कोराना भाइरसका कारण सबैभन्दा मर्कामा पर्यटन व्यवसाय : मन्त्री लम्साल - News site from Nepal

६ बैशाख, २०७७, पोखरा,

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण पर्यटन व्यवसाय सबैभन्दा बढी मर्कामा परेको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री विकास लम्सालले बताएका छन् । हिजो साँझ विविसी नेपाली सेवाको “साँझपख” कार्यक्रममा कुरा गर्दै मन्त्री लम्सालले मानवीय आवत जावतका कारण सिर्जना हुने पर्यटन व्यवसाय विश्वव्यापी लकडाउनका कारण पूर्ण रुपमा थला परेको बताएका हुन् ।

ठूलो मर्कामा परेको पर्यटन व्यवसायलाई यो महामारी पछि कसरी पूनः सुचारु गर्न सकिन्छ भन्ने विषयमा अहिले अध्ययन भइरहेकोले महामारीको अन्त्य भएपछि नीजि क्षेत्रसँगको छलफल तथा समन्वयमा सरकारले आवश्यक रणनीति तय गर्ने मन्त्री लम्सालले बताएका हुन् । ऋण लिएर पर्यटन व्यवसाय गरेकाहरुका लागि ऋण तथा ब्याज तिर्ने समय तालिकालाई पूर्नतालिकीकरण गर्ने तथा छुट्टै प्याकेज ल्याएर भएपनि यहाँको पर्यटन व्यवसायलाई सुचारु गर्न सरकारले कुनै कसर बाँकी नराख्ने मन्त्री लम्सालको भनाई थियो ।

यो महामारीको अन्त्य पछि विश्वका धेरै मानिसहरु भ्रमणमा निस्कने र उनीहरुको रोजाई नेपाल रहन सक्ने भएकोले त्यसका लागि पनि हामी तयारी अवस्थामा रहनु पर्छ भन्दै कठिन परिस्थितिमा धैर्यताका साथ सुनौलो भविष्यको पर्खाइमा रहन पर्यटन व्यवसायीलाई मन्त्री लम्सालको आग्रह थियो । सन् २०२१ को जुन्देखि पोखरामा अन्तर्राष्ट्रिय एयरपोर्ट पनि संचालनमा आउने भएकोले त्यसपछि पर्यटकको फ्लो बढ्ने हुँदा अहिलेको महामारीबाट नआत्तिन मन्त्री लम्सालले पर्यटन व्यवसायीलाई आग्रह गरेका थिए ।

सोही कार्यक्रमसँग कुरा गर्दै पर्यटन व्यवसायी तथा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटाले अहिले धेरै पर्यटकहरुलाई आफ्नो नेपालको यात्रा रद्द नभई स्थगित गर्न आग्रह गरेका छौं, त्यसैले माहामारीको अन्त्यसँगै ठूलो मात्रामा पर्यटकहरु नेपाल आउने सम्भावना भएकोले शक्ति सञ्चय गरेर बस्न पर्यटन व्यवसायीलाई आग्रह गरेका थिए । पोखराको पर्यटन व्यवसायले मात्र प्रत्यक्ष रुपमा २५ हजार र अप्रत्यक्ष रुपमा ५० हजार रोजगारी सिर्जना गरेकोले यसलाई जसरी पनि संरक्षण गर्नै पर्ने सापकोटाले बताएका थिए । उनले भने थला परेको पर्यटन व्यवसायलाई कसरी पर्नसंचालन गर्न सकिन्छ भन्ने विषयमा राम्रो रिकभरी प्लान बनाउनु पर्ने समेत बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!