नेपालमा असार अन्तिमसम्म कोरोना संक्रमितको संख्या ४० हजार पुग्ने प्रक्षेपण - News site from Nepal

काठमाडौं – स्वास्थ्य मन्त्रालयले असार अन्तिमसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ४० हजार पुग्न सक्ने प्रक्षेपण गरेको छ ।
मन्त्रालयले गरेको आन्तरिक प्रक्षेपणमा संक्रमितको संख्या धेरै बढ्ने भएकाले त्यहीअनुसारको तयारी थाल्नुपर्ने औंल्याएको छ ।
मन्त्रालयले तयार पार्दै गरेको ‘कोभिड–१९ को महामारी व्यवस्थापनका लागि भौतिक स्रोतको पहिचान तथा जनशक्ति व्यवस्थापन मार्गदर्शन’ मा ४० हजार संक्रमितमध्ये ८० प्रतिशत अर्थात् ३२ हजार संक्रमितमा कुनै लक्षण र असर नदेखिने भन्दै उनीहरूलाई होम क्वारेन्टाइन वा होम आइसोलेसनमै राखिने उल्लेख छ ।

त्यस्तै, संक्रमितको १५ प्रतिशत अर्थात् ६ हजारलाई अस्पताल केयर र आइसोलेसन बेड चाहिन सक्ने अनुमान गरिएको छ । ५ प्रतिशत अर्थात् दुई हजारलाई भेन्टिलेटरसहितको सेवा चाहिने आकलन गरेको छ ।

मन्त्रालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने व्यक्तिहरूमध्ये संक्रमणको लक्षण देखिएकालाई आइसोलेसनमा व्यवस्थापन गरिनेछ । त्यस्तै, स्थलगत नाकाबाट आउने संक्रमणको लक्षण नभएकालाई होल्डिङ गर्ने तथा सम्बन्धित स्थानीय तहसम्म पुर्‍याउने काम सम्बन्धित प्रदेश सरकारको समन्वयमा नेपाली सेनाले गर्ने र संक्रमण देखिएका व्यक्तिलाई आइसोलेसनमा व्यवस्थापन गरिनेछ ।
संक्रमणको सामान्य लक्षण नदेखिएको, तर पहिलादेखि नै कुनै दीर्घरोगबाट ग्रसित रहेकालाई स्वास्थ्यकर्मीको निगरानीसहित सामूहिक आइसोलेसनको व्यवस्था स्थानीय तहले गर्ने जनाइएको छ ।

होम क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका व्यक्तिसँग समन्वय, सम्पर्क गर्न तथा आवश्यक स्वास्थ्य सल्लाह दिने स्वास्थ्यकर्मी व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्नुपर्ने, मध्यम र जटिल लक्षण भएका बिरामीको उपचारको व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गर्ने मार्गनिर्देशनमा उल्लेख छ ।

आगामी १५ असारदेखि दैनिक १० हजारको पिसिआर परीक्षण गर्ने तयारी छ । कोरोना संक्रमितको पहिचान गर्नकै लागि परीक्षणको दायरा फराकिलो बनाउन लागिएको हो । आगामी कात्तिकसम्म ६ लाखदेखि १० लाखसम्म मानिसको परीक्षण गर्ने तयारी छ ।

मन्त्रालयले होम क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका व्यक्तिसँग समन्वय, सम्पर्क, आवश्यक स्वास्थ्य सल्लाह प्रदान गर्न संक्रमणको शंकास्पद तथा संक्रमण प्रभावित प्रत्येक वडामा कम्तीमा प्यारामेडिक एक, नर्सिङ स्टाफ एक, स्वास्थ्य परिचारिका दुई र एक सहयोगीसहित पाँच जना जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरेको छ ।

सामूहिक क्वारेन्टाइनमा दुई सय बेडका लागि प्यारामेडिक एक, नर्सिङ स्टाफ एक, स्वास्थ्य परिचारिका दुई र सहयोगी एकसहित पाँचजना, दुई सय एकदेखि पाँच सय बेडसम्मका लागि प्यारामेडिक एक, नर्सिङ स्टाफ एक, स्वास्थ्य परिचारिका दुई र सहयोगी एकसहित पाँच, सय बेडका लागि प्यारामेडिक दुई, नर्सिङ स्टाफ दुई, स्वास्थ्य परिचारिका दुई र सहयोगी एकसहित सातजना जनशक्ति आवश्यक पर्ने स्वास्थ्यको अनुमान छ ।

त्यस्तै, पाँच सय बेडभन्दा माथि प्यारामेडिक तीन, नर्सिङ स्टाफ तीन, स्वास्थ्य परिचारिका दुई र सहयोगी दुईसहित १० जना जनशक्ति आवश्यक रहन्छ ।

सामूहिक आइसोलेसन ५० बेडसम्मका लागि प्यारामेडिक चार, नर्सिङ स्टाफ चार, मेडिकल अफिसर र सहयोगी एकसहित पाँच जना र ५१ देखि एक सय बेडसम्मको आइसोलेसनका लागि प्यारामेडिक दुई, नर्सिङ स्टाफ दुई, स्वास्थ्य परिचारिका दुई र सहयोगी एकसहित सातजना आवश्यक पर्ने प्रक्षेपण गरिएको छ ।

वडाका सामूहिक क्वारेन्टाइन तथा आइसोलेसन केन्द्रको आर्थिक, प्रशासनिक र लजिस्टिकका लागि सम्पर्क र समन्वयका लागि स्थानीय तहमै मेडिकल अधिकृत एक, प्यारामेडिक एक, नर्सिङ स्टाफ एक, सहयोगी एकसहित चारजना जनशक्ति आवश्यक पर्ने उल्लेख छ ।

प्रदेशले व्यवस्थापन गरेका सामूहिक क्वारेन्टाइन तथा आइसोलेसन केन्द्रका लागि सयजना व्यक्तिबराबरको आवश्यक पर्ने जनशक्ति सुपरिवेक्षण गर्न विशेषज्ञ चिकित्सक एक, मेडिकल अधिकृत एक, प्यारामेडिक एक, नर्सिङ स्टाफ दुई, ल्याब टेक्निसियन एक, जनस्वास्थ्य परिचारिका दुई, सहयोगी एक र सरसफाइ कर्मचारी चारसहित १३ जना जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरिएको छ ।

आर्थिक, प्रशासनिक र लजिस्टिकका लागि सम्पर्क र समन्वयका लागि स्थानीय तहमै मेडिकल अधिकृत एक, प्यारामेडिक एक, नर्सिङ स्टाफ एक, सहयोगी एकसहित चारजना जनशक्ति आवश्यक पर्ने उल्लेख छ ।

संक्रमितको संख्या सात हजार नाघ्यो
मुलुकमा एकैदिन पाँच सय ८६ नयाँ कोरोना संक्रमित थपिएका छन् । बुधबार पुष्टि भएका संक्रमित हालसम्मकै सर्वाधिक दैनिक संख्या हो । नयाँ संक्रमित सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरू रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मुलुकमा संक्रमितको संख्या सात हजार एक सय ७७ पुगेको छ । परीक्षणको दायरा बढेसँगै संक्रमित पत्ता लाग्ने क्रम बढ्न थालेको हो । संक्रमितमध्ये एक हजार एक सय ६७ जना निको भएर घर गएका छन् । हालसम्म २० जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो २ बजेसम्म ६ हजार ३७ जनाको पिसिआर परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले एक लाख २५ हजार सात सय ९८ जना क्वारेन्टाइनमा बसेको जानकारी दिए ।

क्वारेन्टाइनमा बस्नेको संख्या क्रमशः घट्न थालेको छ । मास्कको प्रयोग, भिडभाडबाट टाढै रहने, नियमित साबुनपानीले हात धुने गरेमा कोरोना संक्रमण फैलिनबाट रोकिने मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

आगामी कात्तिकसम्म ६ लाखदेखि १० लाखसम्मको परीक्षण गर्ने तयारी

आगामी १५ असारदेखि दैनिक १० हजारको पिसिआर परीक्षण गर्ने तयारी छ । कोरोना संक्रमितको पहिचान गर्नकै लागि परीक्षणको दायरा फराकिलो बनाउन लागिएको हो । आगामी कात्तिकसम्म ६ लाखदेखि १० लाखसम्म मानिसको परीक्षण गर्ने तयारी छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!