ धेरै दिन टिक्न सकेन । अन्ततः दैनिक हजारौँका दरले भारतबाट नेपाली स्वदेश भित्रिए । तर, सरकारले त्यतिवेलासम्म पनि स्वास्थ्य परीक्षण गरेर भित्र्याउने प्रबन्ध गरेन ।

उनीहरूलाई क्वारेन्टाइनको नाममा खुला चउरदेखि पालमुनि चिसो भुइँमा समेत राख्यो । एउटै ओछ्यानमा तीन–चारजनालाई सुतायो । खाने उचित प्रबन्ध गरेन, पिउने तातो त के शुद्ध पानीसमेत पाएनन् । कैयौं दिनदेखि भोकै परेका कतिपय मजदुरहरूले नातागत भएर क्वारेन्टाइनमा प्राण त्यागे ।

क्वारेन्टाइनको नाममा भोडा–बाख्राझै खाँदिँदा झन् संक्रमणको जोखिम बढ्यो । एक जना मात्रै संक्रमित भए पनि क्वारेन्टाइनमै अरूमा फैलिने अवस्था बन्यो । भारतबाट भित्रिएको कोरोना क्वारेन्टाइनमा फैलिँदै पछिल्लो महिना मात्रै नौ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

कतिपयले स्वाबको रिपोर्ट कुर्दाकुर्दै क्वारेन्टाइनमै ज्यान गुमाएका छन्, पछि कोरोना पुष्टि भएको छ । स्वाब लगेको दुई–तीन सातासम्म पनि रिपोर्ट नआएपछि कतिपय क्वारेन्टाइनमै इन्तु न चिन्तु परेका छन् । यो बिजोग अवस्थासँग डराएर कैयौँ व्यक्ति क्वारेन्टाइनबाट भाग्न बाध्य भएका छन् ।

तराईबाट फैलिएर पहाड हुँदै हिमालसम्म पुग्यो

कोरोना तराईमा धेरै फैलियो, तर तराईमा मात्रै सीमित रहेन । भारतबाट आएकाहरू पहाडी जिल्लाका पनि थिए, सजिलै फैलियो । उनीहरूको उचित व्यवस्थापन नहुँदा संसर्गमा रहेका व्यक्तिबाट हिमाली क्षेत्रसम्म पनि कोरोना पुगिसकेको छ । सोमबार साँझसम्म देशका ७७ जिल्लामध्ये रसुवाबाहेक सबैमा कोरोना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार संक्रमितहरू अधिकांश भारतबाट फर्किएकाहरू नै छन् । त्यसबाहेक उनीहरूको उपचारमा खटिएका वा संसर्गमा पुगेकाहरूलाई संक्रमण भएको छ । लामो समयसम्म संक्रमण नियन्त्रण भएको काठमाडौं उपत्यकामा पनि पछिल्लो महिना संक्रमित बढिरहेका छन् ।

२३ मध्ये १९ जनाको मृत्यु पछिल्लो एक महिनामै

नेपालमा कोरोनाबाट पहिलो मृत्यु १ जेठमा भयो । सिन्धुपाल्चोकको बाह्रबिसेकी ३० वर्षीया सुत्केरीको मृत्यु भएयता २३ जनाको ज्यान भएको छ ।

गुल्मी र कैलालीका तीन–तीन तथा अर्घाखाँची, बाँके र बाराका दुई–दुई जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक, ललितपुर, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, डोल्पा, स्याङ्जा र चितवनका एक–एक जनाको मृत्यु भएको छ । पर्साको वीरगन्ज घन्टा घर नजिक २८ जेठमा मृत भेटिएका २५ वर्षीय युवकको भने ठेगाना खुलेको छैन ।

संक्रमितमध्ये ९१ प्रतिशत पुरुष
कोरोनाबाट संक्रमितमध्ये अधिकांश पुरुष छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ९१ प्रतिशत संक्रमित पुरुष छन् । महिला नौ प्रतिशत मात्रै छन् । मृतक पनि पुरुष नै बढी छन् । २३ मृतकमध्ये १८ जना पुरुष छन्, यो ७८ प्रतिशत हो ।

बेलैमा सोचेको भए नियन्त्रण गर्न सक्थ्यो सरकार

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना अहिलेसम्म समुदायस्तरमा फैलिन पाएको छैन । तर, थोरै तलमाथि हुँदा पनि समुदायस्तरमा संक्रमण फैलिन पर्याप्त आधार भने तयार भएको छ । बर्खासँगै तराईमा निम्तिने बाढी र पहाडमा रोपाइँलगायत मेलापातमा हुने मानिसको भिडभाड कोरोना फैलिने मुख्य सम्भावित खतरा हो ।

सरकारले वेलैमा भारतमा रहेका आफ्ना नागरिकलाई स्वागत गरेर व्यवस्थापन तथा परीक्षण गरेको भए जोखिम अहिलेसम्म धेरै न्यूनीकरण भइसक्यो ।

हरेक वडामा स्थानीय सरकार छ । वडा–वडामा वेलैमा व्यवस्थित क्वारेन्टाइन बनाएर भारतबाट भित्रिएकाहरूलाई सम्बन्धित वडामै व्यवस्थापन गर्न सक्थ्यो । स्वास्थ्य परीक्षणको दायरा बढाउँदै संक्रमितलाई स्वास्थ्य संस्था र सामान्यलाई केही समयपछि घर पठाउन सक्थ्यो । तर, वेलैमा भारतबाट आउन चाहने नागरिकलाई जबर्जस्त रोक्दा उतै संक्रमित भए । संक्रमणपछि एकसाथ ठूलो भिडमा भित्र्याउँदा झन् संक्रमित बढे । क्वारेन्टाइनमा रहँदासम्म अझै फैलियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari