पर्वतको जलजला स्थित कालीगण्डकी प्रशारण करिडोरको टावर ढल्यो - News site from Nepal

पर्वत – पहिरोका कारण निर्माणाधिन कालीगण्डकी प्रशारण करिडोरको टावर ढलेको छ ।
पर्वतको कुश्मा नगरपालिकाको खुर्कोट देखि म्याग्दीको अन्नपूणर् गाउपालिका-३ दाना देखि जोड्ने खुर्कोट-दाना निर्माणाधिन विद्युत प्रशारण लाइनको एक वटा टावर ढलेको हो ।
नेपाल विद्युत प्राधिकरणद्धारा कालीगण्डकी प्रशारण कोरीडोर अन्तरगत सञ्चालित २२० केभी क्षमताको दाना-खुर्कोट प्रशारण लाइनको पर्वतको जलजला गाउपालिका-७ मिलनचोक स्थित टावर ढलेर क्षति पुगेको स्थानीय राजु आचार्यले जानकारी दिनुभयो ।
जलजला स्थित धाइरिङको डिलबाट ठूला ढुङ्गा सहित खसेको पहिरोले कुनातर्फको दुई वटा लेग (खुट्टा)मा लागेर १४ नम्बरको टावर ढलेको ठेकेदार कम्पनी टाटा-चिन्ट जेभीका प्रतिनिधि केदार रेग्मीले बताउनुभयो । गत सोमबार रातिको पहिरोले कुनातर्फ टावर पल्टीएको हो ।
कुनामा रहेको भिरमा पल्टीएकाले तार तानिसकिएको छ । प्रशारण लाइनको अन्य दुई वटा टावरमा पनि असर गरेको छ । नजिकै रहेको मिलनचोक-धाइरीङ सडक र बस्तिमा भने क्षति पुग्न नपाएको रेग्मीले बताउनुभयो । रेग्मीका अनुसार टावर पल्टिदा करिब रु. चार करोड बराबरको क्षति पुगेको छ ।
टावर ढल्नुको कारण र पारेको क्षतिको बारेमा आयोजनाले अध्ययन थालेको छ । नेपाल विद्युत प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा चार वर्षअघि सुरु गरेको ३९.६ किलोमीटर दुरिको खुर्कोट-दाना प्रशारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ ।
११४ वटा टावर मध्ये पोखरेबगरमा दुई वटा बाहेक सबै ठाउँमा टावर ठडाएर तार समेत तानिएको आयोजनाका उपनिर्देशक लक्ष्मण फुयालले बताउनुभयो । रु. दुई अर्ब ९० करोडमा ठेक्का सम्झौता भएको आयोजना अन्तरगत दाना र खुर्कोटको सबस्टेशन समेत अन्तिम चरणमा पुगेको छ ।
कालीगण्डकी र आसपासका नदीमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रशारण लाइनमा जोड्न प्रशारण लाइन र सबस्टेशन बनाउन लागिएको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिनुभयो ।
दोस्रो चरणमा खुर्कोट देखि नवलपरासी जोड्ने प्रशारण लाइन र सबस्टेशन समेत निर्माण सुरु भएको घोषले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!