पर्वत कारागारका दुई कैदीको सजाय मिनाहा - News site from Nepal
पर्वत कारागारका दुई कैदीको सजाय मिनाहा

पर्वत- पर्वत जिल्ला कारागारमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका दुई कैदीले संविधान दिवसको अवसरमा ५० प्रतिशत सजाय छुट पाएका छन् । पर्वतको कुश्मा नगरपालिका ९ कटुवाचौपारीका अर्जुनदास बैरागी र महाशिला गाउँपालिका २ भोक्सिङका विजय कुमार नेपाली सजाय छुट पाएर जेल मुक्त भएका हुन् ।
पर्वत कारागार र जिल्ला प्रशासन कार्यालय पर्वतको संयुक्त रोहबरमा कैद सजाय छुट गर्न मिल्ने कैदीहरुको नाम सिफारिस गरिएपश्चात् उनीहरुको सजाय छुट भएको हो । कुटवाचौपारकिा बैरागीले कुश्मा नगरपालिका १० पिपलटारीका कमल क्षेत्रीको ज्यान मारेको अभियोगमा १० बर्ष कैद सजाय सुनाइएर पर्वत कारागारमा सजाय भुक्तानको क्रममा थिए । उनी ५ बर्ष १ महिना ३ दिन कारागारमा बसेर ५० प्रतिशत सजाय भुक्तान गरेपछि उनी जेल मुक्त भएका हुन् ।
त्यस्तै गौबध मुद्धाको अभियोगमा पर्वत जिल्ला अदालतबाट १ बर्ष ६ महिना कैद सजाय सुनाइएका महाशिलाका नेपालीले ९ महिना २३ दिन सजाय भुक्तान गरेपछि बाँकी कैद सजाय मिनाहा भएको हो । नेपाली र बैरागी दुवै जना शनिबार संविधान दिवसको अवसरमा जेलमुक्त भएर घर फर्केका छन् । कारागार प्रशासनले दुवैजनालाई आफन्तको जिम्मा लगाएर घर पठाएको पर्वत जिल्ला कारागारका निमित्त जेलर हरिकृष्ण शर्माले जानकारी दिए ।
शर्माका अनुसार विशेष प्रकृति भन्दा बाहेकका मुद्धाहरुमा नेपाल सरकारले ५० प्रतिशत भन्दा बढी कैद सजाय भुक्तान गरिसकेका कैदीहरुको आचारण र व्यवहारमा सुधार आएर सजाय छुट दिन सकिने प्रावधान अनुसार उनीहरु जेल मुक्ता भएको बताए । पर्वत जिल्ला कारागारमा रहेका ९४ जना कैदी बन्दी मध्ये अदालतबाट फैसला भएर सजाय भुक्तान गरिरहेका दुई जनाको नाम सिफारिस गरी कारागार व्यवस्थापन विभाग पठाएको र सोही अनुरुप उनीहरु जेलमुक्त भएको उनले बताए ।
जेल मुक्त भएर फर्केपछि कटुवाचौपारीका बैरागीको गाउँमा खुशीयाली छाएको छ । शारिरीक रुपमा वाक अपाङ्गता रहेका बैरागी वास्ताविक अपराधी नभएको र उनको सजाय छुट भएर घर फर्किँदा ढिलै भएपनि न्यायको अनुभुति भएको स्थानीय समाजसेवी रामशर्मा पौडेलले बताए । उनी घर फर्केपछि परिवारका सदस्य र छरछिमेकीले समेत हर्षका आँशु बगाएको पौडेलले जानकारी दिए । ‘अति नै मिलनसार र कर्मयोगी व्यक्ति तोकिएको सजाय भुक्तान गर्नै नपरी घर फर्किँदा हामी सिंगो गाउँ खुशी भएको छ’ उनले निर्दोष व्यक्तिले सजाय पाउन नहुने टिप्पणी समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!