पर्वतको कार्किनेटामा निर्मित स्वास्थ्यचौकी भवन हस्तान्तरण नहुँदै पहिरोको चपेटामा - News site from Nepal

पर्वत – स्थानीयको विरोधका बीच फलेबास नगरपालिका–१ कार्कीनेटामा बनेको स्वास्थ्य चौकी भवन हस्तान्तरण नहुँदै पहिरोको जोखिममा परेको छ । ३ करोड लागतको भवन पहिरोसँगै भासिन थालेको हो ।
जग खन्दादेखि नै जमिन भासिएको देख्दादेख्दै तत्कालीन सर्वदलीय संयन्त्रको मिलेमतोमा ०७४ वैशाखमा जबर्जस्ती भवन बनाउन सुरु गरिएको थियो । प्राविधिकले समेत त्यहाँ भवन बनाउन नमिल्ने सुझाव दिएका थिए ।
गत साता पहिरोले भवनको अगाडि र पछाडि दुवैतर्फ क्षति पुर्‍याएको स्थानीय हरिप्रसाद शर्माले बताए । ‘अगाडि बरन्डासम्मको भाग भासिएको छ,’ उनले भने, ‘पछाडिका पाँच लेयर जाली भत्किएर भवन अँठ्याएको छ । यसरी कसरी पार लाग्छ ?’
दुईतर्फको पहिरोले बस्तीसँगै खौला–कार्कीनेटा सडकसमेत जोखिममा परेको छ । पहिरो पन्छाउन र भवन जोगाउन अघिल्लो वर्ष र अहिले गरी करिब एक करोड खर्चिइसकेको छ । तर समस्या समाधान हुने छाँट नदेखिएको स्थानीय भूपेन्द्र पोख्रेलले बताए । ‘यताउति घुमाएर खाने मेसो मात्रै देखियो,’ उनले भने, ‘पहिला दलीय संयन्त्रका नाममा, अहिले जनप्रतिनिधि र ठेकेदारले कुम्ल्याउने माध्यम बनेको छ ।’ गत साता खसेको पहिरो नियन्त्रण गर्न भवन डिभिजन कार्यालयले २० लाख बजेट विनियोजन गरेको छ ।
साबिकको कार्कीनेटा गाविस–३ खाल्टाथरमा भवनको जग खन्ने समयमै पहिरो गएको थियो । लगत्तै स्थानीयले भवन अन्तै बनाउन माग गरेका थिए । उनीहरू करिब ४ सय मिटर परको डाँडाबारीमा ५ रोपनी जग्गा निःशुल्क दिनसमेत तयार थिए । ‘सबैलाई पायक पर्ने ठाउँमा सित्तैमा जग्गा दिन्छौं भन्दा नमानेर त्यहाँ पैसा हालेरै किनेका हुन्,’ स्थानीय नारायण शर्माले भने, ‘अहिले त्यही भवन ठूलाबडालाई कमाइखाने भाँडो भयो । जनताले सेवा पाउने छाँट छैन ।’
गत वर्षदेखि नै बर्थिङ सेन्टरको स्वीकृति पाएको स्वास्थ्यचौकीले भवन नपाएकैले सेवा सुरु गर्न सकेको छैन । ‘महिनैपिच्छे चार–पाँचवटा डेलिभरी केस आउँछन् । ठाउँ अभावले अन्तै पठाउनुपरेको छ,’ स्वास्थ्यचौकी इन्चार्ज प्रकाश सुवेदीले भने, ‘जनशक्ति भएर पनि सेवा दिन सकिएको छैन ।’
जग्गा छनोटमै असहमति जनाएका प्राविधिकले भवन बनाउनु नै गलत भएको बताएका थिए । ‘मैले उति बेलै जमिन उपयुक्त छैन भनेकै हो,’ तत्कालीन साइड इन्जिनियर सूर्यप्रसाद बरालले भनेका थिए, ‘अन्यत्र विकल्प नभएपछि बाध्य भएर पास गरिएको हो ।’ हाल अवकाशप्राप्त बरालले अहिले उक्त विषयमा बोल्न नमिल्ने बताए ।
भवन डिभिजन कार्यालय कास्कीका साइड इन्जिनियर सुशील आचार्यले जग्गा छनोटमै कमजोरी हुँदा समस्या आएको बताए । ‘दुवैतिर सडक र बीचमा दलदले जमिन उपयुक्त हुँदै होइन,’ उनले भने ।
निर्माण व्यवसायी नयाँबाटो सूर्योदय जेभीका सञ्चालक कुलराज पोख्रेलले कमजोर जमिन रहेको र त्यसमाथि समयमा काम गर्ने अख्तियारी नपाउँदा भवन हस्तान्तरण हुने बेला अर्को क्षति बेहोर्नुपरेको बताए । ‘अब इन्स्योरेन्स र भवन कार्यालयलाई जिम्मा दिने हो । जेसुकै गर्छन्,’ उनले भने । वडाध्यक्ष बाबुराम शर्माले जग्गा छनोट नै गलत भएकाले अब समाधान गर्न कठिन भएको बताए । ‘भवन सार्ने विकल्प नहुन सक्छ,’ उनले भने ।

कान्तिपुरवाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!