पर्वतको कालाञ्जरमा आयोजित महायज्ञ स्थगित, प्रभावितको निशुल्क उपचार गर्ने जलजला गाउँपालिकाको निर्णय - News site from Nepal

पर्वत- जलजला गाउँपालिकाले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका हरेक नागरिकको एम्वुलेन्स सेवासहित निशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

जलजला गाउँकार्यपालिकाको शनिवार बसेको बैठकले गाउँपालिका भित्रका नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरि यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो ।

‘नागरिकको पहिलो अधिकार बाँच्न पाउने अधिकार भएकोले यदि कसैलाई कोरोनाको आशंका देखिएमा एम्वुलेन्स सेवासहित सम्पूर्ण उपचार खर्च गाउँपालिकाले व्यहोर्ने निर्णय गरेका छौं ।’- अध्यक्ष मल्लले भन्नुभयो । गाउँपालिकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र भिडभाड हुने ठाउँमा नजान सबै नागरिकलाई आग्रह समेत गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गदै सम्पूर्णलाई स्वास्थ्य अवस्थावारे सचेत रहन, व्यक्तिगत सरसफाईमा ध्यान दिन, भिडभाडमा नजान, अत्यावश्यक काम बाहेक सकेसम्म घरभित्रै रहन तथा रोगथामका उपायहरु अवलम्वन गर्न र कुनै लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा गाउँपालिमा सम्पर्क राख्न अपिल गरेको अध्यक्ष मल्लले जानकारी दिनुभयो । उहाँले कोरोना भाइरस नेपालमा जुनसुकै समयमा पनि फैलन सक्ने खतरा भएकोले सबैलाई सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

चीनको हुवेई प्रान्तबाट सुरुवात भएको नोभल कोरोना भाइरस (कोभिड–१९) हाल विश्वको १७३ मुलुकहरुमा फैलिइ भयानक रुप लिइसकेको छ । नेपाल लगायत विश्वभरि नै यसको उच्च जोखिम रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । हालसम्म नेपालमा कसैलाई पनि यस रोगको संक्रमण नभएतापनि संकम्रणको सम्भावनालाई उच्च दुष्टिगत गरि संक्रमणको फैलावट घटाउन तथा जोखिम कम गर्न कुनै पनि साना ठुला सभा सम्मेलन, बैठक भेला, गोष्ठी, सेमिनार भेटघाट, जमघट, सभा–समारोह, महोत्सव लगायतका कार्यक्रम नगर्न र नगराउन पनि गाउँपालिकाले सबैलाई अपिल गरेको छ ।

त्यसैगरि गाउँपालिकाको शनिवारकै सम्पन्न बैठकले आगामी बैशाख १ गतेदेखि ७ गतेसम्म कालाञ्जर क्षेत्रमा आयोजना गर्न लागिएको विराट ज्ञान महायज्ञलाई तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । विश्वभर कोरोना भाईरसको संक्रमण बढ्दै गएको अवस्थामा महायज्ञ गर्न उपयुक्त नभएको भन्दै गाउँपालिकाले तत्कालका लागि महायज्ञ लगायत सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!