पर्वतका बैंकहरुमा सेवाग्राहीको चाप ठेलमठेल - News site from Nepal
पर्वतका बैंकहरुमा सेवाग्राहीको चाप ठेलमठेल

पर्वत : पर्वत सदरमुकाम कुस्मा बजारस्थित विभिन्न बैंकका शाखाहरूमा पछिल्ला केही दिनयता निकै भीडभाड बढेको छ।
लकडाउनका कारण लामो समयसम्म सरसापट गरेर दैनिक आर्थिक क्रियाकलाप चलाएकाहरू बजारमा चहलपहल बढेसँगै कारोबारका लागि आउँदा बैंकहरूमा भीडभाड बढेको हो। आर्थिक वर्षको अन्त्यतिर सरकारी कार्यालय तथा व्यापारीका कारण खचाखच भरिएका बैंक शाखाहरूमा केही दिनयता गाउँ-गाउँबाट आएका ज्येष्ठ नागरिकलाई देख्न सकिन्छ। लकडाउनका कारण बजार आउन नपाउँदा सामाजिक सुरक्षा भत्ता बापतको रकम निकाल्न नपाएका ज्येष्ठ नागरिकका कारण बैंकमा हरेक दिन भीड हुने गरेको नेपाल बैंक लिमिटेड कुस्मा शाखामा कार्यरत कर्मचारी जिता तिवारीले बताइन्।
‘असारको अन्त्यतिर कार्यालय र व्यापारका निकासा तथा जम्मा गर्दा भ्याई-नभ्याई भएको थियो,’ उनले भनिन्, ‘अहिले भत्ता, पेन्सन र तलबबापत पाउने रकम निकाल्न र जम्मा गर्न आउनेहरूको भीड छ। ज्येष्ठ नागरिक बाहेक अन्य व्यक्तिहरू पनि यति बेला आउने क्रम बढेको छ।’ शाखा प्रबन्धक नवराज दवाडीले पनि ‘क्लोजिङ’को बेला दैनिक झन्डै ६०० जना सेवाग्राही बैंकमा आउने गरेको र आर्थिक वर्ष सकिएपछि पछिल्ला २ दिनमा गाउँबाट आउनेहरूको सङ्ख्या बढिरहेको बताए।
गरिमा विकास बैंक कुस्मा शाखामा ग्रामीण क्षेत्रबाट ज्येष्ठ नागरिक मात्रै दैनिक करिब २०० को सङ्ख्यामा आउने गरेको शाखा प्रबन्धक लोकेन्द्रबहादुर क्षेत्रीले बताए। ‘हामीकहाँ दैनिक २०० जना त ज्येष्ठ नागरिक नै आउनुभएको छ, बैंक भित्रदेखि बाहिर सडकसम्म लाइनमा बस्नुपरेको छ,’ उनले भने, ‘अहिले अधिकांश सेवाग्राही गाउँतिरबाटै आउनुभएको छ, लकडाउनका कारण उहाँहरूले भत्ता लैजानुभएको पनि थिएन, त्यसैले लनि नपाएको रकम बुझ्न अहिले धेरैजना आउनुभएको होला।’ बैंकमा आएर पालो कुरिरहेका ज्येष्ठ नागरिक तथा अन्य नागरिकले पनि लकडाउन र रोपाइँका कारण यसअघि बैंक आउन नपाएको बताएका छन्‌।
‘चैतदेखि लकडाउन भयो, बजारमा आउनै भएन, बीचमा पालो अनुसार बैंक खुलेको थाहा भएको त हो, तर स्वास्थ्यका लागि खतरा हुन्छ भने पैसा पछि लैजाम्ला भनेर लिन आइएन,’ आमा बैंकसम्म आउन नसकेपछि भत्ता लैजानका लागि आएका फलेवास नगरपालिका-३ शंकरपोखरीका मोती भण्डारीले भने, ‘जेठबाटै रोपाइँ सुरु भयो, त्यो बेलामा मलामी जान त फुर्सद हुँदैन, झन् बैंकमा आउने कुरै भएन।
अब लकडाउन नि खुल्यो, रोपाइँ नि सकियो, अनि बल्ल कुस्मा आएँ।’ प्रयोग गरिएका मास्क यत्रतत्र, कहिले सिक्ने संस्कार ? कुस्मा नगरपालिका-५ बडागाउँ र वडा-९ कटुवाचौपारी जोड्ने मोदी खोला माथिको अग्लो झोलुङ्गे पुल र आसपास क्षेत्रमा प्रयोग गरिएका मास्क जथाभावी फालिएका छन्। सदरमुकाम कुस्मा बजारमा हिँडडुल गर्दा प्रहरीले अनिवार्य मास्क प्रयोग गर्न भन्दै आवतजावत गर्नेहरूलाई कडाइ गर्छ।
प्रहरीको आँखा छल्न केही बेरका लागि लगाएपनि कुस्मा बजार कट्नेबित्तिकै मास्क निकालेर जथाभावी फाल्ने गरेको पाइएको छ। एकपटक मात्रै प्रयोग गरेकादेखि पुराना भएपछि फ्याँक्नुपर्ने अवस्थामा पुगेका मास्क यतिखेर बाटाघाटा र पुलपुलेसा जताततै छरपष्ट फालिएका छन्‌। जवाभावी फालिएका मास्कका कारण वातावरणीय प्रदूषण र मानव स्वास्थ्यमा पनि जोखिम बढिरहेको छ।
पुल आसपासको क्षेत्रसहित बडागाउँ क्षेत्र र जिल्ला कारागार रहेको क्षेत्रको नाली, घाँसे मैदान तथा सडक छेउमा फालिएका मास्कले प्रयोगकर्ताको सभ्यता कति छ भन्ने प्रस्ट देखाएको जिल्लास्थित वातावरण संरक्षण अभियन्ताहरू बताउँछन्‌।​झोलुङ्गे पुल छेउमा होटेल व्यवसाय गर्दै आएका रमेश श्रेष्ठले प्रयोग गरिसकेका मास्कको उचित व्यवस्थापन नहुँदा त्यस क्षेत्रका बासिन्दाको स्वास्थ्य नै जोखिममा पर्न सक्ने बताए।
‘यहाँ माथितिरसम्म प्रहरी हुन्छ, प्रहरी नदेखेपछि मास्क लगाएर हिँड्नेहरूले एकाएक खोल्छन्‌ र जथाभावी फालिदिन्छन्‌, हेर्नेलाई पनि निकै नराम्रो लाग्‍छ,’ उनले भने, ‘यहीँ नजिकै अस्पताल छ, अस्पतालका स्वास्थ्यकर्मीलाई नै कोरोना लागेपछि समुदायमा पनि आएको हुनसक्छ। जथाभावी फालिएका मास्कमा कोरोनाका मात्रै होइन, अरू सरूवा रोगका भाइरस पनि त हुन सक्छन्।’ सदरमुकाम कुस्मा बजारमा रहेका आमा समूह, युवा क्लब तथा अन्य सङ्घ संस्थाहरूले समय समयमा अभियान नै चलाएर बजार र पुल आसपासको क्षेत्र सफा गर्दै आइरहेका थिए।
तर कोरोनाको जोखिमका कारण अहिले सरसफाइका कार्यक्रम सञ्चालन गरिएका छैनन्। ती संघसंस्थाले वातावरणीय प्रदूषण हुन नदिनका लागि फोहोर सङ्कलन गर्ने डस्टबिन पनि राखेका छन्। तर मास्क लगाउनेले फाल्नै परेमा पनि ती डस्टबिनमा नफाली नजिकैको खुला ठाउँमा फाल्ने गरेका छन्।
बडागाउँ क्षेत्रमा सरसफाइ अभियान चलाउँदै आएको सिसेफ नेपालका संस्थापक अध्यक्ष टङ्क लामिछानेले अहिलेको अवस्थामा प्रयोग गरेर फलिएका मास्कको व्यवस्थापन गर्न सरसफाइ अभियान चलाउन नसकिने बताए। अर्को व्यक्तिको नजिक समेत पर्न जोखिम रहेका बेलामा अरूले प्रयोग गरेर फालेको मास्क उठाएर डस्टबिनमा राख्न कसैले पनि नमान्ने उनको भनाई छ।
बडागाउँ क्षेत्रमा नै रहेको पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले मास्क प्रयोग गर्ने व्यक्तिमा नै सभ्यता र संस्कार नभएका कारण मनपरी तरिकाले मास्क फालिएको बताउँछन्। दोस्रो व्यक्तिको नजिक समेत पर्न नहुने समयमा अरूले प्रयोग गरेर फालेको मास्क उठाउन अरू तयार हुन नसक्ने उनको भनाई छ। ‘यो जोखिमको बेला हो, अरू फोहोर त जहाँ पायो त्यहीँ फाल्न हुँदैन भने मुखमा लगाएको मास्क मनपरी फाल्नुले हाम्रो संस्कार र सभ्यता देखायो,’ उनले भने, ‘ती मास्कहरूबाट कोरोना मात्र होइन, अन्य संक्रामक रोगका जीवाणुहरू पनि फैलन सक्छ।’ रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन मिडिया, सामाजिक सञ्जालमा पनि आफूले प्रयोग गरेका सामग्रीको व्यवस्थापन कसरी गर्ने भन्ने बारेका सूचना छ्यापछ्याप्ती सुन्न, हेर्न र पढ्न पाउँदा पनि त्यही कुराको ख्याल नगर्नु दुःखद भएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!