कास्की
गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कास्कीको अन्न्पूर्ण गाउँपालिका–११ स्थित सिगाउँबाट देउराली हुँदै अन्नपूर्ण बेसक्याम्पतर्फ जाने क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित हिमालय र देउरालीको बीचमा पर्ने हिङ्कुखोलामा हिमपहिरोमा परी हराएका ४ कोरियाली र ३ नेपाली गरी ७ जना पर्यटकहरु सम्पर्कविहिन भएको घटना प्रति आफ्नो ध्यानाकषर्ण भएको जनाउदै विज्ञप्ती प्रकाशन गरेको छ । उक्त स्थानमा हराएका पर्यटकको बिशेष खोजी कार्य गरिरहेको र उद्धार कार्य यथाशाक्य छिटो गर्न आफ्नो विभिन्न संयन्त्र परिचालन गरिरहेको मन्त्रालयले जनाएको छ ।
सम्पर्कविहिन भएका पर्यटकको हेलिकोप्टर मार्फत उद्धार टोलीसहित खोजी कार्य भईरहेको र हराएका मानिस खोजी गर्ने विशेष यन्त्र रेक्को डिभाइसको समेत प्रयोग गरि खोजी कार्य भईरहेको विज्ञप्तीमा उल्लेख छ । त्यस क्षेत्रमा ठूलो हिमपहिरो गएको र पहिरो गएको ठाउँ साँघुरो र जोखिमयुक्त भएकाले जमिनबाट खोजी गर्न कठिन भएको छ । हराएका पर्यटकको खोजी कार्य तथा उद्धार गर्न हामी कुनै कसर बाकीँ नराख्ने प्रतिबद्धता व्यक्त गर्दछौँ,मन्त्रालय बाट जारी विज्ञप्तीमा भनिएको छ, साथै हराएका मानिसहरु छिट्टै नै हाम्रो सम्पर्कमा आउने विश्वास लिएका छौँ ।
मन्त्रालयले अप्ठ्यारोमा परेका पर्यटकको उद्धार र खोजीमा सबै स्थानीयबासी, प्रशासन, पर्यटन क्षेत्र सँग सम्बन्धित संस्थाहरु लगाएतलाई सक्रिय रुपमा लाग्न आव्हान गरेको छ ।