पर्वतको जलजला गाउँपालिकाद्धारा मजदुर सञ्चय कोष कार्यक्रम शुरु - News site from Nepal

पर्वत –  पर्वतको जलजला गाउँपालिकाले गाउँपालिकाभित्र ज्यालादारीमा काम गर्ने मजदुरका लागि मजदुर सञ्चय कोष कार्यक्रम अघि सारेको छ ।
गाउँपालिकाले सञ्चय कोषमा सूचीकृत हुँन समेत मजदुरलाई आग्रह गरेको छ । दुःख गरेर अरुको लागि खट्ने मजदुरहरुलाई अप्ठेरोमा परेका बेला कतैबाट पनि सहयोग नपाउने अवस्था आउने भएकोले सञ्चय कोषको शुरुआत गरिएको पालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिनुभयो । जलजला गाउँपालिकाले सोमवार आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मल्लले यो नयाँ कार्यक्रम वारे जानाकारी गराउनु भएको थियो । शुरूमा ५० बर्षदेखि माथिका मजदूरहरुको लागि मासिक पाँचसय गाउँपालिकाले जम्मा गरिदिने र पाँचसय मजदूर स्वयंले जम्मा गर्नेगरि सञ्चयकोष कार्यालय मार्फत यो कार्यक्रम लागु गर्ने तयारी भइरहेको अध्यक्ष मल्लले वताउनु भयो । यो कार्यक्रम लागु भएपछि जलजला गाउँपालिकाका झण्डै दुईहजार दैनिक ज्यालादारी मजदुरहरू लाभान्वित हुने अध्यक्ष मल्लको विश्वास छ ।

गाउँपालिकाको शनिबार बसेको कार्यपालिका बैठकले समेत मजदुर सञ्चय कोष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेपछि त्यसको कार्यविधि तयार गरि पालिकाभित्रका दैनिक ज्यालादारीमा काम गर्ने विपन्न मजदुरको लगत संकलन शुरू गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । ‘शुरूमा एकघर एक मजदुरलाई मात्रै यो कार्यक्रममा सहभागी गराइने छ र आर्थिक श्रोत खोजी यसको दायरा बढाएर सबै श्रमिकहरुलाई यो कार्यक्रममा सहभागी गराइने छ ।’- प्रमुख प्रशासकीय अधिकृत शर्माले भन्नुभयो ।

जलजला गाउँपालिकाको कार्यपालिका बैठकले गाउँपालिकालाई नगरपालिकाको लागि प्रस्ताव गर्ने निर्णय समेत गरेको छभने प्रत्येक वडामा वाइफाइ लैजाने, सबै सामुदायिक विद्यालयमा मन्टेश्वरी कक्षा सञ्चालन गर्ने, गाउँपालिकाभित्र रहेको सार्वजनिक सम्पत्तिको लगत संकलन गरि त्यसको अधिकतम उपयोगमार्फत गाउँपालिकाको आन्तरिक आयलाई बलियो बनाउने र गाउँपालिकाको मुख्य आयश्रोतका रूपमा रहेको ढुङ्गा गिट्टी बालुवाको संकलन तथा विक्री वितरण प्रणालीलाई व्यवस्थित गर्ने निर्णय समेत गरेको अध्यक्ष मल्लले वताउनु भयो । ढुङ्गा गिट्टी र बालुवाबाट मात्रै यो बर्ष गाउँपालिकामा एककरोड ६५ लाख रूपैयाँ राजश्व संकलन भएको वताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!