थपिए ४२१ जना कोरोना संक्रमित, संक्रमितको संख्या नौ हजार नाघ्यो - News site from Nepal

काठमाडौं : पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ४२१ जना संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ। आइतबार ४ सय २१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ सय २० महिला र ८ हजार २ सय ६ जना पुरुष रहेका छन्।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गुल्मीमा एकजनाको कोरोनाबाट मृत्यु भएको बताए। असार ५ गते मृत्यु भएका गुल्मी छत्रकोट ५ का ६९ वर्षका पुरुषको मृत्यु भएको हो। लकडाउनकै समयमा उपचारका लागि भारत गएका ती पुरुष प्यारालाइसिसका विरामी थिए। असार ५ गते नमुना संकलन गरी प्रदेश प्रयोगशालामा भैरहवामा भएको परीक्षणमा कोरोना पुष्टि भएको हो।
आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालाबाट ६ हजार ८ जनासँगै आइतबारसम्म पीसीआर विधिबाट १ लाख ७५ हजार १ सय ७३ जनाको कोरोना परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट २ लाख ६२ हजार १ सय ७४ जनाको कोरोना परीक्षण भएको छ। अहिले देशभरीका क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ जना रहेका छन्। देशका विभिन्न अस्पतालमा ७ हजार २ सय ३१ जना उपचाररत रहेका छन्। कोरोना निको भएर घर फर्किनेहरूको संख्या १ हजार ७ सय ७२ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari