बंगालको खाडीबाट शक्तिशाली ‘अम्पुन’ चक्रवात नेपाल आउँदै, सचेत रहन आग्रह - News site from Nepal

काठमाडौं-  बङ्गालको खाडीबाट अम्पुन नामको शक्तिशाली चक्रवात नेपाल आउँदैछ । यतिबेला दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको छ ।
अम्पुन चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको असर नेपालमा केही दिन तीव्र रूपमा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चक्रवात अझ शक्तिशाली हुने क्रममा मङ्गलबारबाट पूर्वी नेपालको मौसममा बदली हुँदै नेपाल प्रवेश गर्ने महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीले बताइन् । उनका अनुसार त्यस चक्रवातको गति उत्तरपश्चिम हुँदै अघि बढिरहेको छ ।
उनले भारतको पश्चिम बङ्गाल क्षेत्र हुँदै पूर्वी नेपालको पहाडी भूभागमा असर पार्ने, त्यसपछि मध्य र पूर्वी नेपालका भूभागमा असर गर्ने, जसका कारण त्यस क्षेत्रमा वर्षा हुने बताइन् । पश्चिम भूभागमा भने त्यसको तुलनामा कम वर्षा हुनेछ ।
त्यस पछिको दुई–तीन दिनसम्म देशैभरि बदली भई केही स्थानमा भारी वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातका साथै एक–दुई स्थानमा भारी हिमपात समेत हुने सम्भावना छ ।
यस चक्रवातले भुइँ छोएपछि भने यसको असर न्यून हुँदै जाने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । बङ्गालको खाडीबाट आउँदै गर्दा पूर्वी नेपालको उच्च पहाडमा ठोक्किँदै यो मध्य नेपालमा झर्ने छ । उनले सबैलाई सचेत हुन समेत अनुरोध गरेकी छिन् । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!