पर्वतमा कोरोना संक्रमित चिकित्सकले अस्पतालमा बिरामी चेकजाँच गरेको खुलासा - News site from Nepal

पर्वत – पर्वत अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण भएको पुष्टि भए को छ ।
पर्वतको गुप्तेश्वर बहुमुखी क्यामपसमा सञ्चालित अस्थायी कोरोना अस्पतालमा संक्रमितको उपचारमा संलग्न दुई चिकित्सक सहित ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका चिकित्सकहरु केही दिन देखि पर्वत अस्पतालमा बिरामी जाँचमा समेत खटिएको पाइएकाले जिल्ला नै संक्रमणको उच्च जोखिममा देखिएको छ । पर्वत अस्पतालमा इमर्जेन्सी बाहेकका सेवा बन्द गरिएको छ भने अस्पताल आसपासको क्षेत्र समेत सिल गरिएको छ । पर्वतको कुस्माबजारमा लक डाउन कडा बनाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको नमुना परिक्षणमा पर्वत अस्पातालका ५ जनामा संक्रमण पुष्टि भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले जानकारी दिनुभयो ।
अस्थायी कोरोना अस्पताल कुस्मामा कार्यरत रहेका ७ जनाको नमुना संकलन गरिएकोमा ५ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित हुनेमा २ जना चिकित्सक, १ जना स्टाफ नर्स, १ जना ल्याब असिस्टेन्ट र १ जना कार्यालय सहयोगी छन । कोरोना अस्पतालमा उपचारमा रहेका मध्ये ८ जना बिहीबार नै डिस्र्चाज भएर घर फर्केका छन । डाक्टरहरुले बिरामी संग प्रत्यक्ष भेटघाट समेत गर्दैनन । फोन र सिसिक्यामराका आधारमा निगरानी गरिदै आएकोमा कसरी संक्रमित हुन पुगे भन्ने कुरा अन्यौलमा छ । यद्यपी ल्याब टेक्निसियनले स्वाब लिने क्रममा संक्रमित बन्न पुगेको र सबै चिकित्सकहरु एकै ठाउँमा बस्ने भएकाले उनीहरु पनि संक्रमित बन्न पुगेको अनुमान गरिएको छ ।
संक्रमित मध्ये ल्याब टेक्निसियन बिहादी गाउँपालिका स्थित घरमै पुगेका थिए भने अन्य चिकित्सकहरु पनि एक हप्ताको क्वारेन्टाईन बसाई पछि होम क्वारेन्टाईनमा रहेका थिए । उनीहरुलाई ब्लु एञ्जल स्थित क्वारेन्टाईनलाई आइसोलेसन बनाएर भर्ना गरिने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।
संक्रमित चिकित्सक बिरामीको उपचारमा
स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण देखिएपछि पर्वत जिल्ला अस्पताललाई एक प्रकारले सिल गरिएको छ । अस्पतालमा इमर्जेन्सी बाहेकका सबै सेवा समेत बन्द गरिएको छ । अस्पताल वरपरको क्षेत्रमा सिल गरिएको छ । आवातजावत बन्द छ । एक हप्ता सम्म कोरोना भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुसँगको सम्पर्कमा आएका कारण अन्य कर्मचारीहरुमा पनि सङ्क्रमण पुष्टि हुन सक्ने र कोरोना समुदाय स्तरमा फैलन सक्ने जोखिमका कारण सिल गर्नुपरेको स्थानिय प्रशासनको भनाई छ । होम क्वारेन्टाईनमा रहेका बेला असार २ गते देखि बिहीबार (असार ४) गते सम्म तीन दिन जना संक्रमित चिकित्सकले पर्वत अस्पतालको ओपिडीमा बिरामी जाँच गर्ने, गर्भवती महिलाको भिडीयो एक्सरे गर्ने लगायतका सेवा दिएको पाइएको छ । अस्पतालमा ओपिडीमा बिरामीको चाप भएको र धेरै स्वास्थ्यकर्मी कोरोना अस्पतालमा डियुटी र क्वारेन्टाइनमा बसेकाले होम क्वारेन्टाइनमा रहेका चिकित्सकलाई डियुटीमा खटाइएको बिश्वस्त स्रोतले बतायो । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले भने बिरामीको चाप देखेर असल मनसायका साथ चिकित्सकले बिरामी जाँच गरेको हुन सक्ने बताउँदै अस्पतालका स्वास्थ्यकर्मीको रिर्पोट बाहिर नआउनञ्जेल आत्तिन नपर्ने बताउनुहुन्छ ।
कालीगण्डकी दैनिकवाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!