
शुक्रवार भएको आकस्मिक कार्यपालिका सहित सरोकारवालाको भेलाले प्रत्येक वडामा वडा स्तरीय स्थानिय समव्य समितिको गठन गर्ने निर्णय गरेको छ भने वडा अध्यक्ष वा निजले तोकेको जनप्रतिनिधिको संयोजकत्वमा सम्बन्धित वडाका सवै जनप्रतिनिधि, सम्बन्धित वडामा रहेका स्वास्थ्य संस्थाका प्रतिनिधि, सम्बन्धित वडामा रहेको विद्यालयका प्रधानाध्यापक, स्थानिय समाजसेवी र वडा सचिव सदस्य सचिव रहेको समिति गठन गर्ने निर्णय गरेको छ।
अहिलेसम्म देशमा कोरोना भाइरस संक्रमण नभएतापनि नगरमा भाइरसको संक्रमण देखिएमा फलेवास नगरपालिका ५ खानीगाउँ पिप्लेमा रहेको धुलिखेल अस्पताल फलेवास स्वास्थ्य केन्द्रमा ९ वटा आइसुलेसन बेड तयारी अवस्थामा राखिएको शर्माले बताउनुभयो । त्यस्तै बाहिरबाट नगरमा प्रवेश गर्ने व्यक्तिहरुको लागि नगरका मुख्य नाका वार्ड नं.१ कार्किनेटा बजार, वार्ड नं. ४ मुडिकुवा र वार्ड नं. ११ पाङराङमा स्वास्थ्य परिक्षणका लागि हेल्थ डेक्स राखिने नगर प्रमुख शर्माले बताउनुभयो ।
बिदेशबाट नगरमा आएका व्यक्तिहरुमा भाइरसको शंका लागेमा उनिहरुलाई क्यारेनटाइनको लागि घर र बिद्यालयमा राखिने शर्माले बताउनुभयो । कोरोना भाइरस फैलिन नदिन पुर्व सतर्कता स्वरुप नगरपालिकाको कार्यालयमा प्रवेश गर्ने सेवाग्राही जनताहरुलाई कार्यालयको गेटमा साबुन पानीको व्यवस्था मिलाइएको र हात धोएर मात्र कार्यालय प्रवेश गर्न आग्रह गरिएको छ ।
सामान्य लक्षणका बिरामीहरुलाई वार्डको स्वास्थ्य चौकीमा उपचार गरिने र यदि जटिलता भएमा धुलिखेल अस्पताल फलेवास स्वास्थ्य केन्द्रमा आइसुलेसनमा राखेर उपचार गरिने व्यवस्था मिलाइएको उहाँले बताउनुभएको छ ।
नगर उपप्रमुख मन्जु अधिकारीले नगरपालिकाले कोरोना भाइरस विरुद्ध सचेतनामुलक कार्यक्रम संचालन गरेको बताउदै भयवित र त्रसित नभइ उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभएको छ ।
स्वास्थ्य शाखा प्रमुख रुद्र शर्मा सापकोटाको संयोजकत्वमा रेपिड रेस्पोन्स टीम (आरआरटी) अर्थात द्रुत प्रतिकार्य टोली निर्माण गर्ने, आत्यावश्यक काम बाहेक गाउँ वा घर बाहिर नजाने र घरमा नै आइसोलेसनमा बस्न प्रचार प्रसार गर्दै जानकारीहरु बाँड्ने, भ्रमपूर्ण समाचारहरु तथा अबैज्ञानिक र अन्धविश्वास तथा कुप्रचारहरुको खण्डन गर्दै सबैलाई सचेत बनाउने र जनमानसमा उच्च मनोबल विकास गराउने खालका बिभिन्न गतिबिधिहरु संचालन गर्ने निर्णय भएको छ ।
नगरका विभिन्न वार्डमा भएका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी र आवश्यक औषधिको प्रबन्ध मिलाइएको स्वास्थ्य शाखा प्रमुख रुद्र शर्मा सापकोटाले बताउनुभयो । भाइरसको संक्रमणबाट जोगिन सबैलाई सतर्कता अपनाउन आग्रह गर्दै केही समस्य भएमा नजिकैको स्वास्थ्य चौकीमा गएर चेकजाँच गर्न र चिकित्सकको सल्लाह अबलम्बन गर्न आग्रह गर्नुभयो ।
मुख्य कुरा जनस्तरमा उपयुक्त जनचेतना फैलाउनु नै कोरोना विरुद्धको सतर्कता हुने धुलिखेल अस्पताल फलेवास स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. बिसाल गुरुङ बताउनुभयो ।सुरुमा आफ्नै घरमा उचित सतर्कता अपनाउनुपर्ने गुरुङले जोड दिनुभयो ।
नगरका सार्वजनिक स्थल, सरकारी कार्यालय, सवारी साधन, शैक्षिक संस्थाहरुमा कोरोना भाइरस सम्बन्धि सचेतनामुलक पोष्टर र स्टिकर टास्नुका साथै घरदैलो सचेतना अभियान समेत संचालन गरिने उहाँले बताउनुभयो । कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि साबुन पानीले हात धुनुपर्ने, भिडभाडमा नजाने, माक्स्को प्रयोग गर्नुपर्ने, खोक्दा वा हाच्छ्यु गर्दा रुमाल वा हातले छोप्नुपर्ने, जंगली तथा घरपालुवा पशुपंछिसंगको असुरक्षित सम्पर्कबाट टाढा रहनुपर्ने, खानेकुरा पखालेर राम्रोसँग पकाएर मात्र खानुपर्ने बताउनुभयो ।