नगरप्रमुख शर्माले युग अनुसारको व्यवसायिक शिक्षा नै आजको आवस्यकता भएको वताउँदै प्राविधिक र व्यवसायिक शिक्षामा अभिभावक र विद्यार्थी आकर्षित गर्ने कार्ययोजना निर्माण गर्न आग्रह गर्नुभयो । उहाँले फलेवास नगरपालिका एक घर एक करेसाबारी कार्यक्रम र ग्रिन फलेवास क्लिन फलेवासको अभियानमा सहयोग गर्न सबै फलेवासवासीलाई आग्रह गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख शर्माले समाजमा रचनात्मक कामहरू गर्दै आएको लायन्स क्लबले फलेवासमा कार्यक्रम आयोजना गरेर विद्यालयको शैक्षिक अभियानमा सहयोग पुर्याएकोमा आभार प्रकट गर्नुभएको थियो ।
लायन्स क्लबका डिष्ट्रिक कोच एड्भाइजर बसन्तकुमार कर्माचार्यले लायन्स क्लबले स्वास्थ्य र शिक्षाको क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको जानकारी दिँदै लायन्स क्लबको अन्तर्राष्ट्रिय नेटवर्क राम्रो भएकोले धोलागिरीमै एउटा राम्रो आँखा अस्पताल निर्माण गर्ने अभियानमा लागेको वताउनु भएको थियो । सोही कार्यक्रममा फलेवास नगरपालिकाका प्रवक्ता तथा वडाअध्यक्ष टीकाराम गौडेलले आफ्नो वडामा यो कार्यक्रम आयोजना गरेकोमा लायन्स क्लब अफ वृजसिटीलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा लायन्स क्लब अफ पर्वत वृजसिटीका अध्यक्ष देवीप्रसाद विलासीले गरीब दलित र असहाय बालबालिकाका लागि शैक्षिक सामग्री हस्तान्तरण गर्न पाउँदा आफूलाई निकै खुसी लागेको वताउनु भएको थियो । उहाँले शिक्षाको गुणस्तर सुधार गर्न र विद्यालयको शैक्षिक उन्नयनका लागि आफूले भोलिका दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । अध्यक्ष विलासीले लायन्स क्लबलाई सहयोग गर्ने फलेवास नगरपालिका र नगर प्रमुख शर्माप्रति कृतज्ञता समेत प्रकट गर्नुभएको थियो ।
लायन्स क्लब अफ पर्वत वृजसिटीका अध्यक्ष देवीप्रसाद विलासीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन संस्थाका सचिव शिवप्रसाद शर्माले गर्नु भएको थियो । कार्यक्रममा लायन्स क्लबका कलस्टर चिफ बिषमकुमार श्रेष्ठ, लायन्स क्लबका जनसम्पर्क अधिकारी द्वय कमलनाथ पोखरेल र अर्जुन चापागाई, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष एवं रेडियो शालिग्राम पर्वतका स्टेशन म्यानेजर ओमप्रसाद घायल, लायन्स क्लब अफ शिबालयका अध्यक्ष डिआर शर्मा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका ३२ जना छात्र छात्राहरूलाई एक/एक दर्जनका दरले कपी र विद्यालयलाई पाँच थान ह्वाइटवोर्ड वितरण गरिएको थियो ।






