पर्वतको गुप्तेश्वर क्याम्पसमा १५ शैयाको आइसोलेसन वार्ड - News site from Nepal
पर्वतको गुप्तेश्वर क्याम्पसमा १५ शैयाको आइसोलेसन वार्ड

 पर्वत : कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित भएको शंका लागेमा वा उपचारको लागि पर्वतको कुस्मा नगरपालिकाले कम्तीमा पनि १५ शय्याको आइसोलेसन वार्ड निर्माण गर्न सुरु गरिएको छ।
कोरोनाको जोखिम बढ्दै जान थालेपछि कुस्मा नगरपालिका र पर्वत अस्पतालको सहकार्यमा कुस्मा नगरपालिका ४ मा रहेको गुप्तेश्वर बहूमुखी क्याम्पसको भवनमा आइसोलेसन बेडहरू निर्माण गर्न लागिएको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए। उनका अनुसार पर्वत अस्पतालले चिकित्सकसहित अन्य व्यवस्थापनका काम गर्ने भएको छ भने त्यसका लागि आवश्यक पर्न सक्ने ५० लाख रुपैयाँ नगरपालिकाले खर्च गर्ने भएको छ।


‘पूर्व सतर्कताका लागि नगरपालिकाले कुनै पनि कसर बाँकी राख्ने छैन। तयारी गर्ने बेला यही हो। संक्रमण भइहालेँ अन्य विकल्प छैन’ नगरप्रमुख जोशीले भने, ‘आइतबार मध्यान्हबाट हामीले भवनको सरसफाइ सुरु गरेका छौं। सोमबार दिउसोसम्ममा सबै काम सक्ने हो। २४ घण्टामा नै उपचार सेवाका लागि शय्या तयार गरी उपचारको लागि तयारी हुने छ।’ उपचारका लागि अस्थायी शय्या निर्माणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले क्याम्पस परिसरको सरसफाइसँगै आवश्यक तयारी गरिरहेको छ।
गुप्तेश्वर क्याम्पसमा बनाइएको आइसोलेसन वार्ड पोखरा–बागलुङ तथा पोखरा-म्याग्दी-मुस्ताङ चल्ने सवारीमा यात्रुलाई  समेत ‘टारगेट’ गरेर पनि देखिन्छ। राजमार्गको नजिकै आइसोलेसन बेडहरू रहने भएका कारण पर्वतसँग सिमाना जोडिएको कास्कीबाट भित्रिएका यात्रुलाई पर्वतको डिमुवामा रहेको डेस्क, बागलुङ, म्याग्दी र मुस्ताङबाट भित्रिएकालाई बागलुङसँग सिमाना जोडिएको मालढुंगामा रहेको डेस्कबाट रिफर गरिएकालाई आइसोलेसनमा राख्न सजिलो हुने छ।
जिल्ला प्रशासन कार्यालयमा आइतबार भएको सर्वपक्षीय बैठकबाट कुस्मा नगरपालिकामा आइसोलेसन बेडहरूसहित जिल्लाका ७ वटै पालिकाहरू छिर्ने नाकामा स्वास्थ्य हेल्प डेस्क निर्माण गर्ने निर्णय पनि भएको छ। प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालका अनुसार सम्बन्धित पालिकाका प्रमुखहरू सहभागी भएको बैठकबाट पालिका प्रवेश नाकामा रहने डेस्कको दायित्व पालिकाहरूले नै लिनेछन्।  हेल्थ डेस्कहरूमा पालिकाभित्र प्रवेश गर्ने हरेक व्यक्तिको आधारभूत स्वास्थ्य जाँच गरिने छ भने त्यहाँ रहेका स्वास्थ्य सहयोगीले सेल्फ क्वारेन्टाइनमा कसरी बस्ने र सतर्कता अपनाउँदा के के गर्ने ? भन्ने विषयमा जानकारीहरू प्रदान गर्ने छन्।
पालिकामा रहेका स्वास्थ्य संयोजकहरूले डेस्क स्थापनासहित त्यसपछि हुने स्वास्थ्य जाँचमा प्रत्यक्ष निगरानी गर्नेछन्। पर्वतमा रहेका केही पालिकाहरूले आईसोलेसन बेडहरू तयार गरिसकेका छन् भने केहीले गर्ने तयारी गरिरहेका छन्।
पालिकाहरूले बनाएका बाहेक पर्वत अस्पतालमा पनि आइसोलेसन बेडहरू तयार पारिएका छन्। अस्पतालमा रहेका विशेषज्ञ डक्टरलाई राखेर तत्कालै उपचार थाल्नको लागि रेपिड रेस्पोनस टिम (आरआरटी) समेत निर्माण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!