यसरी आयो बाँस्कोटाको राजीनामा - News site from Nepal
यसरी आयो बाँस्कोटाको राजीनामा

 

काठमाडौं : सञ्चारमन्त्री गोकुल बाँस्कोटाले घुस लिन कुराकानी गरेको अडियो सार्वजनिक भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार बिहान आफ्नै निवासमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई बोलाए।

दाहालले प्रधानमन्त्री केपी ओलीसँग भेटघाटका लागि समय तय भएको भन्दै श्रेष्ठ र थापासँग ‘घुस प्रकरण’ का विषयमा सामान्य छलफल गरे। ओली र दाहालबीच बिहीबार बिहान भेट्ने कार्यक्रम अघिल्लो दिन नै तय भएको थियो। पार्टी अभियान, एकताका बाँकी काम, एमसीसी कार्यदलको तयारीलगायतका विषय कार्यसूची थिए।

बाँस्कोटाको ‘घुस प्रकरण’ को अडियो सार्वजनिक भएपछि दाहालले प्रधानमन्त्रीसँग भेट्नुअगाडि पार्टी नेतासँग पनि छलफल गरेर बालुवाटार जान उचित हुने ठाने। दाहाल निवास स्रोतले भन्यो, ‘त्यसपछि दाहालले थापा र श्रेष्ठलाई निवासमै बोलाउनुभया। सचिवालयका अन्य नेताहरूसँग सम्भव भएसम्म टेलिफोनमा सम्पर्क गर्नुभयो।’

दाहालले गृहजिल्ला रौतहटको गौरमा रहेका वरिष्ठ नेता माधव नेपालसँग पनि दाहालले टेलिफोनमा छलफल गरे। नेपालले मन्त्री बाँस्कोटाले राजीनामा दिनुपर्ने सुझाव दिए। वरिष्ठ नेता नेपाल, प्रवक्ता श्रेष्ठ र मन्त्री थापाको राय लिएर दाहाल प्रधानमन्त्रीलाई भेट्न साढे १० बजे बालुवाटार पुगे। ‘दुई अध्यक्षबीच पार्टी अभियान, बाँकी एकताका काम टुंगो लगाउने लगायतका विषयमा संवाद गर्ने समय बुधबार नै तय गरिएको थियो’, दाहाल निकट एक स्थायी समिति सदस्यले अन्नपूर्णसँग भने, ‘सञ्चारमन्त्रीको अडियो सार्वजनिक भएपछि यो विषय पनि छलफलमा पर्‍यो।’

ओलीसँगको छलफलमा दाहालले सञ्चारमन्त्रीलाई राजीनामा दिन लगाई छानबिनमा सहयोग गराउन सहज बनाइदिनुपर्ने मत राखेका थिए। ओली भने एकपटक सञ्चारमन्त्रीसँग छलफल गर्ने पक्षमा थिए। त्यसबीचमा प्रतिपक्षी कांग्रेसबाट बाँस्कोटालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्नुपर्ने वक्तव्य आइसकेको थियो। कांग्रेसले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर बाँस्कोटाले राजीनामा माग्यो।

सामाजिक सञ्जालमा पनि सञ्चारमन्त्रीको आलोचना चुलिँदै गयो। कांग्रेसले राष्ट्रियसभा अवरुद्ध गरेर प्रतिनिधिसभा पनि अवरोध गर्न खोजेपछि प्रधानमन्त्री ओलीले सभामुखमार्फत कांग्रेसलाई संसद् नघेर्न सन्देश पठाएका थिए।

‘सञ्चारमन्त्रीले काठमाडौं आएलगत्तै राजीनामा बुझाउनुहुन्छ, संसद्मा अवरुद्ध नगर्नुहोस् भन्ने सन्देश सुनाइदिनुहोला’, प्रधानमन्त्रीले सभामुख अग्नि सापकोटामार्फत कांग्रेस नेताहरूलाई सन्देश पठाएका थिए। मन्त्री बाँस्कोटा सुदूरपश्चिमबाट राजधानी आउँदै थिए।

सभामखु सापकोटाले कांग्रेस नेताहरूसँग सञ्चारमन्त्रीले राजीनामा दिने अनौपचारिक जानकारी आएको भन्दै संसद् अवरोध नगर्न आग्रह गरेका थिए। तर कांग्रेसले त्यो आग्रह मानेन।

सञ्चारमन्त्री बाँस्कोटा साढे २ बजे त्रिभुवन विमानस्थलमा ओर्लेर सीधै प्रधानमन्त्री निवास बालुवाटार पुगे। प्रधानमन्त्री ओलीलाई भेटे। ओलीको सुझावपछि उनले पदबाट राजीनामा दिए। ‘मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएको छु’, राजीनामा दिएपछि बाँस्कोटाले सामाजिक सञ्जालमा लेखे।

सेक्युरेटी पिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटाले कमिसन मागेको अडियो बुधबार राति सञ्चारमाध्यममा सार्वजनिक भएको थियो। बाँस्कोटा २०७४ चैत २ मा सञ्चार राज्यमन्त्रीका रूपमा ओली नेतृत्वको सरकारमा सहभागी भएका थिए। उनी २०७५ जेठ १८ मा सञ्चारमन्त्रीमा बढुवा भएका थिए। प्रधानमन्त्री ओलीले सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडालाई र सहरी मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाडलाई तोकेका छन्।

‘लुट्ने सुविधा कसैलाई पनि छैन’

– केपी शर्मा ओली, प्रधानमन्त्री

जनप्रतिनिधिलाई शासनमा (रुलिङ पोजिसनमा) पुर्‍याउनुको अर्थ ‘लुटिङ फेसिलिटी’ (लुट्ने सुविधा) दिएको होइन। मैले पहिलेदेखि भन्ने गरेको पनि छु– स्वच्छता, पारदर्शिताका सम्बन्धमा अलिकति पनि प्रश्न उठ्नेबित्तिकै म कसैको अनुहार हेरेर काम गर्दिनँ। भ्रष्टाचारप्रतिको ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) भन्ने मात्र होइन, व्यवहारमा देखाउने कुरा हो। ‘जिरो टोलरेन्स’ को नीति सुशासनका निम्ति चाल्नुपर्ने कदम हो। यहाँहरूले देख्नुभएकै छ, सुशासनका निम्ति चाल्नुपर्ने कदममा म हिच्किचाउन्नँ। अप्ठ्यारा त आउँछन्। मान्छेहरूले मलाई भन्छन्, ‘तेरो प्रधानमन्त्री पद धरापमा पर्छ है यही चालाले।’ मलाई प्रधानमन्त्री पद धरापमा पर्छ÷पर्दैन भन्ने चिन्ता होइन। मैले एउटा ‘सिस्टम’ बसाउने हो। हजार वर्ष त कसैले ‘रुल’ गर्दैन। जतिसुकै सफल भए पनि प्रकृतिले लामो समय रुल गर्न मान्दै–मान्दैन। जस्तै राम्रै गरे पनि धेरै समय शासनमा बस्न खोज्यो भने परिणाम राम्रो हुँदैन। सगरमाथाको शिखरमा चढेपछि त्यहीं बसिराख्ने कुरा हुँदैन। झन्डा गाड्ने हो, फोटो खिच्ने हो (हाँसो), फर्कने हो।

हामी एउटा ‘कम्प्रिहेन्सिभ डमोक्रेसी’ (बृहत् लोकतन्त्र) को अभ्यास गर्न चाहिरहेका छौं। यहाँ कसैले पनि ‘जेन्युन’ (सही) काम गरेको छ भने डराउनु पर्दैन। अहिले सम्पत्ति शुद्धीकरणले दुःख दियो भन्ने गरेको सुनिन्छ। कोही धनी मान्छे छ, घर बनाएको छ, गाडी किनेको छ भनेर त्यसको पछि लाग्ने होइन। वैधानिक तवरले कमाएको छ भने डराउनु पर्दैन। मुलुकको विकास र समृद्धि यात्रामा हामी प्रतिबद्ध छौं। काम गरिरहेका छौं। परिणाम देखिएको पनि छ। एउटा गिलासमा आधा पानी छ भन्ने अवस्थामा हामी छौं। अब त्यो भरिने क्रममा छ। (नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको पुस्तक ‘समृद्धिको यात्रामा’ पुस्तक विमोचनमा प्रधानमन्त्रीद्वारा व्यक्त विचार)
अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!