
पर्वत- पर्वतको मोदी गाउँपालिका वडा नं. ६ तिलाहार स्थित ढाँडको पाखा बनमा आगालागी भएको छ । एक्कासी लागेको आगो नियन्त्रणमा आउन सकेको छैन ।
अहिलेसम्म ३० प्रतिशत भन्दा बढि बन जलेर नष्ट भएको स्थानीय सन्दिप गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सोमवार साँझदेखि सल्किएको आगो फैलँदै गएको छ ।
डिमुवा बजार भन्दा माथि लागेको उक्त आगालागीका कारण बजार जोखिममा परेको छ । आगो नियन्त्रणका लागि कुनै पहल नभएको गौतमले बताउनुभएको छ । भिरमा आगो लागेका कारण नियन्त्रणका लागि जान समेत समस्या रहेको स्थानीयले बताएका छन् ।