अत्यावश्यक कामका लागि म्याग्दी र पर्वत बेनीको आवत जावतलाई सहज बनाइयो - News site from Nepal

पर्वत- कोरोना रोकथामका लागि गरिएको लकडाउनका क्रममा म्याग्दीको सदरमुकामसंग सिमाना जोडिएको पर्वतको जलजला गाउपालिकाको वारीबेनी र बगरफाँटको आवत जावतलाई अत्यावश्यक कामका लागि सहज बनाइएको छ ।

बेजिल्ला भएपनि जलजला गाउपालिकाको वडा न. १, २, ३, ४, ५, ६ र ७ मा पर्ने बाँसखर्क, मल्लाज, लेकफाँट, शालीजा र धाइरीङका बासिन्दा दैनिक उपभोग्य सामानको किनमेल, बैंक वित्तिय कारोबार, औषधी उपचारका लागि म्याग्दीको बेनीमा निर्भर छन् ।

म्याग्दी बेनीमा दूध, तरकारी, फलफुल लगायत कृषि तथा पशुजन्य बस्तुको आयात जलजला गाउपालिकाबाट हुन्छ । जलजलाका बासिन्दा बिरामी पर्दा उपचारका लागि म्याग्दीमा रहेको बेनी अस्पतालमा जान्छन् । म्याग्दीका ब्यापारीको गोदाम पर्वत बेनीमा छन् । पर्वत बेनीका ब्यापारीको बजार म्याग्दीमा पनि छ ।

म्याग्दी बेनीका कार्यालय, सुरक्षा निकाय र स्वास्थ्य संस्थामा काम गर्ने, पसल सञ्चालन गर्नेहरुको डेरा पर्वत बेनीमा छ । स्थानीयबासीहरुको सहजताका लागि पर्वत प्रशासन, प्रहरी र गाउपालिकासंग समन्वय गरेर वारीबेनी र पारीबेनीको आवत जावतलाई शुक्रबारदेखि खुकुलो बनाइएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

उहाँका अनुसार पर्वतबाट म्याग्दी भित्र्ने कालीपुलको सिमानामा बस्दै आएका सुरक्षाकर्मीलाई वारीबेनी प्रवेश गर्ने नाकामा पोष्ट बनाएर राखिएको छ । म्याग्दी बेनी तर्फको पोष्ट यथावत छ । ‘पर्वतको मल्लाज क्षेत्रका बासिन्दाका लागिमात्र आवत जावतमा सहजिकरण गरेका हौ,’ प्रजिअ ढकालले बताउनुभयो । लकडाउनको अवधिमा खाद्यान्न लगायत अति आवश्यक बस्तु, तरकारी, दूधको सहज आपुर्ति र उपचारका लागि नाकामा खुकुलो बनाइएको हो ।

अतिआवश्यक बाहेकका काममा भने कडाई गरिएको छ । वारीबेनी देखि म्याग्दी बेनी जोड्ने एक वटा मोटरेबल पुल, दुई वटा झोलुङ्गे छन् । कालीपुल देखि बगरफाँट जोड्ने अर्को झोलुङ्गे पुल छ ।

दुई जना कोरोना संक्रमित भेटिएका बागलुङको सिमानामा भने आवत जावतलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । रत्नेचौर, मालिका, बेलढुङ्गा, किमचौर, ताराखोला, तमानखोला र ढोरपाटनको जलजला हुदै म्याग्दी भित्र्ने नाकामा स्वमसेवक र सुरक्षाकर्मी परिचालन गरेर आवत जावत गर्न रोक लगाइएको छ ।

म्याग्दीमा विदेशबाट आएका १३० जनाको कोरोनाको द्रुत परिक्षण गरिएको छ । उनिहरुमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । म्याग्दीका एउटा पालिका देखि अर्को पालिका र एउटा वडा देखि अर्को वडामा जाने सडकमा गरालो र झोलुङ्गे पुलमा तारबार लगाएका छन् । एउटा वडा देखि अर्को वडामा जान वडाबाट सिफारिस लिनुपर्ने नियम बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!