माधव पराजुली,पोखरा
पर्वतको विहादी गाउँपालिकामा औद्योगिक ग्राम सञ्चालन गरिने भएको छ ।
गण्डकी प्रदेश सरकारले औद्योगिक ग्राम स्थापना सम्बन्धी नीतिगत निर्णय गर्न संघिय मन्त्रिपरिषद्मा पठाएको थियो । मन्त्रिपरिषद्ले गण्डकी प्रदेशमा विहादी गाउँपालिका सहित ११ वटा औद्योगिक ग्राम र २ वटा औद्योगिक क्षेत्रको स्थापना गर्न स्वकृत गरे सँगै औद्योगिक ग्राम स्थापना गर्न बाटो खुलेको हो ।
औद्योगिक ग्राम सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले रु ९२ लाख रकम बिनियोजन गरि विहादी गाउँपालिका सँग सम्झौता समेत गरेको छ । गण्डकी प्रदेश सरकारले रु ६० लाख तथा बाँकी गाउँ पालिकाको लगानीमा औद्योगिक ग्राम सञ्चालन गरिने गर्न लागिएको हो ।
गाउँ कार्यपालिकाको बैठकबाट औद्योगिक ग्राम सञ्चालनका लागि वडा नं. २ बर्राचौर स्थित तिलाहारचौरमा जग्गा छनोट गरिसकिएको गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुषालले जानकारी दिनुभयो ।
“औद्योगिक ग्राम सञ्चालन गर्न पहिलो चरणमा एक सय भन्दा बढी रोपनीको जग्गा छनोट गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “ आवश्यक परेको खण्डमा बाकीँ जग्ग पनि औद्योगिक ग्राम सञ्चालनका लागि छुट्टायाउछौँ, ।
औद्योगिक ग्राममा विशेष गरी स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थ, अर्धप्रशोधित कच्चा पदार्थ वा खेर गएको वस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादन गर्ने उत्पादनमूलक उद्योग सञ्चालन हुनेछ । स्थानीय स्तरमा प्राप्त हुने कोदो,मकै,धान,कहुँ,फापर,दुध ,मह ,चिया कफी ,फलफूल जडीबुटी लगायत वस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादनमुलक उद्योग निर्माण गर्ने उद्देश्य छ ।
प्राकृतिक रेशा उत्पादन वा रेशामा आधारित उधोग तथा काठ बेतबाँसजन्य फर्निचर उद्योग सञ्चालन गर्न सकिने छ भने सौर्य उर्जा, नवीकरणीय उर्जा उत्पादन गर्न मेसिन उपकरण निर्माण सँग सम्बन्धित उद्योग ,बायोग्यास प्लान्ट उद्योग समेत सञ्चालन गर्न सकिन्छ । उद्योग ग्राम स्थापना भएपछि रोजगारी समेत सिर्जना हुनेछ ।