पूर्व माओवादी समूहका स्थायी कमिटी सदस्यहरूको प्रचण्डलाई सुझाब : एकता जोगाउन ओलीसँगै सम्झौता - News site from Nepal

काठमाडौं –  स्थायी कमिटी बैठक नरोक्ने र प्रस्तावित एजेन्डाको छलफललाई निरन्तरता दिएर अघि बढ्ने, पार्टी एकतालाई सुदृढ गर्न सुझाब दिएका छौं । समझदारी कायम गर्न अर्का अध्यक्षसँगको छलफललाई पनि निरन्तरता दिएर विधिबाटै अघि बढ्दा उपयुक्त हुने धारणा पनि राखेका छौं । – पम्फा भुसाल

प्रचण्ड – पूर्व एमालेहरू वैचारिक कुरामा एक ठाउँमा हुनुहुन्छ, त्यसैले कहिले कोसँग, कहिले कोसँग एकता, सहकार्य र संघर्ष हुन सक्छ, एकतापछि त्यस्तो हुँदै आएको पनि छ । हिजो केपीजीसँग मिलेर एकता गरेको हो, बीचमा विधि, प्रक्रिया र कार्यशैलीका प्रश्नमा माधवजीसँग कुरा मिल्यो, त्यो गुटबन्दी वा स्थायी समीकरण होइन, तर अहिले पार्टी एकता जोगाउन ओलीसँगै संघर्ष गरे पनि मिल्नुपर्ने हुन सक्छ, निकास दिनका लागि अरूसँगको एकता र संघर्षको अर्थ पनि छैन ।

नेकपाभित्र पूर्व माओवादी समूहबाट प्रतिनिधित्व गर्ने स्थायी कमिटीका धेरै सदस्यले पार्टीभित्र उत्कर्षमा पुगेको विवाद समाधानका लागि मूल नेतृत्वसँगै सहमति गरेर अगाडि बढ्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाब दिएका छन् । तर, पार्टी एकता बचाउन प्रधानमन्त्री केपी ओलीसँगै सहमति गरेर अघि बढ्नुबाहेकको विकल्प नभए पनि अरूलाई पनि विश्वासमा लिएर हिंड्नुपर्ने उनीहरूको भनाइ छ ।

प्रधानमन्त्री ओलीले मंसिरमा अर्ली महाधिवेशनको प्रस्ताव ल्याएपछि विकसित पछिल्लो घटनाक्रमका विषयमा प्रस्ट्याएर सुझाब लिने उद्देश्यले प्रचण्डले सोमबार बिहान प्रचण्डनिवासमा पूर्वमाओवादी समूहका स्थायी कमिटीका सदस्यहरूको भेला बोलाएका थिए ।

पार्टीभित्र पैदा भएका समस्या र मुद्दाका आधारमा फरक–फरक समूहसँग सहकार्य हुने कुरा स्वाभाविक भए पनि अहिले पार्टी विवादबाट निकास दिनुपर्ने प्रचण्डको भनाइ थियो । लगत्तै उनले अन्य सदस्यको धारणा मागेका थिए ।

ओली–प्रचण्डबीच सहमतिको प्रयास जारी रहेपछि १७ असारबाट निरन्तर स्थगित स्थायी कमिटी बैठक मंगलबार डाकिएको छ । बैठकको पूर्वसन्ध्यामा प्रचण्डले पूर्व माओवादी समूहका नेताहरूसँग बेग्लै परामर्श गरेर ठोस निर्णय लिन सकिने संकेत गरेका छन् ।

लामो समयदेखि बैठक स्थगित भएको, ओलीसँग बारम्बार संवाद हुँदा पनि दुवै पक्ष आ–आफ्नो अडानमा रहेको र ओलीले पछिल्लो पटक मंसिरमा महाधिवेशनको प्रस्ताव अगाडि सारेपछि प्रचण्डले नयाँ रणनीति निर्माणका लागि पूर्वमाओवादी समूहका नेताहरूसँग छलफल गरेका हुन् । आइतबार उनले आफूनिकट र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरूसँग छलफल गरेका थिए ।

मंसिरको महाधिवेशन सहमतिको एउटा विकल्पका रूपमा छलफलका लागि प्रस्तुत भए पनि आफूले सहमति जनाइनसकेको जानकारी दिएर उनले भेलामा नेताहरूसँग सुझाब मागेका थिए ।

महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न तयार भए पनि पार्टीको मार्गदर्शक सिद्धान्त र कार्यदिशा जनताको बहुदलीय जनवाद हुनुपर्ने प्रधानमन्त्री ओलीको पछिल्लो प्रस्तावपछि अध्यक्ष प्रचण्ड अलमलमा छन् । अधिकांश नेताले भने व्यावहारिक हिसाबले मंसिरमा महाधिवेशन सम्भव नभएकाले ओलीसँगको छलफल जारी राख्दै स्थायी कमिटी बैठकबाट सहमतिबाटै पार्टी एकता जोगाउने गरी निष्कर्ष निकाल्नुपर्नेमा जोड दिएका छन् ।

‘हामीले स्थायी कमिटी बैठक नरोक्ने र प्रस्तावित एजेन्डाको छलफललाई निरन्तरता दिएर अघि बढ्ने, पार्टी एकतालाई सुदृढ गर्न सुझाब दिएका छौँ,’ बैठकपछि नेतृ पम्फा भुसालले नयाँ पत्रिकासँग भनिन्, ‘समझदारी कायम गर्न अर्का अध्यक्षसँगको छलफललाई पनि निरन्तरता दिएर विधिबाटै अघि बढ्दा उपयुक्त हुने धारणा पनि राखेका छौँ ।’

भेलामा गृहमन्त्री रामबहादुर थापा कार्यक्रममा र जनार्दन शर्माले बिसन्चोका कारण उपस्थित हुन नसक्ने जानकारी गराएका थिए । अर्का नेता लेखराज भट्ट भने छुट्टै भेट्ने भन्दै भेलामा उपस्थित भएनन् । भट्ट पछिल्लोपटक ओली निकट छन् । पूर्व माओवादी समूहका २० मध्ये प्रचण्डसहित १६ नेता भेलामा सहभागी थिए ।

एक नेताका अनुसार भेलामा नेताहरूले मूलतः तीनथरी सुझाब राखेका थिए । नेताहरू टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, मणि थापा र चक्रपाणि खनालले स्थायी कमिटी बैठकमा प्रस्तुत एजेन्डामा छलफल केन्द्रित भइरहेका वेला प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने विषयलाई मुख्य एजेन्डा बनाउँदा संघर्ष चुलिएकाले समस्या उत्पन्न भएको धारणा राखेका थिए ।

एजेन्डामाथिको छलफल नरोकिएको अवस्थामा विधि र प्रक्रियाभित्रैबाट धेरैको बैठकमा सुझाब आउँदा ओली ‘कन्भिन्स’ हुने स्थिति हुँदाहुँदै राजीनामालाई मुख्य एजेन्डा बनाएर चर्काउँदा पार्टी फुटको तहसम्म पुगेको भन्दै उनीहरूले दुई अध्यक्षले नै गहिरो संवादबाट स्थायी कमिटीमा सहमतिको ठोस प्रस्ताव ल्याउने काममा ढिलाइ गर्न नहुनेमा जोड दिएका थिए ।

त्यस्तै, प्रवक्ता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल, मातृका यादवलगायतले भने पार्टी एकताको काम नै टुंगिनसकेको अवस्थामा व्यावहारिक हिसाबले अर्ली महाधिवेशन सम्भव नभएको बताएका थिए ।

उनीहरूले त्यस्तो प्रस्ताव अलमल्याउनका लागि आएकाले अहिलेको अवस्थामा ओलीलाई दुईमध्ये एक पदबाट राजीनामा गराउने गरी नै सहमति गर्नुपर्ने, यदि सहमतिमा नआए विधि र प्रक्रियाभित्रैबाट भए पनि निकास खोज्नुपर्ने धारणा राखेका थिए ।

त्यस्तै, नेताहरू वर्षमान पुन, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, शक्तिबहादुर बस्नेतले भने तटस्थ प्रकारको धारणा राखेका थिए । उनीहरूले वरिष्ठ नेता माधवकुमार नेपालसहित सबै पक्षलाई समेटेर अघि बढ्नुको विकल्प नभएकाले सहमतिका आधारमा दुई अध्यक्षले नै निकास दिनुपर्नेमा जोड दिएको एक नेताले बताए ।

बैठकमा सहभागी नेता देवेन्द्र पौडेलका अनुसार अधिकांश नेताले पार्टी एकतालाई केन्द्रबिन्दु बनाएर मूल नेतृत्वसँग सहमति गर्दै अघि बढ्नुपर्ने सुझाब दिएका छन् । ‘धेरै साथीको धारणा मुख्य नेतृत्वसँगै सहमति गरेर निकास दिनुपर्छ भन्ने छ, पार्टीभित्र सधैँ संघर्ष मात्रै हुन्न, विषय र मुद्दाका आधारमा कहिले कोसँग र कहिले कोसँग सहकार्य र संघर्ष हुन सक्छ,’ पौडेलले भने, ‘तर, मुख्य कुरा लामो समयसम्म निकास नदिएर पद र प्रतिष्ठाका लागि लडाइँ गरेजस्तो देखिए जनतामा नकारात्मक सन्देश जान्छ, त्यसैले स्थायी कमिटी बैठकबाटै छिटो निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने धेरै साथीको सकारात्मक सुझाब छ ।’

एकता र संघर्ष ओलीसँगै : प्रचण्ड
भेलामा अध्यक्ष प्रचण्डले पार्टीभित्र अहिले देखिएको समस्याको निकास प्रधानमन्त्री ओलीसँगको संघर्ष र एकताबाटै सम्भव हुने भन्दै त्यसका लागि सहमतिको प्रयास भइरहेको जानकारी गराएका थिए । अब लामो समय पार्टीलाई निर्णयविहीनताको अवस्थामा राख्न नहुने प्रचण्डको भनाइ थियो ।

‘पूर्व एमालेहरू वैचारिक कुरामा एक ठाउँमा हुनुहुन्छ, त्यसैले कहिले कोसँग, कहिले कोसँग एकता, सहकार्य र संघर्ष हुन सक्छ, एकतापछि त्यस्तो हुँदै आएको पनि छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘हिजो केपीजीसँग मिलेर एकता गरेको हो, बीचमा विधि, प्रक्रिया र कार्यशैलीका प्रश्नमा माधवजीसँग कुरा मिल्यो, त्यो गुटबन्दी वा स्थायी समीकरण होइन, तर अहिले पार्टी एकता जोगाउन ओलीसँगै संघर्ष गरे पनि मिल्नुपर्ने हुन सक्छ, निकास दिनका लागि अरूसँगको एकता र संघर्षको अर्थ पनि छैन ।’

प्रचण्डले तत्काल मंसिरमा महाधिवेशन सम्भव नभएको र त्यसबारेमा ओलीसँग सहमति भइनसकेको पनि प्रस्ट पारेका थिए । ‘मैले त्यो (अर्ली महाधिवेशन) पनि छलफलको विषय बनाउन सकिन्छ भनेको हुँ, निर्णय त गरिएको छैन, एउटा विकल्पका रूपमा छलफल मात्रै हुन सक्छ भन्ने हो, तर मंंसिरमै सम्भव छैन जस्तो लाग्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै नेतृ भुसालले भनिन् ।

त्यस्तै, जनताको बहुदलीय जनवाद मानेर जाने विचारधारात्मक सवालमा पूर्व एमालेहरू एक ठाउँमा हुन सक्ने संकेत गर्दै प्रचण्डले पूर्व माओवादीहरू पनि समाजवादमा जाने नयाँ कार्यदिशाका सवालमा एकै ठाउँ उभिनुपर्नेमा जोड दिएका थिए ।

प्रचण्डसँग गठबन्धनमा रहेका वरिष्ठ नेता नेपालले आइतबार खुमलटारमा भएको छलफलमा महाधिवेशन हुने हो भने आफू जबजवादी हुने र समाजवादसम्म जबजबाटै पुग्न सकिने विश्वास रहेको धारणा राखेकै भोलिपल्ट उनले पूर्वएमालेहरू विचारधारात्मक सवालमा एक ठाउँमा उभिन सक्ने प्रस्ट संकेत गरेका हुन् ।

‘हामी (पूर्व माओवादी) हरू एक ठाउँमा उभिऊँ, मिलेर जानुको विकल्प छैन, विचारधारात्मक सवालमा एकैठाउँ उभिएर बहस गरौँ, अहिलेको समस्या पदीय लेनदेनका लागि होइन, मुख्य कुरा विधि स्थापित गर्ने सवाल हो, कस्तो प्रणाली स्थापित गर्ने कुरा हो,’ भेलामा प्रचण्डको भनाइ थियो ।

नेतृ भुसालले महाधिवेशन भनेपछि राजनीतिक, वैचारिक कार्यदिशा, संंगठनलगायत समग्र विषय हल गर्ने हो थलो भएकाले त्यसअनुसार नयाँ कार्यदिशामा बहस केन्द्रित हुनुपर्ने बताइन् । ‘हामी सबैले पुरानो कार्यदिशा छाडेर जनताको जनवादमा आइसकेका छौँ, अब त समाजवादतिर जाने भनेका छौँ ।

वैचारिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, दार्शनिक, आर्थिक हिसाबले नेपाली मोडलको समाजवाद कस्तो हुन्छ ? पार्टीले कार्यक्रम बनाउन बाँकी नै छ । त्यसबारे तलसम्म बहस र छलफल गरेर कार्यक्रम पास भएपछि त्यस आधारमै नेतृत्व चयन गर्ने कुरा हो,’ भुसालले भनिन्, ‘त्यसकारण महाधिवेशन गर्न त सकिन्छ, तर राजनीतिक, वैचारिक पक्ष छाडेर नेतृत्व मात्रै फेर्ने हो भनेचाहिँ केन्द्रीय कमिटीले फेर्दा पनि हुन्छ ।’

उनले अहिले जबज वा २१औं शताब्दीको जनवादको बहसमा जाने कुरा पार्टी एकतापूर्वको एमाले र माओवादी केन्द्रमा पुग्ने पश्चगामी सोच भएकाले समाजवादमा जाने कार्यदिशाका लागि नयाँ शिराबाट बहस गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

जनताको बहुदलीय जनवाद मानेको एमाले र माओवाद एवं २१औं शताब्दीको जनवाद मानेको माओवादी केन्द्रबीचको एकतापछि नेकपाले पार्टीको रणनीतिक लक्ष्य अर्थात् अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद र न्यूनतम कार्यक्रम समाजवादउन्मुख जनताको जनवाद मानेको छ ।

हाललाई पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद माने पनि जनताको बहुदलीय जनवाद, २१औँ शताब्दीको जनवाद र माओवादका सम्बन्धमा आगामी महाधिवेशनसम्म विधिसम्मत छलफल गरी निष्कर्षमा पुग्ने पार्टी विधानमा छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!